पवनको सांगीतिक फ्लाई सार्वजनिक



 

गायक पवन थिङको पहिलो गीति अडियो एल्बम फ्लाईको बुधबार राजधानीमा आयोजित कार्यक्रमका बीच लोकार्पण गरिएको छ। गायक प्रेमध्वज प्रधान, मंगोलियन हार्ट गायक राजु लामा, सोनाम वाङ्देन भुटियालगायतले एल्बमको विमोचन गरेका हुन्।

जिग्मे मिडिया प्रोडक्सनले बजार व्यवस्थापन गरेको एल्बममा ५ गीत छन्। विमोचित एल्बममा संगृहित सीमापारि बोलको गीतमा शब्द र स्वर पवन थिङको रहेको छ भने संगीत सुशन लामाको रहेको छ। त्यसै गरी वर्षाैंपछि, रिटिङमा रिटिङ, लेकैमा चर्ने र तिम्रो र मेरो बोलको गीतमा स्वर पवन थिङ तथा शब्द र संगीत सुशन लामाको रहेको छ।

कार्यक्रममा पासाङ लामाले निर्देशन गरेको सीमापारि बोलको गीतको म्युजिक भिडियो पनि रिलिज गरिएको थियो। भिडियोमा ऋचा शर्मा र स्वयं पवन थिङलाई देख्न सकिन्छ। कार्यक्रममै गायक थिङले एल्बममा रहेकामध्ये तीन गीत सुनाए। उनलाई संगीतकार सुशन लामाले गीतार बजाएर साथ दिएका थिए।

नवगायक थिङलाई बधाई दिँदै गायक राजु लामाले राम्रो एल्बम बनेको प्रतिक्रिया दिए। गायक प्रेमध्वज प्रधानले एल्बमको बारेमा टिप्पणी गर्दै भने– ‘मैले सुनेका तीनवटै गीतमा लोकलयको सम्मिश्रण पाएँ र यसमा नेपालीपनको मौलिकता पाइन्छ।’ पहिलोपटक स्टेजमा गीतार बजाएर गायनको शुरुआत गराएका गायक प्रधानले नवगायक पवन थिङको स्वरमा मिठास रहेको भन्दै शुभकामना पनि दिए।

प्रतिक्रिया दिनुहोस्