आफ्नै स्वास्थ्यमा खेलबाड गर्भ बोक्दै सुटुक्क फाल्दै



बुनु थारु

प्रसुति गृह, थापाथलीमा एक महिला एकदमै रक्तश्राव भएर अस्पताल भर्ना भइन् । उनको रक्तश्रावको कारण रहेछ, उनले मान्यता प्राप्त नगरेको मेडिकलबाट आफूखुशी गर्भ तुहाउने औषधि किनेर खाइछन् । मात्रा नमिलाई तथा कडा औषधि खाएकाले गर्भपतनसँगै असह्य वेदना भएर रगत पनि बगेको थियो । यस्ता समस्या लिएर आउने धेरै छन् भन्छिन् प्रसूति गृहकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. उषा श्रेष्ठ खाँड । यी महिला त प्रतिनिधि पात्र मात्र हुन् । यस्ता धेरै समस्या बोकेका महिला तथा किशोरीहरु समाजले थाहा नपाओस् भनेर शुरुमा गोप्यरुपमा मेडिकलबाट सेवा लिन्छन् । तर पछि अवस्था नाजुक भएपछि मात्र सुविधा सम्पन्न अस्पतालमा धाउने
गरेको पाइन्छ ।

आधाजसोमा अनिच्छित गर्भ
सन् २०११ मा नेपालका ४३ प्रतिशत विवाहित महिलाले आधुनिक परिवार नियोजनका साधनहरु प्रयोग गर्ने गरेको पाइएको थियो । तर ती मध्ये आधाजसोले त्यस्ता परिवार नियोजनका साधन प्रयोग गरेको १२ महिनाभित्रमा प्रयोग गर्न छोड्ने गरेका थिए । सन् २०१४ मा नेपालका प्रजनन उमेरका प्रति १ हजार महिलामा अनिच्छित गर्भको दर ६८ रहेको थियो । नेपालमा कुल गर्भहरुमध्ये आधाजसो अनिच्छित गर्भ (नचाहेको बेलामा वा अर्को गर्भको चाहना नै नहुँदा गर्भवती हुनु) हुने गरेका छन् । यस्तै कुल गर्भहरुमध्ये करिब एक तिहाइ अर्थात् ३१ प्रतिशत गर्भको गर्भपतन हुने गरेको छ ।
(कृपा र गुटम्याकर संस्थाले सन् २०१४ मा गरेको अध्ययन प्रतिवेदनबाट)

गर्भपतन गराउनुपर्ने अवस्था
गर्भपतन भन्नाले महिनावारी भएको दिनबाट गणना गर्दा २८ हप्ताभन्दा पहिले गर्भमा भएको भ्रूण अथवा शिशु बाहिर निस्कने वा निकालिने प्रक्रिया हो । विभिन्न कारणले गर्दा गर्भपतन गर्नुपर्ने अवस्था आउन सक्छ ।

नेपाली समाजमा अचेल पश्चिमा संस्कृति धेरै हदसम्म भित्रिएको छ, जसको सिको युवायुवतीहरुले पनि गरिरहेका छन् । गलफे्रन्ड, ब्वाइफे्रन्ड बनाउने ट्रेन्ड फेसनजस्तै भइसक्यो । त्यसमाथि धेरै युवायुवतीले सेक्सलाई सामान्य तरिकाले हेर्ने गरेका छन् । त्यसैले असुरक्षित सम्पर्क भई कतिपयको विवाहअघि नै गर्भधारण हुने गर्छ । हाम्रो समाजले विवाहअघिको गर्भधारणलाई स्वीकारेको पाइँदैन । त्यसैले पनि बाध्य भएर गर्भपतन गराउनुपर्ने हुन्छ ।

त्यसै गरी जबर्जस्ती र हाडनाता करणीबाट रहन गएको गर्भ पनि पतन गराउनुपर्ने अवस्था आउँछ । त्यस्तै छोराको आश गर्दागर्दै गर्भमा छोरी भएको थाहा पाएपछि परिवारको दबाबमा गर्भपतन गराउनेहरु पनि हाम्रो समाजमा पाइन्छन् । गर्भको शिशु वा आमा अथवा दुवैको स्वास्थ्यमा गम्भीर असर पर्ने भएमा पनि डाक्टरको सिफारिसमा गर्भपतन गराउनुपर्ने हुन्छ । त्यस्तै सन्तानको रहर पुगिसकेका तर गर्भ बसेमा पनि गर्भपतन गराउने गर्छन् । कतिपय महिलाले त स्वेच्छाले पनि गर्भपतन गर्छन् । तर धेरैले चाहिँ रहरले नभएर बाध्यताले गर्भपतन गराएका हुन्छन् ।

