भोक जगाउन योग चिकित्सा



Exif_JPEG_420

 

डा. क्षितिज बराकोटी

सामान्य अवस्थामा मानिसलाई निश्चित समयमा भोक लाग्नुपर्छ । तर कतिपय अवस्थामा भोक नलाग्ने वा खाना हेर्नै मन नलाग्ने वा अरुचि ९ब्लयचबहष्ब० हुन्छ । खानामा स्वाद नहुने, जिब्रो खस्रो र सुख्खाजस्तो अनुभव हुने, खाना देख्नासाथ वा मुखमा हाल्नासाथ वाक्क लाग्ने हुन्छ । यो समस्या अल्पकालीन वा दीर्घकालीन दुबै खालको हुन्छ ।

भोक नलाग्ने वा अरुचिमा देखिने लक्षण
खाना नरुच्ने रोग नभई एक वा अनेक रोगहरुको एउटा लक्षण मात्र हो । खाना नरुच्ने समस्या के कारणले भएको छ त्यही अनुरुपका थप लक्षणहरु आउन सक्छन् । सामान्यतया अरुचिमा खानेकुरा हेर्नासाथ वा नाम सुन्नासाथ दिक्क लाग्ने, मुखको स्वाद हराउने, मुखमा तीतोपन र सुख्खापन अनुभव हुने, वाकवाकी लाग्ने र एक–दुई गाँस निल्न पनि गाह्रो हुने, बान्ता आउने, पेट हुँडलिने, फुल्ने, दुख्ने आदि लक्षण हुन्छन् । अरुचिको कारणअनुसार पखाला, ज्वरो, पिसाब पोल्ने, दिसा नखुल्ने, छाती दुख्ने, टाउको दुख्ने आदि लक्षण आउन सक्छन् । धेरै दिन नखाँदा रिँगटा लाग्ने, हुत्तिने, अनिद्रा तथा मनोदशा गडबडी हुने, जीउ सुन्निने, दुब्लाउने, शरीरका अंगहरुको कार्यक्षमतामा ह्रास आउने जस्ता अनगिन्ती समस्या आउन सक्छन् । शरीरमा पोषण तथा पानीको समेत कमी हुन थालेमा त्यसबाट मृगौला आदि अंगमा पनि क्षति पुग्ने सम्भावना रहन्छ । यसका साथै मुटु, मृगौला, फोक्सो, आमाशय, कलेजो, फियो, अग्न्याशय आदि कुन अंगको रोग वा कस्तो खालको संक्रमण छ, त्यसको अवस्थाअनुरुप भोक हराउनेका साथमा अन्य लक्षणहरु आउन सक्छन् ।

कारण र यसको पहिचान
खासगरी पेटका समस्या, कलेजोका रोगहरु जस्तै– जन्डिस–हेपाटाइटिस, सिरोसिस आदि, थाइराइड रोग (हाइपोथायराइडिज्म), क्यान्सरलगायत मुटु, मृगौलाजस्ता अंगहरुमा हुने रोग वा संक्रमणका कारण भोक हराउने लक्षण हुने गर्छ । पाचन प्रणालीका विभिन्न रोगहरु जस्तै– ग्याष्ट्रोड्युडेनाइटिस, अल्सर, कब्जियत, अपच, खाद्यविषाक्तता, पेटका कृमिहरु जस्तै– जुका, चुर्ना, अमिबा आदिको संक्रमण, क्षयरोगजस्ता समस्याले पनि खान मन नलाग्ने हुन्छ । गम्भीर प्रकृतिको कुपोषण हुनु, तौल घटाउन नियम नपुर्याई खाना छोड्नु, भिटामिन बीको कमी हुनु जस्ता कारणले पनि अरुचि हुन्छ । मानसिक समस्याहरु पनि अरुचिका कारण हुन सक्छन् । चिन्ता, तनाव, डिप्रेसन, डिमेन्सिया जस्ता समस्याले पनि भोक हराउँछ । रुघाखोकी, टन्सिलाइटिस, टाइफाइड, मलेरिया, डेंगु, मूत्रमार्गको संक्रमण आदि कुनै पनि संक्रमण वा ज्वरोमा खान मन नलाग्ने हुन्छ । यसरी नै कुनै कुनै एन्टिबायोटिक औषधि तथा कोडिन, मर्फिन आदि वा विविध नार्कोटिकहरु (कोकेन, हिरोइन) को प्रयोगले समेत भोक हराउँछ । महिलाहरुलाई गर्भावस्था, महिनावारी बन्द र स्रावपूर्वको तनावको अवस्थाहरुमा समेत खान मन नलाग्ने हुन सक्छ ।

