रक्सौलमै थन्किए मालवाहक सवारी साधन



 

कृष्णउदास खनाल, वीरगन्ज
एक सातायता रक्सौलबाट मालवाहक गाडी वीरगन्ज प्रवेशमा रोक लगाइएको छ। रक्सौलमा बढेको ट्राफिक जाम र दुर्घटनाको कारण राति ८ बजेदेखि ११ बजेसम्म मात्र मालवाहक गाडीलाई प्रवेश गर्न दिइएकाले मालवाहक सवारी साधन रक्सौलमै थन्किएका हुन्।

रक्सौलमा बढदै गएको सवारी दुर्घटनापछि रक्सौलबासी ट्राफिक व्यवस्थापनको लागि आन्दोलन गरेका थिए। भारतको अनुमण्डल पदाधिकारी, रक्सौलका डीएसपी राकेश कुमारले दिनमा रघुनाथपुरदेखि आइसीपीको बाटोमा मालवाहक गाडीलाई रोक्ने र रातिको समयमा छोडने निर्देशन जारी गरेका छन्।तर, यसरी नियम लगाउँदा नेपाल आउन लागेका मालवस्तुका आयातकर्ताहरू मर्कामा परेका छन्। वीरन्ंज केशव ओभरसिजका त्रिलोक दारूकाले यस्तो नियमले रक्सौलदेखि रघुनाथपुरसम्म गाडीको लाम लागेको बताउनुभयो। वीरगन्ज भन्सारका सूचना अधिकारी सन्तोष यादवले २–३ दिनयता एकदमै कम गाडी आएको बताउनुभयो। यसरी रातिको समयमा मात्र गाडी आयो भने वीरगंज भन्सारको राजस्व संकलन पनि प्रभावित हुने उनको अनुमान छ।
वीरगन्ज उद्योग वाणिज्य संघका सचिवालय सदस्य मनोज उपाध्यायले रक्सौल–वीरगन्ज आर्थिक शहरको रूट भएर २४सै घण्टा सहजरूपमा गाडी आउजाउ गर्ने वातावरण बनाउन जोड दिएका छन्।केही घण्टा मात्र नाकामा नेपाली गाडीहरूलाई प्रवेश गर्न दिएमा यसबाट दुवै देशको व्यापारमा नकारात्मक असर पर्न जान्छ। व्यापार प्रवद्र्धनमा ठूलो चुनौती थपिने भएकाले स्थानीय प्रशासनले जतिसक्दो चाँडो अर्को विकल्पमाथि छलफल गरी कार्यँन्वयन गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्