गर्भपतन गर्न पाइने अवस्था
विगतमा गर्भपतन गराउनु गैरकानुनी मानिन्थ्यो । लुकिछिपी गर्भपतन गराउने धेरै थिए र ज्यान गुमाउन पनि बाध्य थिए । गर्भपतन गराएको थाहा पाइयो भने त्यति बेला दण्ड दिने चलन थियो । मुलुकी ऐनको भाग ४ को महल १० मा कसैले गर्भपतन गराए वा गर्भ तुहाए ज्यानसम्बन्धी महल आकर्षित हुने गरेको थियो, जसमा १२ हप्तासम्मको गर्भ तुहाए एक वर्ष कैद, २५ सातासम्मको गर्भ भए तीन वर्ष कैद तथा २५ हप्ताभन्दा बढीको गर्भ पतन गराएमा पाँच वर्षसम्म कैद हुने प्रावधान थियो ।

नेपालमा सुरक्षित गर्भपतन सेवा प्रक्रिया २०६० बाट शुरु भयो । यसपछि भने १२ हप्तासम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीमा पतन गर्न कानुनले मान्यता दिएको छ । १२ हप्तासम्मको गर्भ फाल्न पाउनु महिलाको अधिकार हो, यसमा कसैले रोकतोक गर्न पाउँदैन । जबर्जस्ती करणी र हाडनाता भएको अवस्थामा १८ हप्तासम्मको गर्भ फाल्न पाइने व्यवस्था छ । तर गर्भवती महिलाको मञ्जुरीबेगर वा लिंग पहिचान गरेर गर्भपतन गराउन कानुनले मान्यता दिँदैन । त्यसै गरी गर्भकै बच्चाका कारण आमाको ज्यान खतरामा छ भने गर्भपतन गराउने व्यवस्था छ । शारीरिक तथा मानसिक रुपले महिलाको स्वास्थ्यमा असर पर्ने भएमा वा विकलांग बच्चा जन्मन सक्ने भएमा पनि चिकित्सकको ठहरमा जुनसुकै अवधिको गर्भपतन गर्न पाइने व्यवस्था छ ।


गर्भपतन गर्ने उद्देश्यको भ्रूण पहिचान गैरकानुनी

नेपालमा कानुनले भ्रूणको लिंग पहिचान गर्न पाइँदैन भनेको छ, तर पनि अवैधरुपमा यसको पहिचान गर्नाले छोरी देखियो भने गर्भपतन गराउने गरेको पाइएको छ । हालसालै मात्र अल्का अस्पतालकी डा. नूतन शर्मालाई भ्रूणहत्या गर्ने उद्देश्यले प्रेरित भई लिंग पहिचान गरेकोमा मेडिकल काउन्सिलले ३ महिनाको लागि निलम्बन गरेको समाचारमा आएको छ ।

गर्भपतनप्रतिको दृष्टिकोण
नेपालमा अझै पनि गर्भपतनलाई राम्रो तरिकाले हेरिँदैन । सन् २००२ मा नेपालमा गर्भपतनले कानुनी मान्यता प्राप्त गरे तापनि कानुनअनुसार गर्भपतनको सेवा–सुविधा लिन विभिन्न अप्ठ्याराहरु रहेका छन् । अझै पनि गर्भपतनलाई समाजले सकारात्मक तरिकाले नहेरेकाले थुप्रै किसिमका अन्योलता र विकृति अझै पनि कायम रहेको छ । गर्भपतन गर्नु भनेको त पाप हो भन्ने धारणाले पनि धेरैले यसलाई लुकाएर गलत मानिसको हातबाट सेवा लिन पुग्छन् । त्यसैले पनि सुरक्षितभन्दा असुरक्षित गर्भपतन गर्नेहरु बढ्दो छन् ।