के कारणले भोक हराएको छ भन्ने पहिचानका लागि चिकित्सकसँग जँचाउनु उत्तम हुन्छ । सहजै पहिचान गर्न कठिन भएको अवस्थामा चिकित्सकले पेटको अल्ट्रासोनोग्राफी, एक्स–रे, दिसापिसाब परीक्षण, रक्तपरीक्षण (लिभर फंक्सन टेस्ट, किड्नी फंक्सन टेस्ट, थाइराइड फंक्सन टेस्ट, सीबीसी, ईएसआर आदि), खकार, छाला आदिमध्ये कुन–कुन गराउनु उपयुक्त हुन्छ भन्ने निर्णय गर्दछन् ।

यसबाट आउन सक्ने थप समस्या
खाना लगातार नरुच्ने समस्याका कारण कमजोरी, कुपोषण, शरीरमा अभावजन्य समस्या, रक्तअल्पता, न्यून रक्तचापलगायत जलविनियोजनजस्ता अनेक समस्या आउँछन् । यस समस्या अरु रोगको लक्षणका रुपमा आउने भएकोले कति खतरनाक हुन्छ भन्ने कुरा सम्बन्धित रोगको अवस्था र गम्भीरतालगायत शरीरमा पोषण, पानी, अक्सिजन आदिमा भएको कमीमा निर्भर गर्दछ । भोक नलाग्ने समस्याबाट ज्यानै जान सक्छ । त्यसैले यसको कारण पहिचान गरी शीघ्र उपचार गर्नु जरुरी छ ।

अरुचि हटाउन उपयोगी योगासनहरु
अरुचि र त्यसबाट उत्पन्न असरका कारण हुने जटिल शारीरिक तथा मानसिक अवस्थाहरुमा योग चिकित्साको सही प्रयोग अति लाभदायक हुन सक्छ । जटिल परिस्थितिमा पूर्ण आरामदायी, मानसिक तनाव हटाउने लक्ष्यका साथ सहज खालका अभ्यासहरु गराउने गर्नुपर्छ । कुनै गम्भीर रोग वा अवस्थामा योगचिकित्साअघि आकस्मिक वा विशेष औषधीय उपचार गराउनुपर्ने पनि हुन सक्छ । त्यसैले सम्बन्धित चिकित्सकको सल्लाह पनि लिनुपर्छ । ज्वरो, पखाला, अत्यधिक कमजोरी, रक्तअल्पता, प्रमुख अंगहरुको जटिल समस्यामा आसनहरु तथा श्रमदायक योगाभ्यासहरु गर्नुहुँदैन । अरुचि हटाउने वा भोक जगाउने प्रमुख योगाभ्यास निम्न छन् ।

१. पवनमुक्तासन

एकपाद पवनमुक्तासनः उत्तानो सुत्नुहोस् । दुबै खुट्टा जोड्नुहोस् । अब श्वास लिँदै दाहिने खुट्टालाई माथि उठाउने, घुँडा खुम्च्याएर खुट्टा समात्ने र टाउको उठाएर घुँडामा चिउँडोले छुने गर्नुहोस् । केही बेर श्वास रोकेर अडिनुस् । श्वास छोड्दै हात, टाउको तथा खुट्टा सोझो गरेर तल राख्ने गर्नुस् । यसरी नै आठ–दश पटक गर्नुस् ।

