शिवरामले जिते ३७औं उपाधि



 

काठमाडौं, (नेस)
शिवराम श्रेष्ठले घनश्यामज् प्रोफेसनल गोल्डेन जुब्ली गल्फ च्याम्पियनसिपअन्तर्गत बिहीबार उपाधि जितेका छन्। सूर्य नेपाल गल्फ टुर २०१७–१८ अन्तर्गतको प्रतियोगितामा शिवरामले ७२ होलपछि १२ अन्डर २ सय ६० स्कोर गरेर उपाधि पक्का गरेका हुन्। उनले हिजो अन्तिम दिन तीन अन्डर ७१ अंक जोडेका थिए। शिवरामले ३७औं करिअरको उपाधि हासिल गर्नुका साथै पहिलो पुरस्कार ८५ हजार नगदसमेत प्राप्त गरे।

शिवरामकै भाइ जयराम श्रेष्ठले दोस्रो स्थान हात पारेका थिए। जयरामले २ ओभर ७० स्कोर गर्दै कूल ५ अन्डर २ सय ६७ स्कोर गर्दा च्याम्पियन शिवरामको सात स्ट्रोकको अग्रता भएको थियो। जयरामले ५८ हजार रुपियाँ प्राप्त गरे।

यसैगरी भुवन नगरकोटी कुल ४ अन्डर २ सय ६८ स्कोर गर्दै तेस्रो स्थानमा रहे। उनले अन्तिम दिन ३ ओभर ७१ अंक बनाएका थिए। उनले ४५ हजार नगद पकेटमा राखेका थिए। यस्तै सञ्जय लामा, दिनेश प्रजापति, रामे मगर, सूर्यप्रसाद शर्मा, दीपक मगर, रवि खड्का र धनबहादुर थापा क्रमशः चौथोदेखि दशौं स्थानमा रहेका थिए।

प्रतियोगिता नेपालका पहिलो प्रोफेसनल गल्फर घनश्याम थापाको करिअर ५०औं वर्षमा पुगेको अवसरमा आयोजना भएको थियो। थापाले २०२४ सालदेखि गल्फमा आफ्नो व्यावसायिक करिअर शुरूआत गरेका हुन्। प्रतियोगितामा ३२ प्रोफेसनल खेलाडीले सहभागिता जनाएका थिए। एमेच्योरतर्फ ९ खेलाडीले सहभागिता जनाउँदै छन्। एमेच्योर प्रतियोगिता शुक्रबार र शनिबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्