सुरक्षित गर्भपतनबारे जानकारी नहुनु र सबैका लगि पहुँचयोग्य सेवा नहुनुले पनि समस्या आएको हो । सेवा शुल्कमा एकरुपता नहुनु, लैंगिक–मैत्री समाज नहुनु, गर्भपतनलाई समाजले हेय दृष्टिको रुपमा हेर्नुले पनि यस्तो अवस्था आएको हो । बाहिरी मुलुकमा सामान्य माने पनि नेपाली समाजमा विवाहअघिको गर्भपतनलाई स्वीकारेको पाइँदैन । कतिपयले समाजमा इज्जत जाने डरले आत्महत्या पनि गरेको पाइन्छ ।

समाजमा इज्जत जाने डरले जथाभावी मेडिकलको औषधि खाने अनि पछि त्यसको असर पर्नाले अस्पताल आउने धेरै भएको डा. उषा श्रेष्ठ बताउँछिन् ।

गर्भ बस्यो भने फाल्न मिलिहाल्छ नि भन्ने धारणा

जयन्ती छन्त्याल
नर्सिङ इन्चार्ज, सुरक्षित गर्भपतन सेवा, प्रसूति गृह

मुख्य कुरा त परिवार नियोजनको साधनको बारेमा उचित जानकारी नभएर हो । परिवार नियोजनको साधनले नराम्रो गर्छ भन्ने नकारात्मक धारणा कतिपयको छ । त्यसकारणले गर्दा असुरक्षित यौनसम्पर्क बढेको हो । असुरक्षित यौनसम्पर्क भएपछि अनच्छित गर्भ हुन्छ अनि त्यसले गर्भपतन गर्न बाध्य बनाउँछ । सरकारी अस्पताल भएका कारणले होला यस प्रसूति गृहमा किशोरीहरु धेरै आएको हामीलाई थाहा छैन, बरु महिलाहरु गर्भपतन सेवाका बारेमा परामर्श लिन आउँछन् । धेरै जटिल अवस्थामा पुगेकाहरु पनि बाहिर जिल्लाबाट आउने गरेका छन् ।
गर्भपतनमा कमी ल्याउन परिवार नियोजनको साधनको बारेमा व्यापक जानकारी दिनुपर्छ । यस्ता साधन सबै ठाउँमा सहजरुपमा उपलब्ध हुनुपर्छ । दम्पतीलाई यसको प्रयोगको फाइदा–बेफाइदा बारेमा जानकारी दिइनुपर्छ । गर्भपतन गर्न पाउनु महिला अधिकारको कुरा हो । तर गर्भ बस्दैमा के हुन्छ र फाल्न मिलिहाल्छ नि भन्ने धारणाले कतिपयले धेरै पटकसम्म गर्भपतन गराएका पनि छन् । यसले उनीहरुको स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ । गर्भ बोक्दै फाल्दै गयो भने कानुनी मान्यताको विरोध भइहाल्यो नि । सकेसम्म गर्भपतन गराउनु राम्रो त होइन तर बाध्यता भए त गराउने हो । पटक पटक दोहोर्याउने चाहिँ राम्रो कुरा होइन ।

कानुनी बाटो खुलेपछि मातृ मृत्युदरमा कमी
गर्भपतनले कानुनी मान्यता पाएपछि नेपालको मातृ मृत्युदरमा उल्लेख्य कमी आएको छ । कृपा तथा गुचम्याकर संस्थाको सन् २०१४ को अध्ययनअनुसार सन् १९९५ मा प्रति १ लाख जीवित जन्ममा मातृमृत्यु दर ५८० थियो । तर सन् २०१३ मा आइपुग्दा यो दर १९० रहेको छ ।
दुर्गम क्षेत्रमा अझै पनि अस्पताल नगई घरैमा बच्चा जन्माउने गर्छन् । यसले गर्दा ती क्षेत्रमा चाहिँ मातृ मृत्युदर बढी नै रहेको छ । अवैध सम्बन्धबाट रहेको गर्भपतन गराउन वा सुत्केरी हुन भरपर्दो स्वास्थ्य संस्थामा नजानाले मातृ मृत्युदर बढेको हो । त्यसैले असुरक्षित गर्भपतनबाट जोगाउन र मातृ मृत्युदर घटाउन नै कानुनी बाटो खुला गरिएको हो ।

