ओली र प्रचण्डलाई प्रधानमन्त्री देउवाको आश्वासन: ‘निर्वाचन सर्दैन ढुक्क हुनुस्’



नेपाल समाचारपत्र,काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति नसर्ने स्पष्ट परेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार भएको प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठकमा प्रधानमन्त्रीले कुनै पनि हालतमा चुनाव नसर्ने बताएका हुन् ।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त बैठकमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने विश्वास दिलाएका थिए ।

प्रधानमन्त्री देउवाले आचारसंहिताको पूर्ण पालना गर्न पनि सरकार तयार रहेको धारणा राखेको बैठक पछि एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले जानकारी दिए ।नेता नेपाले भने “प्रधानमन्त्रीले दुईवटा कुरामा आश्वस्त पार्नुभयो, चुनावको मिति सर्दैन । तपाईँहरु ढुक्क हुनुहोस् । अर्को कुरा सरकार निर्वाचन आचारसंहिता पालना गर्ने कुरामा गम्भीर छ । शंका गर्नुपर्दैन ।”

बैठकमा निर्वाचन आचारसंहिता विपरित मन्त्रिपरिषद हेरफेर नगर्न एमाले अध्यक्ष ओली र माओवादी केन्द्र अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई सल्लाह दिएका छन् । नेताहरुले सम्बन्धित दलको सिफारिस बिना मन्त्री हटाउन नपाउने संवैधानिक व्यवस्था रहेको प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका एमाले नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

बैठकले राष्ट्रिय सभा निर्वाचन विधेयकमा सहमति जुटाउने जिम्मेवारी प्रमुख तीन दलका शीर्ष नेतृत्वलाई दिएको छ ।

राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणको आधारमा तय गर्नुपर्ने सरकारको प्रस्तावमा प्रमुख प्रतिपक्ष एमालेको असहमति छ । सोही विषयमा सहमति जुटाउने जिम्मेवारी कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय गरिएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

राष्ट्रिय सभा निर्वाचनसम्बन्धी ऐनबारे तीन दलका शीर्ष नेताको बैठक शुक्रबार बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्