सहज एकपाद पवनमुक्तासनः उत्तानो सुतेर दुबै खुट्टा खुम्च्याउनुस् । दुबै हातले दाहिने खुट्टालाई उठाएर तिघ्रामा हातलाईं कैंचीजस्तो बनाई औंलाहरु घुसाएर समात्नुस् र श्वास लिँदै दाहिने खुट्टालाई माथि उठाउने र टाउको उठाएर घुँडामा चिउँडोले छुने गर्नुहोस् । केही बेर श्वास रोकेर अडिनुस् । श्वास छोड्दै हात, टाउको तथा खुट्टा भुइँमा राख्ने गर्नुस् । यसरी नै आठ–दश पटक गर्नुस् ।

द्वीपाद पवनमुक्तासनः उत्तानो सुतेर दुबै खुट्टा जोड्नुहोस् । अब श्वास लिँदै दुबै खुट्टालाई माथि उठाउने, घुँडा खुम्च्याएर दुबै हातले दुबै खुट्टा समात्ने र टाउको उठाएर दुबै घुँडाको बीचमा चिउँडोलाई छुवाएर केही बेर श्वास रोकेर अडिनुस् । श्वास छोड्दै हात र टाउको तथा खुट्टा सोझो गरेर तल राख्ने गर्नुस् । यसरी नै आठ–दश पटकसम्म अभ्यास गर्नुस् ।

लाभः पवनमुक्तासनले हात, कम्मर पेट, टाउको तथा खुट्टामा विशेष व्यायाम पुग्ने भएकाले यी सबै भागलाई शक्तिशाली बनाउँछ । पाचन तथा निष्कासन प्रणाली बलियो हुन्छ । महिलाहरुको तल्लो पेटको समस्यामा पनि यो लाभदायक छ । गर्भाशय स्वस्थ राख्नसमेत मद्दत पुग्छ । यसको नियमित अभ्यासले अजीर्ण वा पेट फुल्ने, वायुविकार (ग्यास्ट्राइटिस), अपच, अरुचि, कब्जियत, मधुमेहजस्ता रोगहरुमा लाभ दिन्छ भने महिलाहरुको मासिक स्रावसम्बन्धी गडबडीमा पनि फाइदा गर्छ । केही यौनजन्य समस्या, छाती⁄घाँटीका सामान्य समस्या एवम् वायुविकारका कारणले हुने ढाड दुख्नेमा लाभ दिन्छ । तर यो आसन बढी कम्मर दुख्दा, कलेजो सुन्निएको अवस्था तथा महिलाहरुले गर्भावस्थामा र महिनावारी हुँदा गर्नुहुँदैन ।

२. नौकासन

उत्तानो सुत्नुहोस् । दुबै खुट्टा जोड्नुहोस्, हातलाई टाउकोसँगै वा हात बाँधेर छातीमा वा शरीरको दाँया–बाँया कम्मरसँगै कुनै एक किसिमले राख्नुहोस् । अब श्वास लिँदै कम्मरको बलले दुबै खुट्टा, दुबै हात, टाउको र ढाडको माथिल्लो भाग, पिठ्युँलाई समेत माथि उठाउनुस् । शरीरको तल्लो र माथिल्लो भाग बराबर, केही मात्रामा उठाएर ५–७ सेकेन्ड रोक्नुस् र श्वास छोड्दै तल राख्नुस् । यसरी नै ८–१० पटक अभ्यास गर्नहोस् । त्यस्तै पेटमा दबाबयुक्त नौकासन पनि गर्न सकिन्छ । यसका लागि खुट्टा खुम्च्याएर दुबै हातले पेटमा हल्का दबाब दिएर श्वास लिँदै टाउको र ढाडको माथिल्लो भागलाई माथि उठाउने, श्वास रोक्ने, ५–७ सेकेन्ड अडिने र श्वास छोड्दै टाउको–ढाड तल राख्ने गर्नुस् ।

