निर्वाचनबाट नभाग्न ओली र प्रचण्डको आग्रह



 

काठमाडौं, (नेस)
प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन सार्ने बहाना नखोज्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आग्रह गर्नुभएको छ। प्रधानमन्त्री देउवाले सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरू हटाएर सरकार पुर्नगठन गर्ने गृहकार्य गरेकोप्रति असहमति जनाउँदै ओली र प्रचण्डले निर्वाचन आचारसंहिताविपरीत अगाडि नबढ्न प्रधानमन्त्री देउवालाई ध्यानकर्षण गराउनुभएको हो। बिहीबार प्रधानमन्त्री देउवालाई भेटेर ओली र प्रचण्डले निर्वाचन आचारसंहिताविपरीत मन्त्रिपरिषद् हेरफेर नगर्नसमेत पनि सुझाव दिनुभएको छ।

बैठकपछि नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले लामो समयदेखि प्रधानमन्त्रीले शीर्ष तहमा छलफल नगरेको र चुनावबाट भाग्ने बहाना खोजेको चर्चा चलेपछि तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गरेको बताउनुभयो।

उहाँका अनुसार जवाफमा प्रधानमन्त्री देउवाले मंसिर १० र २१ मा निर्धारित निर्वाचन कुनै हालतमा तलमाथि नहुने प्रतिबद्धता जनाउनुभएको थियो। देउवाले निर्वाचन आचारसंहिताको पालना गर्न सरकार प्रतिबद्ध रहेको विश्वास दिलाउँदै निर्वाचनको मिति परिवर्तन हुनेमा आशंका नगर्न पनि विश्वास दिलाउनुभएको थियो। तीन दलको छलफलमा ओली र प्रचण्डले सम्बन्धित दलको सिफारिसबिना मन्त्री हटाउन नपाउने संवैधानिक व्यवस्था रहेको ध्यानकर्षण गराउनुभएको थियो।

बैठकले आगामी मंसिर १० र २१ गतेका लागि तोकिएको निर्वाचन सोही मितिमै सम्पन्न गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री देउवाले निर्वाचन सार्ने तयारीमा सरकार रहेको भन्ने समाचार निराधार रहेको भन्दै कुनै हालतमा निर्वाचन सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको थियो। बैठकपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सभा निर्वाचन ऐन एकल संक्रमणकालीन आधारमा निर्वाचन गर्नुपर्ने प्रस्ताव आफूहरूले राखेको र एमालेले बहुमतीय आधारमा गर्नुपर्छ भन्ने धारणा राखेको बताउनुभयो। राष्ट्रिय सभा निर्वाचनसम्बन्धी ऐन बारे तीन दलका शीर्ष नेताको बैठक शुक्रबार बस्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्