किन आउँछ अनुहारमा चाँया–पोतो ? यस्तो छ उपचार



बुनु थारु ।
निरा न्यौपाने आफ्नो मुहारमा आएको चाँया–पोतोबाट निकै चिन्तित थिइन् । २४ वर्षीया निराको चाँडै बिहे हुन लागेकाले उनमा झन् चिन्ता थपिएको थियो । विभिन्न ठाउँमा उपचार गरी केही सीप नलागेपछि अन्ततः उनी नेपाल–कोरिया स्किन हस्पिटल, काठमाडौंका छाला तथा यौनरोग विशेषज्ञ डा. सञ्जुबाबु श्रेष्ठको सम्पर्कमा पुगिन् ।

डा. श्रेष्ठका अनुसार उपचारका लागि सही ठाउँमा नपुग्दा उनको अनुहार झनै कुरुप देखिएको थियो । आफ्नो मुहार ऐनामा देखेर उदास भएकी उनी आत्महत्या गर्ने स्थितिसम्म पुगेकी थिइन् । डा. श्रेष्ठका अगाडि उनले भनिन्– ‘मेरो चाया–पोतो जसरी पनि हटाइदिनुप¥यो, यस्तो अनुहार लिएर मैले कसरी बिहे गर्नु ?’ यो काम डा. श्रेष्ठका लागि चुनौतीपूर्ण नै थियो ।

डा. श्रेष्ठ भन्छन्– ‘किनकि निराको बिहे नजिकिँदै थियो, बिहेसम्म उनलाई जसरी पनि राम्रो बन्नु थियो ।’ आखिर बिहे हुने दिनसम्म निराले राम्रो उपचार पाइन् । आफ्नो अनुहार चिटिक्क बनाइदिएको खुशीमा पछि उनी मिठाई पनि बाँड्न आएको डा. श्रेष्ठ स्मरण गर्छन् ।

यस्तै २८ वर्षीया सुशीला थापा एक गृहिणी हुन् । उनको बिहे भएको २ वर्ष पुग्न थाल्यो । करिब ७ महिनाअगाडि उनको गालामा कालो दाग देखियो । उनी समस्या समाधानको लागि घरनजिकैको ब्युटिपार्लरमा गइन् तर निको हुनुका साटो त्यो कालो दाग अझ गाढा बन्न पुग्यो ।

उनको मुहार नै कुरुप बन्यो । भरपर्दो चिकित्सकसँग सल्लाह नगरी जथाभावी अनुभवविहीन ब्युटिसियनहरुबाट कस्मेटिक प्रयोग गर्नाले अवस्था यस्तो हुन पुगेकोमा उनी पश्चात्ताप गर्छिन् । राम्रो जानकारी नहुँदा यसरी धेरै महिला चाया–पोतोबाट हैरान भएर उपचारका लागि भौंतारिरहेको पाइन्छ ।

यो यस्तो समस्या हो, जसलाई उपचार गरेर रोकथाम गर्न सकिन्छ तर पूर्णरुपमा हटाउन सकिँदैन । धेरै ठाउँमा उपचार गराएर हैरान भएकाहरु आफूकहाँ आइपुग्ने गरेको डा. सञ्जुबाबु बताउँछन् । आफूकहाँ आइपुग्दा जथाभावी उपचारले गर्दा कतिपयको अनुहार नै बिग्रिसकेको उनको अनुभव छ ।

के हो चाया–पोतो ?