लाभः यस आसनले खासगरी अपच घटाउँछ, भोक जगाउँछ । कम्मर तथा पेटको बोसो कम गर्छ । कम्मर क्षेत्रका पेटका अंगहरुलाई बलियो बनाउँछ । विभिन्न यौनदोषहरु कम गर्छ । हात–खुट्टा बलियो पार्छ । तर ढाड, कम्मर बढी दुख्ने समस्या भएका व्यक्तिले नौकासन गर्नुहुँदैन ।

नौकासनले खासगरी अपच घटाउँछ, भोक जगाउँछ । कम्मर तथा पेटको बोसो कम गर्छ । कम्मर क्षेत्रका पेटका अंगहरुलाई बलियो बनाउँछ । विभिन्न यौनदोषहरु कम गर्छ । हात–खुट्टा बलियो पार्छ । तर ढाड, कम्मर बढी दुख्ने समस्या भएका व्यक्तिले नौकासन गर्नुहुँदैन ।

३. वज्रासन

बसेर दुबै खुट्टा सोझो राख्नुस् । पहिले एउटा खुट्टा खुम्च्याउनुस् र त्यसपछि अर्को पनि खुम्च्याएर कुर्कुच्चामाथि नितम्ब राखी बस्नुस् । यस स्थितिमा खुट्टाको बूढीऔंला एक–आपसमा छुने तर कुर्कुच्चा फरक राख्ने गरी ढाड र टाउको सोझो राख्नुपर्छ । दुबै हात सोझो पारी घुँडामाथि हत्केला टेकाउनुस् । आँखाले नाकको टुप्पोमा हेर्दै बिस्तारै आँखा चिम्लनुस् । श्वास–प्रश्वास लामो–लामो गर्नुपर्छ तर खाना खाएपछि यो आसनमा रहँदा श्वास बिस्तारै लिने र छोड्ने गर्नुपर्छ । वज्रासनको अभ्यासमा शुरुका केही दिन कम समयसम्म बस्नुपर्छ र बीच–बीचमा खुट्टा अगाडि तन्काएर हल्लाउनुपर्छ ।

लाभः वज्रासनको नियमित अभ्यासबाट एकाग्रता आ

Exif_JPEG_420

उँछ, मनमा आनन्द बढ्छ, कम्मर दुखाइ कम हुन्छ, तनावमा समेत कम हुन्छ । खाना खाएपछि लगत्तै १५–२० मिनेट यस आसनमा बस्ने बानी गर्दा पाचनशक्ति बढ्ने र पेटका अन्य गडबडीहरुमा समेत लाभ प्राप्त हुने हुन्छ । तर घुँडा दुख्ने, कुर्कुच्चाको भाग दुख्ने तथा बढी तौल भएका व्यक्तिले वज्रासन गर्नुहुँदैन ।

४. मण्डूकासन

वज्रासनमा रहनुहोस् । दुबै हातलाई मुठी पारेर मुठीले पेट–नाभीमा थिच्नुस् । पूरा श्वास लिनुस् । अब श्वास छोड्दै, जीउलाई अगाडितिर झुकाउँदै जानुस् । टाउकोले अगाडितिर हेर्ने प्रयास गर्नुहोस्् र ५–७ सेकेन्ड जति श्वास रोक्दै अडिनुस्् । अब बिस्तारै श्वास लिँदै सीधा हुनुस् । यसरी नै ८–१० पटक अभ्यास गर्नहोस् ।

