मेसीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपमा



 

लन्डन, (एजेन्सी)
लियोनल मेसीको ह्याट्रिकको सहयोगमा दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिना आगामी वर्ष रसियामा हुने विश्वकपका लागि छनोट भएको छ।

विश्वकपका लागि दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–१ ले हराउँदै विश्वकपका लागि स्थान सुरक्षित गरेको हो। अर्जेन्टिनाको महत्त्वपूर्ण जितमा कप्तान मेसी नायक साबित बने। खेलमा मेसीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाको रसिया यात्रा सुनिश्चित बन्यो।

खेलमा शुरूआती अग्रता भने घरेलु टोली इक्वेडरले लिएको थियो। रोमारियो इबाराले खेलको पहिलो मिनेटमा गोल गर्दै विश्वकपमा छनोट हुन संघर्षरत अर्जेन्टिनालाई थप समस्यामा पारेका थिए। तर मेसीले १२औं मिनेटमा गोल फर्काउँदै अर्जेन्टिनालाई खेलमा फर्काएका थिए। बराबरी गोल गरेको आठ मिनेटपछि मेसीले नै व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफसम्म २–१ ले अघि पारेका थिए। यसैगरी मेसीले नै खेलको ६२औं मिनेटमा ह्याट्रिक पूरा गरेपछि अर्जेन्टिनाको गोल संख्या तीन पुग्यो। त्यसपछि भने खेलमा कुनै गोल भएन र अर्जेन्टिनाको जित सुनिश्चित बन्यो।

विश्वकपमा पुग्न अर्जेन्टिनालाई जितको नतिजा मात्र पर्याप्त बनेको थिएन। समूहको अन्य खेलबाट समेत अनुकूल नतिजा आफ्नो पक्षमा आएपछि अर्जेन्टिनाले छनोट चरण पार गर्न सफल भएको हो। जितसँगै अर्जेन्टिना २८ अंकका साथ तेस्रो स्थानमा उक्लेको थियो। अर्को खेलमा पेरु र कोलम्बियाले १–१ गोलको बराबरी खेलेपछि अर्जेन्टिनाको तेस्रो स्थान पक्का भएको थियो।

चिली बाहिरियो

समूहकै अर्को खेलमा यसअघि नै विश्वकपमा प्रवेश पाइसकेको ब्राजिलसँग ३–० ले हारेपछि चिली विश्वकपबाट बाहिरिएको छ। महत्त्वपूर्ण खेलमा ब्राजिलसँगको पराजय तथा समग्रमा पेरुसँग गोलअन्तरमा पछि परेपछि प्ले अफको मौकासमेत चिलीले गुमाएको थियो। शीर्ष स्थानको ब्राजिल, दोस्रो स्थानको उरुग्वे, तेस्रो स्थानको अर्जेन्टिना र चौथो स्थानको कोलम्बियाले स्वतः विश्वकपमा स्थान बनाए भने पेरुले प्लेअफमा ओसियाना राष्ट्र न्युजिल्यान्डको सामना गर्नेछ।

ब्राजिलको जितमा पाउलिन्होले खेलको ५५औं मिनेटमा पहिलो गोल गरेका थिए। यसैगरी म्यानचेस्टर सिटीबाट खेल्ने ब्राजिलका स्ट्राइकर गाब्रियल जिससले खेलको ५७औं र ९०औं मिनेटमा दुई गोलको योगदान गरेपछि चिलीको रसिया विश्वकप पुग्ने सपना तुहिएको हो। यस्तै समूहको दोस्रो स्थान ओगट्न उरुग्वेले पनि बोलिभियालाई ४–२ ले हराउन सफल भयो।

पोर्चुगल पनि रसियामा
अन्तिम खेल खेल्नुअगाडि प्लेअफकै सम्भावनामा रहेको पोर्चुगलले पनि विश्वकपको यात्रा सुनिश्चित गरेको छ। मंगलबार राति भएको खेलमा पोर्चुगलले स्विजरल्यान्डलाई २–० ले हराएपछि समूहको शीर्ष टोली हुँदै विश्वकपमा छनोट भयो। स्विजरल्यान्ड यो खेल खेल्नुअगाडि शीर्ष स्थानमा रहँदै स्वतः विश्वकप पुग्ने स्थितिमा थियो। तर यो हारपछि टोलीले प्लेअफ खेल्न बाध्य भएको छ। क्रिस्टियानो रोनाल्डोको टोलीको रसिया विश्वकप पाँचौं सहभागिता हुनेछ।

प्रतिक्रिया दिनुहोस्