सुन्दर र आकर्षक देखिने चाहना कसलाई नहोला र ? हामी सुन्दर रहन बजारमा पाइने अनेक थरी कस्मेटिक उत्पादनहरु प्रयोग गर्ने गर्छौं । तर थोरै मात्र सावधानी नअपनाए सुन्दर अनुहार कुरुप बन्न बेर लाग्दैन । अनुहारमा देखिने छालाको समस्यामध्ये कालोपोतो पनि एक हो ।

अनुहारमा आउने छायालाई चाया वा कालोपोतो भन्न सकिन्छ । यो हल्का वा गाढा पनि हुन्छ । डा. सञ्जुबाबु श्रेष्ठका अनुसार चाया–पोतोलाई मेलाज्मा भनिन्छ । पहिला यसलाई प्रेग्नेन्सी मार्कस् भनेर चिनिन्थ्यो । किनकि विशेष गरी गर्भवती भएको बेलामा चाया–पोतो आउँछ भनिन्थ्यो अनि महिलाहरुलाई मात्र आउँछ भन्ने आमबुझाइ पनि थियो ।

तर महिला र पुरुष दुवैमा यो समस्या देखिन सक्छ । यो समस्या हुनेहरुलाई गाला, निधार, माथिल्लो ओठ, नाकमा समेत हल्का खैरो–कालो रंगका धब्बाहरु देखा पर्दछ । यो २० वर्षभन्दा माथिको उमेरमा आउने समस्या हो । बेलैमा उपचार नगरे मुहार नै टाटेपाटे भई सौन्दर्यमा ह्रास आउँछ ।

धेरैजसो महिलामा देखिने चाया–पोतो दुवै गालाबाट शुरु भएर बटरफ्लाईको आकारमा वृद्धि हुँदै जान्छ । कहिलेकाहीँ यो नाक र आँखाको माथिल्लो भागमा समेत हुन्छ । आँखावरिपरि वा अनुहारमा कालोपोतो आउँदा सौन्दर्यलाई प्रत्यक्ष प्रभाव पार्छ । गोरो छालामा चाया–पोतो चाँडै नोटिस हुन्छ भने कालो छालामा त्यति देखिँदैन ।

किन आउँछ अनुहारमा चाया–पोतो ?

किशोरावस्थामा पुग्दा विशेष गरी केटीहरुलाई बढी नक्कल पार्न मन लाग्ने हुन्छ । सोझो अर्थमा भन्नुपर्दा राम्री हुन मन लाग्ने हुन्छ । अनि साथीहरुको लहै–लहैमा बजारमा पाइने विभिन्न सौन्दर्य प्रशाधनहरु लगाउनाले पछि त्यसले डण्डिफोर–दाग मात्र होइन, चाया–पोतोको जोखिम पनि बढाउने डा. सञ्जुबाबु श्रेष्ठ बताउँछन् ।

विज्ञापनमा विभिन्न कस्मेटिक उत्पादनको प्रयोग गरेर सुन्दर बनेको देखेपछि सोही गर्न खोज्ने चाहनाले पनि चाया–पोतोको समस्या आउन सक्छ । आफ्नो छाला कस्तो प्रकृतिको छ, त्यसमा ध्यान नराखी जे पायो त्यही प्रयोग गर्नाले छालामा नकारात्मक असर पर्छ ।

‘केमिकल प्रयोग गर्नु भनेको छालालाई बिगार्नु हो’, डा. सञ्जुबाबु भन्छन्– ‘आफ्नो छालाको हेरचाहमा सावधानी नपु¥याउँदा यस्तो समस्या भएका व्यक्तिहरु बढिरहेका छन् ।’ जानेर वा नजानेर विनासल्लाह सौन्दर्य प्रशाधनहरु प्रयोग गर्दा छालामा नकारात्मक परिवर्तन देखा पर्न सक्ने उहाँको भनाइ छ ।
छालामा हुने मेलामाइनको गडबडीले पनि यो समस्या हुन्छ ।

मेलामाइनले छालालाई प्राकृतिक रंग दिने काम गर्छ । यसमा गडबडी हुँदा छालाको प्राकृतिक रंगमा पनि गडबडी भई छाला नराम्रो देखिन्छ । डा. सञ्जुबाबु भन्छन्– ‘चाया–पोतो आउनुको मुख्य कारण सूर्यको किरण नै हो ।’ उनका अनुसार सूर्यको परावैजनी किरणले छालाको विभिन्न समस्या निम्त्याउन सक्छ । यसले छालालाई नकारात्मक असर पु¥याउँछ ।

