राणाकालीन दरबार भत्काइँदै



ईश्वरराज ढकाल, काठमाडौं
काठमाडौं महानगरको मुख्यालय रहेको बाघ दरबार भत्काइने भएको छ। ३ करोड २५ लाख रुपियाँमा सो दरबार भत्काउन लागिएको हो।

काठमाडौं महानगरपालिकामा आज शुक्रबार टेन्डर आह्वान गरी दरबार भत्काउने प्रक्रिया अगाडि बढाइने भएको छ।

पुरातत्त्व विभागले रेट्रोफिट गर्न अध्ययन गरिरहेका बेला महानगरले दरबार भत्काउन लागेको हो। दरबार भत्काएपछि त्यहाँको सम्पूर्ण सामग्री ठेकेदारले नै लैजाने भएको छ। महत्त्वपूर्ण सामग्री रहेको सो दरबारको पुरातात्त्विक सामग्री ठेकेदारलाई दिने भएपछि उक्त दरबारको पुरानो संरचना नै नष्ट हुने भएको छ। कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बाघ दरबारलाई भत्काएर पुरातत्त्वको मापदण्डअनुसार नयाँ भवन बनाउन लागिएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘अहिले भत्काउन लागेका हौं, त्यसपछि कसरी बनाउने भन्ने विषयमा निर्णय गर्नेछौं।’ प्रधानमन्त्री भीमसेन थापाको कार्यकालमा निर्माण भएको सो दरबार सन् १९०३ मा राणाहरूले कब्जा गरेका थिए।

पूर्वमुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह र उहाँको परिवारको जन्म भएको सो दरबारमा राणा प्रधानमन्त्री चन्द्र शमशेर बस्दै आएका थिए। चन्द्र शमशेरले सिंहदबार बनाएपछि बाघ दरबार छाडेका थिए।

विसं २०७२ सालको शक्तिशाली भूकम्पले क्षतिग्रस्त बनाएपछि कामपाका कार्यालय सो दरबारबाट सँगै जोडिएको भवनमा सारिएको छ। कामपामा कार्यालय राख्ने स्थान अभाव भएपछि एक वर्ष अघिदेखि एक दर्जन विभाग, महाशाखा र शाखा बाघ दरबारमै सारिएको थियो।

बाघ दरबारलाई भत्काउने भएपछि त्यहाँ रहेका कार्यालयहरूलाई जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा सारिने प्रशासन महाशाखा प्रमुख हरि कुँवरले बताउनुभयो। त्यस्तै सरकारले नारायणहिटी परिसरमा रहेको रणोद्दिप सिंहको दरबार र स्वर्गीय सरला शाह बस्नुभएको बम्बै चोकस्थित दरबार पनि भत्काउने भएको छ। नारायणहिटी संग्रहालयका प्रमुख रोहित ढुंगानाले केही दिनभित्रै दुवै दरबार भत्काउने तयारी भइरहेको जानकारी गराउनुभयो।

भूकम्पले क्षतिग्रस्त दरबारमध्ये बालुवाटारस्थित राष्ट्र बैंकको मुख्यालय रहेको सीता भवन, थापाथलीस्थित सिंह महल भत्काइएको छ। त्यस्तै एकाइले चन्द्र शमशेरको पालामा निर्मित हरिहर भवनसमेत भत्काउने भएको छ। केशर पुस्तकालय रहेको केशर महल, उपराष्ट्रपति कार्यालय र निर्वाचन आयोग रहेको बहादुर भवन, सिंहदरबारको पश्चिमी लङ, बबर महल, नक्सालस्थित बाल संगठन रहेको बालमन्दिर (सीतामहल), नेपाल प्रशासनिक प्रतिष्ठान रहेको जावलाखेल दरबारलाई रेट्रोफिट गर्ने तयारी गरेको पुरातत्त्व विभागले जनाएको छ।

नियोक्लासिकल दरबारलाई भत्काउनुभन्दा रेट्रोफिट गरेर जोगाउन सुझाव दिइरहेकै बेला सरकारले महत्त्वपूर्ण दरबार भत्काउन लागेको हो। नेपालकै धरोहरका रूपमा रहेको दरबार बनाउने विषयमा सरकारलाई चासो नभएको कारण अधिकांश राणाकालीन दरबार खतरामा परेको छ।

सरकारले भने रेक्टोफिट गरेर जोगाउनै नसक्ने दरबारलाई भत्काउन लागेको दाबी गरेको छ। पुरातत्त्व विभागका महानिर्देशक भेषनारयण दाहालले रेक्टोफिट गर्न सम्भव नभएका दरबारलाई भत्काउने तयारी भएको बताउनुभयो। भत्काएपछि पुरानै संरचनाअनुसार निर्माण गर्ने गरी ड्रइङ डिजाइन तयार गरेको उहाँको भनाइ थियो। सय वर्ष नाघेका अधिकांश दरबारहरू मास्न वा भत्काउन परे विभागको स्विकृत लिनुपर्छ।
भूकम्पले केशर शमशेरले निर्माण गरेका केशर महल, जंगबहादुरले बनाएका बबरमहल, हाल राष्ट्रबैंक थापाथली रहेको सिंह महल(थापाथली दरबार) चन्द्र शमशेरको हरिहरभवन, चन्द्र शमशेरले नै बनाएका पुल्चोक स्थित श्रीमहल, नेपाली सेनाको भैरवगण रहेको लक्ष्मी निवास, नारायणहिटी दरबार परिसरमा रहेको रणोद्धिप सिंहको दरबार, सिंहदरबारमा रहेको पुतली बगैंचा, राष्ट्रबैंक मुख्यालय रहेको सीता भवन, महांकालस्थित त्रिभुवनचन्द्र मिलिटरी अस्पताल, दरबार हाइस्कुललगायतका ऐतिहासिक दरबार क्षतिग्रस्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्