अनुहार सफा राख्न बाफको प्रयोग



सुनिता श्रेष्ठ
ब्युटिसियन

दिनभरिको कामको व्यस्तता, दौडधुप र हेलचेक्र्याइँले हामीले अनुहारको हेरचाहमा ध्यान पुर्याउन सकेका हुँदैनौं । वातावरणीय प्रदूषण र सफाइको कमीले अनुहारको स्किनको ताजगीपन हराउँदै गएको हामीलाई पत्तोसमेत हुँदैन । हराएको अनुहारको निखार पहिलेकै अवस्थामा ल्याउन र अनुहार सफा राख्नका लागि स्टिमिङ (बाफ लिने कार्य) धेरै सजिलो र प्रभावकारी उपाय हो । अनुहारको थकानका साथै तनाव हटाउनु छ भने स्टिमिङ धेरै उपयोगी हुन्छ ।

हाम्रो छालामा कहिले धूलोका कण त कहिले अन्य प्रदूण वा कहिले सूर्यको हानिकारक किरणले असर गरिरहेको हुन्छ । यसले गर्दा अनुहारको चमक हराउँदै गएको हुन्छ । अनुहारमा फोहोरमैला जम्मा हुन जान्छ । त्यस्तो बेलामा बाफ लिनु धेरै लाभदायक हुन्छ । बाफको प्रयोगले छालाको फोहोरमैला मात्र निस्कने हैन यसले बन्द भएको छालाका प्वाल पनि खुला हुन मद्दत गर्छ अनि रक्तसञ्चारमा पनि वृद्धि हुन्छ । कोषिकामा पनि अक्सिजन मिल्छ । जसले गर्दा अनुहारमा निखार ल्याई चम्किलो बनाउँछ । यदि तपाईं कहीँ पार्टीमा जाने तयारीमा हुनुहुन्छ भने एक–दुई दिनअघिदेखि नै अनुहारमा स्टिमिङ गर्नुस् । यसले तपाईंको अनुहार सफा बनाउनुका साथै निखार ल्याउन सहयोग मिल्छ ।

थाहा पाउनै पर्ने कुरा

  • यदि तपाईंको छालामा सुख्खापन छ भने हप्ताको एकचोटि स्टिम बाथको प्रयोग गर्नुस् ।
  • स्टिम वाटरमा तपार्इंले टी–ब्यागको प्रयोग गर्न चाहनुहुन्छ भने ग्रिन टी प्रयोग गर्नुस् ।
  • स्टिम लिने समयमा कपाललाई टावेल अथवा हेयर क्यापले राम्रोसँग ढाक्नुस् ।
  • १० मिनेटभन्दा बढी समयसम्म बाफ नलिनुस् ।
  • स्टिमको प्रयोगले अनुहार पिम्पल वा रिङ्कल फ्री भैसकेपछि मात्र सुन्दरतामा निखार आउँछ ।
  • अक्सिजनको कमीले छाला सुख्खा र चमकहीन हुन्छ, त्यसैले अक्सिजनको कमी हुन नदिन स्टिम लिनुपर्छ ।

रक्तसञ्चालमा वृद्धि हुने
बाफ लिँदा रक्तसञ्चार क्रियामा वृद्धि भई अनुहार चम्किलो हुने गर्छ । कोषिकाहरुमा अक्सिजन पुर्याउने काम गर्दछ, जसले गर्दा तपाईं आफूलाई एनर्जिटिक र फ्रेस अनुभव गर्नुहुन्छ ।

तैलीय ग्रन्थिको नियन्त्रण हुने
अनुहारको छालाबाट निस्कने एक किसिमको तैलीय पदार्थले छालाको लागि मोइश्चराइजरको काम गर्दछ । जब तैलीय ग्रन्थिमा अधिक तेल निर्माण हुन थाल्छ तब अनुहारमा फोहोरमैला अधिक जम्न थाल्छ । पछि गएर अनुहारमा ब्ल्याक हेड्स वा ह्वाइट हेड्स बन्न जान्छ । स्टिमिङ लिएपछि यसले अनुहारमा चिल्लो पदार्थ जम्मा हुन दिँदैन । र, ब्याक्टेरिया बढ्ने मौका मिल्दैन । अनि चिल्लोबाट अनुहारमा निम्तिने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

