एमाले र माओवादीको अडानपछि संसदमा पेश भएन चिकित्सा शिक्षा विधेयक



नेपाल समाचारपत्र, काठमामडौ ।
काठमाडौं – संसदको आजको बैठकमा चिकित्सा शिक्षा विधेयक पेश भएन । बुधबार कार्यसूचिमा राखेर पनि पेश नभएको विधेयक आज एमाले र माओवादीको अडानका कारण पेश हुन नसकेको हो।

डा. गोविन्द केसीको माग अनुसार विधेयक पेश गर्ने तयारी भए पनि एमाले र माओवादीले आफु निकटका निजी कलेजलाई सहजै सम्बन्धन दिनसक्ने व्यवस्था राखेमात्र विधेयक अगाडि बढाउन दिने अडान लिएपछि संसदमा पेश हुन नसकेको हो ।

चिकित्सा शिक्षा विधेयक हाल अनसनमा बसेका डा गोविन्द केसीको सहमतिमा मात्र सदनमा ल्याउनुपर्ने दलहरुबीच सहमति भएको छ। डा. केसीले विधेयकलाई तोडमोड गरेर माफियामुखी बनाइएको भन्दै आमरण अनशन सुरु गरेका छन्।

डा. केसीले आफूले विगतमा दिएका सुझाव र माथेमा कार्यदलको प्रतिवेदन अनुसार विधेयक पारित हुनुपर्ने माग राखेका छन्।

यसअघि पनि असोज ९ गते विधेयक संसदको कार्यसूचीमा राखिएको थियो । सोही दिन डा. केसीले अनसन सुरु गरेपछि संसद २० गतेसम्मलाई स्थगित भएको थियो । संसद् स्थगित भएको र दशैं परेकाले डा. केसीले अनसन स्थगन गरेका थिए । तर, संसद् सुरु भएसँगै तोडमोड गरेर विधेयक पास गराउन लागेको भन्दै डा. केसीले १९ गतेबाट १३औं अनसन सुरु गरेका छन्।

प्रतिक्रिया दिनुहोस्