मायंका र प्रेरणा फाइनलमा



 

नेपाल समाचारपत्र
काठमाडौं
मायन्का राणा र प्रेरणा कोइराला ललितपुरमा जारी दोस्रो ललितपुर जिल्ला राष्ट्रिय खुला लन टेनिस प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन्।

प्रतियोगिताअन्तर्गत ललितपुरको सात दोबाटोस्थित टेनिस कम्प्लेक्समा बिहीबार भएको महिला सिंगल्सको सेमिफाइनल खेल जित्दै मायंका र प्रेरणाले फाइनलमा स्थान बनाएका हुन्। मायन्काले गंगा शर्मालाई ६–३, ७–५ ले हराउँदा प्रेरणाले पनि माहिका राणालाई ६–०, ६–१ ले पराजित गर्दै उपाधिका लागि भेट पक्का गरेका हुन्।

यस्तै महिला डबल्सको सेमीफाइनलमा मायंका राणा र माहिका राणाको जोडीले बिजिशा श्रेष्ठ र भगवती बिकेको जोडीलाई ६–०, ६–२ ले हराउँदै फाइनलमा स्थान पक्का गरे। योसँगै मायन्का र माहिकाको जोडीले शुक्रबार हुने महिला डब्लसको फाइनलमा अभिलाषा विष्ट र गंगा शर्माको जोडीसँग उपाधिका लागि खेल्नेछ। यसअघि महिला डबल्सकै दोस्रो सेमिफाइनलमा गंगा शर्मा र अभिलाषा विष्टको जोडीले सलोनी तामाङ र प्रेरणा कोइरालाको जोडीलाई ७–६, ६–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए।

प्रतियोगिताअन्तर्गत बिहीबारै भएको पुरुष सिंगल्सको क्वार्टरफाइनलमा जित हासिल गर्दै कमलबहादुर भण्डारी, प्रणव खनाल, प्रदीप खड्का र सन्तोष खत्रीले पनि सेमिफाइनलमा स्थान पक्का गरे। कमलले श्रीराम मगरलाई ६–१, ६–४ ले, प्रणवले गौरवजंग शाहीलाई ६–१, ६–२ ले, प्रदीपले सुव्रत वस्नेतलाई ६–२, ६–४ ले तथा सन्तोषले महेश श्रेष्ठलाई ६–३, ६–३ ले हराएका थिए।

यसैगरी पुरुष डबल्सको क्वार्टरफाइनलमा कमलबहादुर भण्डारी र महेश श्रेष्ठको जोडीले छेवाङ लामा र विजय श्रेष्ठको जोडीलाई ६–३, ६–१ ले हराउँदा श्रीराम मगर र प्रणव खनालको जोडी अन्तिम चारमा प्रवेश गर्यो।

प्रतिक्रिया दिनुहोस्