नेपालमा भएका यी गर्भपतनमध्ये आधाभन्दा कम ४२ प्रतिशत मात्र सरकारले गर्भपतन गर्नका लागि कानुनीरुपमा मान्यता दिइएका स्वास्थ्य संस्थाहरुमा हुने गरेका छन् । बाँकी ५८ प्रतिशत गर्भपतनहरु लुकिछिपी असुरक्षित वा सरकारले मान्यता नदिएको स्वास्थ्यसंस्था, व्यक्ति वा गर्भवती महिला आफैंले गर्ने गरेको पाइएको छ ।

अझै आफूखुशी औषधिको प्रयोग
मापदण्ड विपरीत तथा गुणस्तरहीन औषधि बजारमा छ्यापछ्याप्ती पाइन्छन् । समाजले थाहा पाउने डरले कतिपय महिला वा किशोरीहरु गर्भपतन गराउन हतार–हतार गलत ठाउँमा पुग्ने गरेका छन् । गर्भपतन गराउने औषधि लिन कत्तिको र कस्ता व्यक्ति आउँछन् भनेर सोधपुछ गर्दा उग्रतारा स्वास्थ्य क्लिनिक कीर्तिपुरका रतन आयरले भने– ‘हाम्रोमा २० वर्षमाथिका युवती त्यस्तो औषधि छ कि भनेर सोध्न आउँछन् ।’ कहिले त जोडी नै मिलेर आउने गरेको उनले बताए । हामी त्यस्तो औषधि बेच्दैनौं, त्यसैले त्यस्ता किशोर–किशोरीलाई सम्झाएर अस्पतालमा जान सुझाउने गरेको उनको भनाइ छ । यसले के देखाउँछ भने, पसलमा सजिलै औषधि पाइहालिन्छ नि भनेर असुरक्षित यौनसम्पर्क गर्नेहरु धेरै छन् ।

यस्ता औषधिको कारोबारबारे औषधिपसले पनि खुलेर भन्न चाहँदैनन् । भीम मेडिकल हल, कालिमाटीका सञ्चालकसँग यसबारे कुरा गर्दा पहिलेको तुलनामा अहिले गर्भपतनको औषधि माग्न आउनेमा कमी भएको तर परिवार नियोजनको साधन किन्न आउनेचाहिँ बढी नै रहेको उनले बताए । आफ्नो अवस्था र मात्रालाई वास्तै नगरी मकै–भटमासजस्तै गर्भपतन गराउने औषधि खानाले पैसा मात्र नाश हुँदैन, जोखिम पनि उत्तिकै निम्त्याउँछ । डा. उषा श्रेष्ठ भन्छिन्– ‘सरकारले वैधरुपमा गर्भपतनको सुविधा ल्याए पनि अझै अवैधरुपमा गर्भपतन गराउने धेरै छन् । झन् अहिले सरकारले गर्भपतन सेवा सर्वसुलभ बनाउन निःशुल्कको योजना अघि सारेको छ तर धेरैलाई यसबारे जानकारी हुन सकेको छैन ।’ समाज तथा घरपरिवारका अगाडि इज्जत जान्छ कि भन्ने डर अनि सामाजिक, आर्थिक, भौगोलिक र अरु विविध कारणले अझै पनि गर्भपतनको जोखिम कायम नै छ ।

स्त्रीरोग विशेषज्ञ डा. उषा श्रेष्ठका अनुसार जोखिम भनेको औषधि पसलबाट जथाभावी औषधि सेवन गर्नाले भएको छ । सिटामोल दिएजस्तै गर्भपतनको औषधि खान दिनाले त्यसको असर पक्कै पनि बढ्छ । यस्तो औषधि खाने कतिपयको यत्तिसम्म रगत बग्ने हुन्छ कि उसलाई थप रगत दिनुपर्ने अवस्था आउँछ । कति जना त बेहोस नै भएर आउँछन् ।