घामको किरणले मात्र होइन बत्तीको प्रकाश, कम्प्युटर, मोबाइलको प्रकाशले पनि यो समस्या देखा पर्न सक्छ । अरुको देखासिकी गरी जथाभावी जानेर वा नजानेर विभिन्न कस्मेटिक उत्पादन प्रयोग गर्नाले पनि यो समस्या देखिएको छ ।

पेट, गर्भाशय, मूत्रनली, कलेजोको स्वास्थ्य समस्या भएमा र अलि लामो समय बिरामी भएमा पनि अनुहारमा कालोपोतो देखिन सक्छ । आयुर्वेद क्याम्पस, कीर्तिपुरका सह–प्राध्यापक डा. रामआधार यादवका अनुसार पित्त बढेर रगत दूषित भई अनुहारमा कालोपोतो देखिन्छ । रक्तअल्पता, प्रदूषण, हर्मोनल गडबडी, महिनावारी गडबडी, पेटको समस्या, कस्मेटिकको अत्यधिक उपयोग, खानपिनमा असन्तुलन आदिले चाया–पोतोको समस्या निम्तिने उनी बताउँछन् । अपर्याप्त निद्राले पनि यो समस्या देखिने गरेको पाइन्छ ।

त्यसै गरी तनाव लिने बानी, पानी कम पिउने, बढी घाममा रहने, चर्को बत्तीको प्रकाश छालामा परिरहने व्यक्तिमा यस्तो समस्या देखिने बताउँछन् डा. सञ्जुबाबु । उनका अनुसार जथाभावी सौन्दर्य प्रशाधनको प्रयोग, छालाको सरसफाइमा हेलचेक्र्याइँ, ब्लिच ह्वाइटनिङ क्रिमको बढी प्रयोग गर्नेहरुमा पनि कालोपोतो आउने सम्भावना अत्यधिक हुन्छ ।

हाल वातावरणीय प्रदूषणका कारणसमेत चाया–पोतोकोे समस्या देखिने गरेको हुँदा त्यसबाट बच्नुपर्ने डा. यादवको सुझाव छ । कब्जियतको समस्या भएका, कुपोषण भएका र विशेषतः चिल्लो छाला भएका व्यक्तिमा कालोपोतो बढी देखिने गरेको पाइएको छ । यस्तै पिल्स चक्की सेवन गर्ने र हर्मोनयुक्त अन्य औषधि सेवन गर्नेहरुमा हर्मोन गडबडी हुने हुँदा छालामा असर परी कालोपोतो आउने गरेको अनुभव डा. सञ्जुबाबु सुनाउँछन् । उनी भन्छन्– ‘त्यसैले उपचार गर्दा बिरामीको अनुहारमा के कारणले त्यस्तो भएको हो भनी पत्ता लगाएर मात्र उपचारको बाटो पहिल्याउनुपर्छ ।’ छालामा जटिल समस्या भएमा छालाको डाक्टरबाटै उचार गराउनुपर्ने उनी बताउँछन् ।

के छ त उपचार ?

कालोपोतो अर्थात् चायाको बेलैमा उपचार ग¥यो भने शतप्रतिशत निको हुन्छ । समस्या धेरै बल्झिएको छ भनेचाहिँ उपचार सफल हुन नसक्ने डा. सञ्जुबाबुको भनाइ छ । उनका अनुसार कतिपय चाया–पोतो उपचारले गएको छ तर सावधानी नअपनाउँदा फेरि बल्झिएको पनि छ । उपचारबाट पूर्णरुपमा निको हुने र फेरि आउँदै नआउने भन्ने धारणाचाहिँ गलत हो । यो समस्या हुनेहरुले केयर वा मेन्टेनेन्स नगरे त्यो फेरि आइछाड्छ ।

