दुई नयाँ राडार थपियो उडान थप सुरक्षित हुने



 

दीपेन्द्र थापा, काठमाडौं
हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा ललितपुरको भट्टेडाँडामा दुईवटा नयाँ राडार जडान गरिएको छ। देशका अधिकांश भूभागलाई समेट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ राडार जडान गरेपछि देशभरिको उडान थप सुरक्षित हुने भएको हो।

नयाँ राडार उपकरणको जडान कार्य सकिएपछि देशकै व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आवतजावत गर्ने सम्पूर्ण विमानको अवस्था जानकारी पाउन सहज हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

आगामी नोभेम्बर १६ र १८ मा संयुक्त राज्य अमेरिकाबाट फेडरल एभिएसन एड्मिनिस्ट्रेसनबाट जहाज ल्याएर नयाँ राडारको फ्लाइट क्यालिब्रेसन गरी नयाँ राडारको चेकजाँच पूरा भएपछि सञ्चालनमा आउने प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

भट्टेडाँडामा जडित ‘मोनोपल्स सेकन्डरी सर्भिलियन्स राडार’ले उडानलाई थप सुरक्षित बनाउन मद्दत गर्ने प्राधिकरणका उपमहानिर्देशकसमेत रहनुभएका श्रेष्ठको दाबी छ।

जापान सरकारको अन्तर्राष्ट्रिय नियोग जाइका एवम् प्राधिकरणको संयुक्त लगानी १ अर्ब रुपियाँको लागतमा ती दुई राडार जडान भएको हो। नयाँ जडित राडारबाट पूर्वको सबै भूभाग र पश्चिममा सुर्खेतसम्मको विमानको गति, उचाइलगायतको जानकारी पाउन सकिने प्राधिकरणको भनाइ छ।

राडार सञ्चालनमा आएपछि नेपालको कुल भूभागको करिब ७५ प्रतिशत क्षेत्र राडार कभरेजअन्तर्गत पर्ने प्राधिकरणका उपनिर्देशक तथा आयोजना प्रमुख सञ्जीवसिंह कठायतको बताउनुभयो।

कठायतले भन्नुभयो– ‘भट्टेडाँडामा जडान गरिएको नयाँ राडारबाट ४ सय ५० किलोमिटर (२ सय ५० नटिकल माइल)सम्मको जहाजको सम्पूर्ण जानकारी थाहा पाउन सकिन्छ। त्रिभुवन विमानस्थलको पुरानो राडारमार्फत् करिब १ सय १० किलोमिटर (६० नटिकल माइल) परको जहाजको अवस्था थाहा पाउन सकिन्थ्यो।’

नयाँ राडार सञ्चालनमा आएपछि उडिरहेका जहाजहरूबीचको दूरी घट्न जाने हुँदा सुरक्षाको दृष्टिले सुरक्षित र यसबाट हवाई उडान छिटोछरितो हुने निर्देशक कठायतले दाबी गर्नुभयो।

नयाँ राडार जडानसँगै ५ देखि ९ किलोमिटरको अन्तरमा राखेर विमानले उडान अवतरण गर्न सक्नेछन्। अहिलेसम्म २० देखि २८ किलोमिटर अन्तरको दूरी रहँदै आएको थियो। हाल राडारमार्फत उडानको अनुगमन सीमित भएकाले नेपाली आकाशभित्र उडिरहेका विमानको अवस्थिति थाहा पाउन कठिन हुने गरेको थियो।
सन् १९९२ को जुलाई र सेप्टेम्बर २ महिनाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आइरहेका दुईवटा अन्तर्राष्ट्रिय विमान दुर्घटना भएपछि त्रिभुवन विमानस्थलमा राडार राख्ने काम गरिएको थियो।
त्यसको ५ वर्षपछि सन् १९९७ मा पहिलोपटक नेपाली आकाशलाई सुरक्षित बनाउन राडार जडान गरिएको थियो। तत्कालीन समयमा जडान भएको राडार पुरानो हँुदै गएको र स्पेयर पार्टस् पनि बिग्रने अवस्थामा पुगिसकेकाले नयाँ राडार जडान गरिएको हो। पुरानो राडार त्रिभुवन विमानस्थलमा राखिएकाले रेन्ज कभरेज थोरै र खासै प्रभावकारी थिएन। भट्टेडाँडा त्रिभुवन विमानस्थलमा अवतरणका लागि आउने अन्तर्राष्ट्रिय उडानको अवतरण गर्ने बाटोमा पर्छ। भट्टेडाँडामा ८ हजार २ सय फिट (२ हजार ३ सय मिटर) उचाइमा उक्त नयाँ राडार जडान गरेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जडित दुवै राडार अहिले परीक्षणका क्रममा रहेको प्राधिकरणको भनाइ छ।

‘रेडियो डिटेक्सन् एन्ड रेन्जिङ’लाई छोटकरीमा राडार भनिन्छ। जसले रेडियो तरंगमार्फत विमानको अवस्थिति, उचाइ, गतिजस्ता जानकारी थाहा पाउन मद्दत गर्छ।

प्रतिक्रिया दिनुहोस्