गर्भपतन गराउनेको संख्या बढ्दो
कृपा तथा गुटम्याकरको रिपोर्टअनुसार नेपालमा सन् २०१४ मा करिब ३ लाख २३ हजार गर्भपतन भएको अनुमान गरिएको छ, जसमा १ लाख ३७ हजारले मात्रै सुरक्षित गर्भपतन गराएको अध्ययनले देखाउँछ । १५ देखि ४९ वर्ष उमेर समूहका प्रति १ हजार महिलामा ४२ जनाले गर्भपतन गराउने गरेको तथ्यांक छ । जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौंको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२⁄७३ मा १६ हजार महिलाले गर्भपतन गराएका छन् । यो तथ्यांक अघिल्लो आ.व.भन्दा ५ प्रतिशतले बढेको छ । यसले के देखाउँछ भने, गर्भपतन बढ्दो छ । काठमाडौंका निजी र सरकारी अस्पतालबाट ४३ हजार ८२ महिलाले गर्भ परीक्षण गराएका थिए । तीमध्ये २९ हजार मात्रै नियमित स्वास्थ्य उपचारको लागि आएको तथ्यांकमा छ ।

नेपालमा भएका यी गर्भपतनमध्ये आधाभन्दा कम ४२ प्रतिशत मात्र सरकारले गर्भपतन गर्नका लागि कानुनीरुपमा मान्यता दिइएका स्वास्थ्य संस्थाहरुमा हुने गरेका छन् । बाँकी ५८ प्रतिशत गर्भपतनहरु लुकिछिपी असुरक्षित वा सरकारले मान्यता नदिएको स्वास्थ्यसंस्था, व्यक्ति वा गर्भवती महिला आफैंले गर्ने गरेको पाइएको छ ।

गर्भपतन गर्नु भनेको त पाप हो भन्ने धारणाले पनि धेरैले यसलाई लुकाएर गलत मानिसको हातबाट सेवा लिन पुग्छन् । त्यसैले पनि सुरक्षितभन्दा असुरक्षित गर्भपतन गर्नेहरु बढ्दो छन् ।

असुरक्षित गर्भपतनले निम्त्याउने खतरा
अवैधरुपमा तथा अदक्ष व्यक्तिबाट गर्भपतन गराउँदा धेरै जोखिम तथा खतरा निम्तिन सक्छ । असुरक्षित गर्भपतन गराउनाले बढी रगत बग्ने, पाठेघर तथा आन्द्रामा प्वाल पर्ने, टिटानसको सम्भावना पनि हुन सक्ने देखिन्छ । डा. उषा श्रेष्ठका अनुसार असुरक्षित गर्भपतनले पाठेघर तथा तल्लो पेट दुख्ने हुन्छ अनि दीर्घकालीनरुपमा पाठेघरको नली संक्रमण हुने, बन्द हुने, बाँझोपन हुने, डिम्बावाहिनी नलीमा गर्भधारण हुने तथा सिंगो प्रजनन स्वास्थ्यमा असर पर्ने हुन्छ । त्यसैले पनि स्वीकृतिप्राप्त सूचीकृत संस्था र चिकित्सकसँग मात्रै गर्भपतन गर्न चिकित्सकहरु सल्लाह
दिने गर्छन् ।

कृपाको सन् २०१४ को अध्ययनअनुसार नेपाल सरकारले गर्भपतनका लागि मान्यता दिएका झन्डै ११ सय स्वास्थ्य संस्थाले कानुनीरुपमा गर्भपतन सेवा वा गर्भपतनपश्चात्को सेवा दिने गरेका छन् । मान्यका पाएका यत्तिका स्वास्थ्य संस्था हुँदा पनि जथाभावी असुरक्षित गर्भपतन गराउनु जनचेतनाको कमी नै हो ।

नेपालको सुरक्षित गर्भपतन सेवा दिन राम्रो मानिएको प्रसूति गृहमा सन् २००४ देखि सुरक्षितगर्भपतन सेवादिन थालिएको हो । आर्थिक वर्ष २०७२⁄७३ मा औजारबाट र औषधीको प्रयोगबाट दुई हजार ६७६ जनाले गर्भपतन सेवा लिएका छन् ।

