थाई समुद्री तटमा धुम्रपान प्रतिबन्धित



 

बैंकक, (एजेन्सी)
थाइल्यान्डले राष्ट्रभरिका समुद्री तटमा धुम्रपानमाथि प्रतिबन्ध लगाउने भएको छ। उक्त नयाँ कानुन उल्लंघन गर्ने व्यक्तिलाई अधिकतम एक वर्ष लामो कारावास सजाय हुने भएको छ। थाइल्यान्डको लोकप्रिय पर्यटकीय गन्तव्य फुकेटलगायत अन्य २० वटा समुद्री तटमा यो कानुन कार्यान्वयन गरिने भएको छ।

थाइल्यान्डको जलीय तथा तटीय स्रोत विभाग (डीएमसीआर)ले बालुवामा दसौं हजार चुरोटका ठुटो फेला परेको जनाएपछि यो कदम उठाइन लागेको हो। डीएमसीआरले तटीय क्षेत्रमा संकलन हुने फोहरको एक तिहाइ चुरोटको ठुटो हुने गरेको पनि जनाएको छ।

उक्त विभागका अध्यक्ष जुतुपोर्न बुरुस्पातले फुकेटको पातोंग समुद्री तटमा मात्र साढे दुई किलोमिटर दूरीबाट १ लाख ३८ हजार ठुटा भेटिएको बताएका छन्। साथै अबदेखि तटीय क्षेत्रमा पर्यटकहरूले अन्य फोहोर पनि तोकिएकै स्थानमा फाल्नुपर्ने भएको छ।

यो नियम तोड्नेलाई एक वर्षको कारवास वा ३ हजार अमेरिकी डलर जरिवाना गरिने बताइएको छ। यो प्रतिबन्ध आगामी महिनादेखि लागू हुने भएको छ। फुकेट, प्राचुआप, खिरी खान, छोन बुरी र सोन्ख्ला प्रान्तका समुद्री तटलगायत लोकप्रिय कोह सामुइ र पत्ताया रिसोर्टमा यो प्रतिबन्ध लागू हुने दि बैंकक पोस्टले जनाएको छ।

यदि यो अभियान सफल भएको खण्डमा यसलाई निरन्तरता दिइने बताइएको छ। बुरुस्पातले पर्यटकहरूले जहाजबाट फाल्ने चुरोटको ठुटाबारे पनि सोचविचार हुँदै गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्