अभिलाषा र गंगाको जोडी सेमीफाइनलमा



 

नेपाल समाचारपत्र
काठमाडौं
अभिलाषा विष्ट र गंगा शर्माको जोडी दोस्रो ललितपुर जिल्ला राष्ट्रिय खुला लन टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। महिला डबल्सअन्तर्गत बुधबार भएको खेलमा अभिलाषा र गंगाको जोडीले शुभांगी लक्ष्मी शाह र प्रकृति श्रेष्ठको जोडीलाई ६–०, ६–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। यस्तै पुरुष डब्लसको स्पर्धामा विजय श्रेष्ठ र छेवांग लामाको जोडीले मुक्ति गुरुङ र सुव्रत बस्नेतको जोडीलाई ७–६, ६–४ ले हराउँदा प्रदीप लामा र राज लामाको जोडीले आरभ हाडा र आर्यन्ग गिरीको जोडीलाई ६–१, ६–३ ले तथा सुनीत गिरी र जयजिभ गिरीको जोडीले गौरीशंकर श्रेष्ठ र राजेश छेत्रीको जोडीलाई ६–२, ६–३ ले पराजित गरे।

प्रतियोगिताको पुरुष सिंगल्सको प्रतिस्पर्धामा प्रदीप खड्काले विजय श्रेष्ठलाई ६–१, ६–१ ले हराउँदा सुव्रत बस्नेतले मुक्तिसेन गुरुङलाई ६–३, ७–५ ले तथा महेश श्रेष्ठले रोशन केसीलाई ६–१, ६–० ले पाखा लगाए। यसै गरी सन्तोष खत्रीले जयजिभ हाडालाई ६–१, ६–० ले हराउँदा कमल भण्डारीले आदित सुवेदीलाई ६–१, ६–० ले तथा श्रीराम मगरले मानबहादुर कटुवाललाई ६–१, ६–१ ले पराजित गरे। पुरुष सिंगल्सतर्फको अन्य खेलमा गौरवप्रताप शाहीले अभिनव आचार्यमाथि ६–०, ६–० को जित निकाल्दा प्रणव खनालले सीमान्त गुरुङलाई ६–२, ६–० ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन्।
प्रतियोगिताको महिला सिंगल्सअन्तर्गत भएको खेलमा गंगा महर्जनले बिजिशा श्रेष्ठलाई ६–३, ६–४ ले पराजित गर्दा प्रेरणा कोइरालाले भगवती बिकेलाई ६–३, ६–१ ले हराइन्। यसैगरी मायान्का राणाले शुभांगी लक्ष्मी शाहलाई ६–०, ६–१ ले तथा माहिका राणाले सलोनी तामाङलाई ६–१, ६–४ ले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरे।

प्रतिक्रिया दिनुहोस्