गर्भपतनसँगै परिवार नियोजनको साधनका कुरा

डा. उषा श्रेष्ठ खाँड
वरिष्ठ स्त्रीरोग विशेषज्ञ, प्रसूति गृह, थापाथली

गर्भपतन दुई प्रकारको हुन्छ । एउटा औषधि खाएर र अर्को सर्जिकल गरेर गर्भपतन गराउन सकिन्छ । औषधि खुवाएर गरिने गर्भपतनचाहिँ तालिमप्राप्त सिनियर अनमी र स्टाफ नर्सले गराउन सक्छन् । सुरक्षित गर्भपतन गराउने संस्थामा अनिवार्य लोगो पनि झुन्ड्याइएको हुनुपर्छ । यो कुरा सेवाग्राहीले बुझ्नुपर्छ ।

गर्भपतनसँगै परिवार नियोजनको साधनको पनि कुरा जोडिएर आउँछ । महिलालाई हामीले परामर्श पनि दिने गरेका छौँ । जस्तै– महिलालाई केको आवश्यकता छ त ? गर्भपतन गरिसकेपछि लामो समयसम्मको परिवार नियोजनको साधन चाहिन्छ कि अस्थायी साधन, त्यसबारे पनि सम्झाउँछौं । फेरि पनि दोहोर्याएर गर्भपतन गर्न नपरोस् भनी थप सेवा–सुविधासमेत हामी दिन्छौँ । गर्भपतन सेवा लिनेलाई अरु कुनै रोग हुन सक्छ । मेडिकल डिजिज, घरेलु हिंसाको सिकार भइराखेको हुन सक्छ । त्यसलाई पनि कसरी ट्रिट्मेन्ट गर्ने, कहाँ जाने भनेर हामी सल्लाह दिन्छौं । उसको हरेक प्रजनन अधिकारलाई पनि हेर्न गरेका छाँै हामीले ।

गर्भपतन सेवा कहाँबाट लिन सकिन्छ ?
सरकारले तालिमप्राप्त स्वास्थ्यकर्मीद्वारा मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट सेवा दिँदै आएको छ । सरकारीबाट मात्र होइन, निजी तथा गैरसरकारी संस्थाले पनि यो सेवा दिँदै आएका छन् । सरकारी अस्पतालबाहेक नेपाल परिवार नियोजन संघ तथा मेरी स्टोप्स संस्थाले प्रमुखरुपमा यो सेवा दिँदै आएका छन् । मेरी स्टोप्स सेन्टरले नेपालका ३२ जिल्लामा ३६ शाखामार्फत आफ्ना सेवा प्रदान गर्दै आएको छ । मेरी स्टोप्सको २०१६ को तथ्यांकअनुसार ९० हजार ९ सय ४२ जनाले त्यहाँबाट गर्भपतनको सेवा लिएका थिए । नजिकको सरकारी अस्पताल, निजी अस्पताल वा परिवारनियोजन संघको कार्यालयमा सम्पर्क गरी यो सेवा लिन सकिन्छ ।

जोखिमचाहिँ पक्कै कम भएको छ

डा. महेश पुरी, अनुसन्धानकर्ता, वातावरण स्वास्थ्य र
जनसंख्या कार्यक्रम अनुसान्धान केन्द्र (कृपा)

गर्भपतन गराउनका निम्ति अहिले कम्तीमा औषधि खाने चलन त बनेको छ । लाइफ नै जोखिम परेको केस अहिले निकै कम आइसेकका छन् । संख्यामा कम नभए तापनि जोखिमचाहिँ पक्कै कम भएको छ । यो सुखद कुरा हो । एउटा पाटो हेर्ने हो भने वैध–अवैध दुवै जे भए पनि कम्तीमा अलिक ज्ञान आएको छ मानिसमा । कम्तीमा पुरानो घरेलु विधि अपनाएर गर्भपतन गराउने त गरेका छैनन् नि ।

