बजार अनुगमन निष्प्रभावी नबनोस्



चाडबाडका समयमा नियमनकारी निकायले बजार अनुगमनलाई तीव्रता दिने गरेको छ । तर पनि यो समयमा बजार झनै कालोबजारियाको नियन्त्रणमा हुने गरेको देखिन्छ । चाडपर्वको अवसरमा विशेष गरी व्यापारीहरुले अखाद्य वस्तु र गुणस्तरहीन सामान बिक्री गर्ने अनि खरिद मूल्यभन्दा अत्यधिक बढी मूल्य लिने गरेको पाइन्छ । विशेष अनुगमनका क्रममा हालै काठमाडौंको बानेश्वरस्थित एक फेन्सी पसलमा एक भेस्टको १ हजार ३ सय ४० रुपियाँ ट्याग राखिएको तर सो भेस्टको बिक्री बिलमा भने १ सय ४० रुपियाँ चढाएको पाइनुले नै व्यापारीले अत्यधिक मूल्य लिने गरेको स्पष्ट हुन्छ । सम्बन्धित निकायले बजार अनुगमनलाई तीव्र बनाएको भने पनि व्यापारीले उपभोक्तालाई सहज तरिकाले सेवा प्रवाह नगरेको उपभोक्ताको गुनासो छ ।

बजार प्रतिस्पर्धामा होइन ‘कार्टेलिङ’ र ‘सिन्डिकेट’मा चलेको छ । यसको प्रत्यक्ष मार उपभोक्ताले खेप्नुपरेको छ । नियमनकारी निकायहरुले कहीँ–कतै अनुगमन गरे पनि यसको प्रभावकारितामा बढोत्तरी हुन सकेको छैन । अनुगमन कार्य खाली देखावटीजस्तो मात्रै भएको छ । अनुगमनमा दोषी देखिएकालाई हदैसम्मको कारबाही गरेर उनीहरुलाई सार्वजनिक गर्ने हो भने कालोबजारीमा कमी आउने थियो र उपभोक्ता ठगिनबाट केही हदसम्म बच्ने थिए । सरकार यति उदासीन छ कि व्यापारीले गरेको करतुतको प्रमाण जनताले जुटाइदिनुपर्ने अरे ।

कालोबजारी भएको कुरा कहीँ–कतै उठाइयो भने उल्टै कहाँ छ त्यस्तो कालोबजारी, प्रमाण ल्याउनुस्, हामी कारबाही गर्छौं भनेर पन्सिने काम हुन्छ । प्रमाण जुटाइदिने काम उपभोक्ताको हो र ? उपभोक्ताले त सहयोग गर्ने मात्र हो । कुनचाहिँ उपभोक्ता सरकारलाई प्रमाण जुटाउने झन्झटतिर लाग्ला र ? बरु महँगो परे पनि अत्यावश्यक सामान जुटाउन उपभोक्ता बाध्य हुनुपर्ने अवस्था छ । त्यसैले अनुगमन कार्यलाई प्रभावकारी बनाएर दोषी प्रमाणित भएकाहरुलाई हदैसम्मको कारबाही गर्न सरकार पछि पर्नुहुँदैन ।

राज्यले नै नागरिकका अधिकारलाई संरक्षित र सुनिश्चित गर्नुपर्छ । कुनै नागरिकले कालोबजारी भएको गुनासो लिएर आयो भने त्यसको सम्बोधन औपचारिकतामा मात्र सीमित गरिनुहुँदैन । उसलाई वास्तविकरुपमा अनुभूति हुने गरी नै न्याय दिलाउनुपर्छ । साथै बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ । र, दोषी देखिएकालाई कडा कारबाही गरी फलाना–फलानालाई यस्तो कारबाही भयो भनेर सार्वजनिक गर्नुपर्छ । जबकि सो कारबाही भएको कुरा व्यापारी एवं उपभोक्ता सबैले थाहा पाऊन् ।

प्रतिक्रिया दिनुहोस्