ब्ल्याक हेड्स हट्ने
जसको अनुहारमा धेरै ब्ल्याक हेड्स या ह्वाइट हेड्सको समस्या हुन्छ, उसको लागि स्टिमिङ धेरै राम्रो मानिन्छ । ब्ल्यक वा ह्वाइट हेड्स न्यूनीकरण गर्ने यो सजिलो उपाय पनि हो । करिब ५ देखि १० मिनेटसम्म अनुहारमा स्टिम लिइसकेपछि स्कबले सफा गरिदिने हो भने ब्ल्याक हेड्स सफा हुन्छ । परिणामस्वरुप अनुहारमा चमक र उज्यालोपन आउँछ ।

अनुहारको छाला सफा हुने
धूलो, छारो र फोहोरका कारण छालाका छिद्रहरु बन्द हुन सक्छन् । यसरी छालामा हुने प्वालहरु बन्द हुँदा अनेकौं किसिमको छालाको समस्या उत्पन्न हुन जान्छ । त्यस अवस्थामा अनुहारमा स्टिम लिँदा पसिना निस्किन्छ र बन्द भएको प्वाल खुल्ला हुन जान्छ । स्टिमले मृतछाला पनि सफा हुने गर्छ, जसले गर्दा तपाईंको छालामा नयाँ चमक थप्ने काम गर्दछ ।

अनुहारमा फोहोर जम्दा वा तेल जम्मा हुनाले छालामा पिम्पल आउने सम्भावना बढी नै हुन्छ । यो समस्या समाधानका लागि स्टिमिङ धेरै लाभदायक हुन्छ ।

पिम्पल्स आउनबाट रोक्ने
अनुहारमा फोहोर जम्दा वा तेल जम्मा हुनाले छालामा पिम्पल आउने सम्भावना बढी नै हुन्छ । यो समस्या समाधानका लागि स्टिमिङ धेरै लाभदायक हुन्छ । यसले छिद्रहरुको फोहर सफा गरिदिन्छ । जसको कारण पिम्पल आउन दिँदैन ।

सुख्खापनबाट बचावट
जाडो वा सुख्खा मौसममा छालामा सुखापन आउने गर्छ । फेसियल स्टिमिङ गरिसकेपछि क्रिम मसाज गर्दा छालामा कोमलता आउनुका साथै रिङ्कल हुनबाट पनि बचाउँछ । पानीमा थोरै मात्रामा बदामको तेल राखेर बाफ लिने हो भने यसले सबै टक्सिन निकाली थकानबाट समेत छुट्कारा दिने गर्दछ ।

बाफको प्रयोगले छालाको फोहोरमैला मात्र निस्कने हैन यसले बन्द भएको छालाका प्वाल पनि खुला हुन मद्दत गर्छ अनि रक्तसञ्चारमा पनि वृद्धि हुन्छ । कोषिकामा पनि अक्सिजन मिल्छ । जसले गर्दा अनुहारमा निखार ल्याई चम्किलो बनाउँछ ।

चाउरीपनमा कमी आउने
हाम्रो छालामा दिन प्रतिदिन नयाँ कोषिका बनिरहन्छ । सबभन्दा माथिको छालाको लेयर हुन्छ कवचजस्तो बनेर काम गरिरहेको हुन्छ । यो लेयरले छालाभित्र धूलो, माटो अथवा कीटाणु जानबाट रोक्न मद्दत गरेको हुन्छ । छालाको सरसफाइमा ध्यान नदिएको खण्डमा बाहिरी छालामा फोहोर जम्मा हुन थान्छ । यसले गर्दा समयअगाडि नै चाउरीपन बढ्न थान्छ । चाउरीपन हुनबाट बचावटका लागि सही कस्मेटिक उत्पादनको प्रयोगका साथै १५ दिनमा एकचोटि अनुहारमा स्टिम बाथ लिनु जरुरी छ । यसले एन्टी एजिङको काम गर्छ ।

प्रतिक्रिया दिनुहोस्