लाभः मृगासनको नियमित अभ्यासले पाचन प्रणाली बलियो हुन्छ भने हात, छाती र कम्मरमा यसले शक्ति प्रदान गर्दछ । महिलाहरुको गर्भाशय स्वस्थ राख्नसमेत मद्दत पुग्छ । यसको नियमित अभ्यासले वायुविकार (ग्यास्ट्राइटिस), अपच, अरुचि, कब्जियत, मधुमेहजस्ता रोगहरुमा लाभ दिन्छ भने महिलाहरुको मासिक स्रावसम्बन्धी गडबडीमा पनि फाइदा गर्छ । केही यौनजन्य समस्या, छाती⁄घाँटीका सामान्य समस्या एवम् वायुविकारका कारणले हुने ढाड दुख्नेमा लाभ दिन्छ । तर यो आसन बढी कम्मर दुख्दा, कलेजो सुन्निएको अवस्था तथा महिलाहरुले गर्भावस्थामा र महिनावारी हुँदा गर्नुहुँदैन ।

५. शशंकासन

विधि १ः वज्रासनमा रहनुहोस् । पूरा श्वास लिँदै दुबै हातलाई माथि उठाउनुस् र कानसँगै समानान्तर रेखामा सोझो पार्नुस् । अब श्वास छोड्दै, जीउलाई अगाडितिर झुकाउँदै हातलाई भुइँमा राख्दै टाउको–निधार भुइँमा टेकाउनुस् र श्वास केही बेर रोक्नुस् वा बढी समय रोकिने भए सामान्य गर्दै अडिराख्नुस् । अब श्वास लिँदै माथि आउनुस् । ५–१० पटक अभ्यास गर्नुस् । जानुस् ।

विधि २ः शशंकासनको यस विधिमा वज्रासनमा रहेर दुबै घुँडालाई सक्दो फरक राख्नुहोस् । दुबै हात घुँडामा राख्नुस् । पूरा श्वास भर्नुस् । अब पूरा श्वास छाड्दै दुबै हातलाई भुइँमा घिसार्दै अगाडितिर झुक्नुस् र टाउको–निधार भुइँमा टेकाउनुस् र श्वास केही बेर रोक्नुस् वा बढी समय रोकिने भए सामान्य गर्दै अडिराख्नुस् । अब श्वास लिँदै माथि आउनुस् र हात घुँडामा राख्नुस् । ५–१० पटक अभ्यास गर्नुस् ।

लाभः यस आसनबाट हुने लाभ र सावधानी मण्डूकासनमा उल्लेख गरेजस्तै हो । यो आसन शुरुमा पेटमा बढी दबाब नदिईकन गर्नुपर्ने हुन्छ । यसरी नै घोप्टो सुतेर भुजंगासन, धनुरासन, नाभ्यासन आदिको पनि अभ्यास गर्न सकिन्छ ।

भोकवृद्धिका लागि शोधन तथा आंगिक शक्ति विकासक क्रियाहरु

१. नौलिः
उभिनुहोस् । दुबै खुट्टा केही फरक राख्नुहोस् । अब श्वास छोड्दै निहुँरेर दुबै हातलाई घुँडाभन्दा केही माथि तिघ्रामा राख्नुस् । श्वास छोडेर रोकेकै अवस्थामा पेटलाई भित्रतिर तान्नुस् र दुबै हातले तिघ्रामा थिच्दै तलतिर एकैकिसिमले सार्नुस् । यसो गर्दा पेट भित्रतिरै तानेको अवस्थामा पेटको बीच भागमा डल्लो मासुजस्तो आकृति बन्छ । यसो गरेपछि तुरुन्त हात पहिलेझैँ माथि सार्ने र तल सार्ने प्रक्रिया निरन्तर गर्नुपर्छ । यसरी नै श्वास छोडेर पेटलाई भित्रतिर तानेपछि दुबै हातमध्ये पालैपालो दाहिने हातले दाहिने खुट्टामा र बायाँ हातले बायाँ तिघ्रामा दबाब दिँदै तल घिसार्ने गर्दा पेटको डल्लो बनेको भाग दायाँ–बायाँतिर चल्दछ । केही समयको अभ्यासपछि बसेर पनि नौलिको अभ्यास गर्न सकिन्छ ।