प्रवृत्तिमा धेरै नै चेन्ज भएको छ । जहाँ सजिलो छ, पहुँच छ, त्यहीँ त जाने हो महिला पनि । गर्भपतनले महिलाको मृत्यु बढ्ने खतरा भन्ने कुरा जुन छ त्यसमा अहिले एकदमै कमी आएको छ । गर्भ तुहाउन सिसा खाने, अग्लो रुख चढ्ने, भारी बोक्ने, लामो दूरीको यात्रा गर्ने गर्थे महिलाहरु, तर अहिले त्यो अवस्था त छैन । हुन त अहिलेका युवायुवतीले सेक्सलाई सामान्य मान्ने गरेकाले पनि गर्भपतन बढेको पाइन्छ । अर्को कुरा, लिभिङ टुगेदरले पनि यो समस्या निम्त्याएको छ । कतिपयले मेडिकलबाट औषधि किनेर खाइदिनाले पनि यकिन तथ्यांक छैन । विशेषतः शहरी क्षेत्रमा किशोरीहरुले गर्भपतन बढी गरेको पाइन्छ ।

अहिले सेवा वैधानिक भए पनि अझै सर्वसुलभ छैन, सहज छैन । सामाजिक कुसंस्कार अझै पनि छ । महिलाले आफ्नो अधिकार राम्ररी उपयोग गर्न सकेका छैनन् । सरकारीभन्दा प्राइभेटमा महँगो नै छ । अज्ञानता, स्रोत–साधनको कमी, सामाजिक कुंसस्कार, परिवारको असहयोगका साथै कानुनी सेवा सर्वसुलभ छैन । ४१ जिल्लाबाहेक अन्य जिल्लामा गर्भपतन सेवा पुग्न सकेको छैन । यसमा सरकारले ध्यान पुर्याउनुपर्छ ।

कसरी रोकथाम गर्न सकिन्छ ?
सरकारले आर्थिक वर्ष २०७३⁄७४ बाट सुरक्षित गर्भपतन सेवा सम्पूर्णरुपले निःशुल्क गर्ने निर्णय गरेको छ । सूचीकृत स्वास्थ्य संस्थाहरुमा यो सेवा २०७३ साल पुस १ गतेबाट पूर्णरुपमा निःशुल्क छ । तर पनि विविध कारणले धेरै जना यो सेवाबाट वञ्चित छन् । गर्भपतन गराउनुभन्दा सर्वप्रथमतः अनिच्छित गर्भ नै रोक्नु जरुरी छ । त्यसका लागि परिवार नियोजनका साधनहरु सर्वसुलभ हुनुपर्यो । ग्रामीण क्षेत्रमा समेत यसबारे जनचेतनामूलक कार्यक्रमहरु चलाउनुपर्यो ।

सरकारले निःशुल्करुपमा गर्भपतन सेवा ल्याए पनि अझै राम्ररी कार्यान्वयनमा आउन सकेको छैन । निजीस्तरका स्वास्थ्यसंस्थाबाट गराइने गर्भपतन सेवाको शुल्कमा पनि एकरुपता भए धेरै जना ठगिनबाट जोगिने थिए । कहाँ सर्वसुलभ सेवा उपलब्ध छ भनेर अझै पनि आमजनमानसमा जानकारी पुगिसकेको छैन । भौगोलिक स्थितिले पनि यो कुरामा अर्थ राख्छ । दुर्गमका धेरैजसो महिलाहरु गर्भपतन गराउन टाढा पुग्नुपर्ने बाध्यता छ । त्यसै गरी १२ हप्तासम्मको मात्र गर्भपतन गराउने व्यवस्था छ । जानकारीको अभाव र टाढा पुग्नुपर्ने हुँदा समय घर्केपछि असुरक्षित गर्भपतन गराउन बाध्य हुन्छन् ग्रामीण महिला । अर्को कुरा, परिवारमा छलफल नै हुँदैन । महिलाले पनि आफ्ना कुराहरु राख्न नसक्दा लुकिछिपी असुरक्षित गर्भपतन गराउनुपर्ने हुन्छ । त्यसैले गर्भपतन सेवा सबैको पहुँचमा हुनुपर्यो ।

अनिच्छित गर्भपतन रोक्न सरकारले परिवार नियोजनको साधनको सेवा प्रभावकारी बनाउनुपर्छ । गर्भपतन गराउने संस्थाहरुको अझ धेरै विस्तार हुन जरुरी देखिन्छ । अस्पतालमा गोपनीयता नहुने भन्ने भ्रम छ, त्यो पनि चिर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्