यसको उपचार विभिन्न पद्धतिले गर्न सकिन्छ । मुख्य कुरा भरपर्दो र विश्वसनीय हुनुप¥यो । यसको उपचार स्किन हस्पिटलका साथै अन्य हस्पिटल र क्लिनिकहरुमा पनि हुने गर्दछ । ब्युटिपार्लरमा पनि यसको उपचार हुने गरेको पाइन्छ । औषधिको प्रयोग, केमिकल पिलिङ र लेजर प्रविधिबाट पनि चाया–पोतोलाई हटाउन सकिने डा. सञ्जुबाबुको भनाइ छ ।

डा. रामआधार भन्नुहुन्छ– ‘एनिमियाका कारण चाया–पोतो आएको छ भने आइरनयुक्त खानामा जोड दिनुपर्छ । हार्मोनको गडबडी छ भने हर्मोनल सप्लिमेन्ट्स दिने गरिएको छ ।’ कतिपयको महिनावारी सुकिसकेपछि चाया जान पनि सक्छ । पहिला अनुहारमा चाया थियो तर अहिले छैन भन्नेहरु पनि भएको डा. सञ्जुबाबु बताउँछन् ।

फेसियल गर्नु प्रभावकारी उपाय

यदि ब्युटिपार्लरमा उपचार गराउने हो भने तालिमप्राप्त एवम् अनुभवी ब्युटिसियनद्वारा उपचार गराउनुपर्ने मेकओभर ब्युटिपार्लर, न्युरोडकी ब्युटिसियन सुनिता श्रेष्ठ बताउँछिन् । उनका अनुसार चाया–पोतो हटाउन फेसियल एकदमै प्रभावकारी हुन्छ । करिब ३ हप्ताको अन्तरालमा फेसियल गर्नुपर्छ । ८ देखि ९ पटकसम्म फेसियल गरेमा दाग पूरै निको हुने उनको दाबी छ ।

उनी भन्छिन्– ‘घामबाट डढेर आएको निको पार्न सक्छौँ तर बिरामी र औषधिको साइड इफेक्टका कारण आएको चाया–पोतोको उपचार गर्न गाह्रो हुन्छ ।’ फेसियल गरेको खर्च ब्युटिपार्लरअनुसार फरक–फरक हुने तर खासै महँगो नपर्ने उनको भनाइ छ ।

हेयर स्टाइलिस्ट तथा मेकअप आर्टिस्ट नील डेबिडका अनुसार पछिल्लो समय पुरुषहरुले पनि आफ्नो सौन्दर्यप्रति चासो देखाउन थालेका छन् । चाया–पोतोको समस्या लिएर आउने महिला हुन् वा पुरुष सबैलाई फेसियल गरी उनीहरुको चाया–पोतो हटाउने गरेको उनी बताउँछन् ।

सनब्लकको प्रयोग अनिवार्य

डा. सञ्जुबाबुका अनुसार खासगरी चाया–पोतो जाडो महिनामा बढी देखा पर्ने गरेको छ । यो समयमा सनब्लक लगाउनुपर्दैन भन्ने आमबुझाइ छ । त्यसैले धेरैजसोले जाडोमा सनब्लक लगाउँदैनन् । सनब्लक नलगाउँदा छाला डढेर कालो हुन्छ अनि चाया–पोतो देखिन थाल्छ । जाडोमा झनै सनब्लक लगाउनुपर्ने हुन्छ । किनकि हामी घाम ताप्न निस्केका हुन्छौं । घाममा मस्तले सेकिएर बस्छौँ । छाला जलेको पत्तै हुँदैन ।

छालाको प्रकृति हेरेर सनब्लक छान्नुपर्छ । गहुँगोरो छाला भएकालाई १५–३० एसपीएफ (सन प्रोटेक्सन फ्याक्टर) को सनब्लक लगाउँदा उपयुक्त हुने उनको सुझाव छ । जति धेरै एसपीएफ नम्बर भयो उति नै घामबाट बचाउँछ । जति एसपीएफ बढी हुन्छ त्यति नै महँगो पनि हुन्छ । ३ देखि ४ घण्टाको अन्तरालमा सनब्लक लगाउनुपर्छ ।

