९२ करोडमा जोरखाने स्टेडियम बन्ने



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल जोरखाने खेलकुद संघले कीर्तिपुरमा करिब ९२ करोड लागतमा बहुउद्देश्यीय स्टेडियम बनाउने भएको छ। बिहीबार नेपाल जोरखाने खेलकुद संघका अध्यक्ष सुरेन्द्र मानन्धर र अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघका अध्यक्षसमेत रहेका इरानका पूर्वउपराष्ट्रपति मोहसेन मिरालिजादेले आर्थिक सहयोगका विषयमा सम्झौतापत्रमा हस्ताक्षर गरे। कुल लागतको ७५ प्रतिशत महासंघ र बाँकी २५ प्रतिशत संघले व्यवस्था मिलाउने गरी सम्झौता भएको अध्यक्ष मानन्धरले पत्रकार सम्मेलनमा जानकारी गराए।

त्यसैगरी, अध्यक्ष मानन्धर र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जग्गा सम्बन्धमा सम्झौतापत्रमा पनि हस्ताक्षर गरे। कीर्तिपुर नगरपालिका वडा नम्बर १० मा संघलाई नगरपालिकाले १८ देखि २० रोपनी जग्गा स्टेडियम निर्माणका लागि उपलब्ध गराउने मेयर महर्जनले बताए। अध्यक्ष मानन्धरले चाँडै नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण कार्य थाल्ने बताउँदै ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए।

जोरखाने संघका महासचिव रवि घिमिरे स्टेडियम हातामा जोरखाने स्टेडियमसहित बहुउद्देश्यीय कभर्डहल, स्विमिङ पुल, आवास गृह, रेस्टुरेन्ट र जिम्नेजियम रहने जानकारी गराए।

दक्षिण एसियाली जोरखाने हुने
सोही कार्यक्रममा प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती पेहलवानी प्रतियोगिता शुक्रबारदेखि हुने जानकारी गराइयो। नेपाल जोरखाने खेलकुद संघले आयोजना गर्ने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान गरी ८ राष्ट्रका ८० खेलाडी सहभागी हुनेछन्।

जोरखानेमा ७ र कुस्तीमा ५ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। नेपालबाट सुमिर साह, मुकेशकुमार ठाकुर, कुन्दन साह तुराहा, रोहित महर्जन, रोजन महर्जन, राजु महर्जन र रोजित महर्जनले प्रतिस्पर्धा गर्नेछन्। दुईदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्