लाभः यसले अपच, कब्जियत, मधुमेह, मोटोपनाको समस्या हटाउन सहयोग गर्छ । तर पेट वा आन्द्रामा घाउ भएको समस्यामा यो गर्नुहुँदैन । गर्भावस्था र महिनावारीका समय महिलाहरुले यो गर्नुहुँदैन ।

२. पेटको वस्ति (एनिमा)

तालिम प्राप्त व्यक्तिको सहयोग लिई मलद्वारबाट एनिमा सेटको माध्यमले पानी पठाइन्छ र आन्द्राको सफाइ गरिन्छ । यसको प्रयोग गरेपछि पहिलो दिनदेखि नै वा कसै–कसैलाई केही दिनपछि भोक लाग्न थाल्छ ।

लाभः यसले ग्यास्टिक, अपच, कब्जियत, मधुमेह, मोटोपना, पेटका विकारहरु आदि हटाउन सहयोग गर्छ । तर तालिमविना यो गर्नुहुँदैन । अलकाई भएमा बिस्तारै गर्नुपर्छ । गर्भावस्था र महिनावारीका समय महिलाहरुले यो गर्नुहुँदैन ।

३. कपालभाति

पद्मासन, वज्रासन, सुखासन आदिमध्ये कुनै एक आसनमा बसी आँखा चिम्लने, पेटलाई भित्र तान्दै झड्का दिएर मुख बन्द गरी लयबद्धरुपमा एक सेकेन्डमा एकदेखि दुई पटकसम्म नाकबाट श्वास बाहिर छोड्ने । ५ मिनेटजति अभ्यास गर्ने । कमजोरी बढी छ भने थोरै बेर क्षमताअनुरुप अभ्यास गर्ने ।

४. अग्निसार क्रिया

उभिएर, दुबै खुट्टा थोरै खुम्च्याई निहुँरने र हातलाई घुँडामा राख्ने । मुखबाट श्वास छोडेर पेट–छातीको हावा निकाल्ने र तुरुन्तै श्वास रोकी केही बेर (श्वास रोकुन्जेलसम्म) पेटलाई तीव्र गतिमा भित्र–बाहिर गर्दै हल्लाउने गर्नुहोस् । यसले पाचन निष्कासन क्षमता बढ्छ र भोक जगाउन सहयोग गर्छ ।

लाभः कपालभाति र अग्निसार क्रियाले ग्यास्टिक, अपच, कब्जियत, मधुमेह, मोटोपना, दम, तनावलगायत पेट, शिर, छाती, यौनांग आदिका विकारहरु हटाउन सहयोग गर्छ । तर मुटुका समस्याहरु, बढी रक्तचाप, गर्भावस्था र महिनावारीको अवस्था, पेटको ठूलो अप्रेसन गरेका, ज्वरोको अवस्था आदिमा गर्नुहुँदैन ।

थप सल्लाह

भोक हराउनु प्रकृतिले दिएको सूचना पनि हो । त्यसैले स्वाभाविक भोक नआएसम्म पूर्ण शरीरको शोधनका लागि विभिन्न उपायहरु गर्नुपर्छ । कारक रोगहरुको उपचारमा पनि ध्यान दिनुपर्छ । मनो वा मनोशारीरिक कारणहरुलाई हटाउन यम, नियम, प्राणायाम तथा धारणा र ध्यानको अभ्यास नियमित गर्नुपर्छ । मद्यपान, धूमपानलगायत अन्य दुव्र्यसनको कुलत छ भने छोड्नुपर्छ । भोक नफर्कुन्जेल फलाहार, रसाहार, उपवासको चक्रलाई अपनाउनुपर्छ । डाक्टरको सल्लाह पनि लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्