बाहिर ननस्किए पनि वा घाम नै नलागेको दिन भए पनि सनब्लक क्रिम लगाउन जरुरी छ । गर्मी महिनामा कम्तीमा शीतल छहारीमा त बसेका हुन्छौँ । जाडोको बेला होस् वा गर्मीको बेला, अनि जहाँसुकै बसे पनि सनब्लक लगाउन अनिवार्य छ । यदि घामबाट नबच्ने हो भने चाया–पोतोको उपचार गर्नु भनेको बालुवामा पानी खन्याएजस्तै हो ।

फेसप्याक र फेसवासको प्रयोग

चाया–पोतो हटाउन घरमै विभिन्न प्रकारका फेसप्याक बनाएर लगाउन सकिन्छ । फेसप्याकले दाग, खटिरा, फोहोर र मृतछालासमेत हटाउन मद्दत मिल्छ । तर यसका लागि दक्ष ब्युटिसियनको सहयोग लिनुपर्ने हुन्छ । ब्युटिसियनको सल्लाहअनुसार तयारी फेसप्याक पनि किन्न सकिन्छ ।

फेसवास प्रयोग गरेर पनि चाया–पोतो हटाउन सकिने डा. रामआधार बताउँछन् । दिनको दुईपटक फेसवास प्रयोग गर्नाले छालाको मृतकोशिका बिस्तारै हट्दै जान्छ । यसका लागि नीम फेसवास प्रयोग गर्न सल्लाह दिने गरेको उनी बताउँछन् । यस्तै मुसुरोको दाल, श्वेतचन्दन (श्रीखण्ड), रक्तचन्दन, कपुर, बेसार, मञ्जिष्ठाको मिश्रण गरेर घिउकुमारीको लेपमा मिलाई नियमित प्रयोग गर्नाले चाया–पोतो हट्दै जाने उनको दाबी छ । उनी भन्छन्– ‘यो लेप लगातार १ देखि २ महिनासम्म लगाउँदा पूरै निको हुन्छ ।’ शुद्ध तोरी, नरिवल, तिललगायतका तेलले अनुहारमा हल्का मालिस गर्दा पनि कालोपोतो आउने सम्भावना कम हुन्छ ।

घरेलु उपचार र बचावट

यदि सामान्य रुपले कालोपोतोको समस्या देखिएको हो भने यसलाई आफैंले घरेलु उपचार गरेर निको पार्न सकिन्छ । घिउकुमारीको गुदीलाई कालोपोतो–चाया देखिएको भागमा लगाउँदा लाभदायक हुन्छ । कसै–कसैलाई भने डन्डिफोरसँगै कालोपोतो देखिने समस्यासमेत रहने गरेको छ । यस्तो स्थितिमा भने मुलाको बीउको पेस्ट लगाउनु राम्रो हुन्छ भने सिमलको काँडा घोटेर लगाउँदा पनि डन्डिफोरसँगै कालोपोतोको समस्याबाट मुक्ति पाइन्छ ।

चाया–पोतो बाहिरी उपचारले मात्र नजाने भएकाले यसको लागि तनाव नलिन, सकेसम्म घामबाट बच्न, पानी धेरै पिउन सल्लाह दिन्छन् डा. रामआधार यादव । त्यस्तै गरी ताजा फलफूल, सागसब्जी, सन्तुलित खानाका साथै व्यायाम र सकारात्मक सोचाइले पनि यो समस्या न्यून हुने उनको भनाइ छ ।

पूरा बाहुला भएको लुगा लगाउने, ह्याट वा क्याप लगाउने, मास्क लगाउने गर्दा पनि केही हदसम्म घामबाट बच्न सकिने हुन्छ । साथै घाममा हिँड्दा छाता ओढ्न बिर्सिनुहुँदैन । आजकाल घामबाट बच्ने किसिमको कपडा पनि पाइन्छ । डा. सञ्जुबाबु भन्छन्– ‘सबसे बेस्ट त मैले बुर्का नै देख्छु । यसले होल बडी कभर हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्