टिलरसनलाई ट्रम्पको आईक्यू चुनौती



 

वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आईक्यूस्तर विदेश मन्त्री रेक्स टिलरसनभन्दा धेरै भएको बताएका छन्। उनले टिलरसनलाई आईक्यू टेस्टका लागि चुनौती पनि दिएका छन्।

यसअघि टिलरसनले राष्ट्रपति ट्रम्पमा परिपक्वता नरहेको संकेत गर्दै मूर्खको संज्ञा दिएको समाचार एनबीसीमा आएको थियो। ट्रम्पले यसअघि पनि आफ्नो आईक्यू लेभललाई लिएर बोलिसकेका छन्। सन् २०१३ मा उनले ट्विटमा आफ्नो आईक्यू लेभल बाराक ओबामा र जर्ज डब्ल्यु बुसको भन्दा धेरै भएको लेखेका थिए। यद्यपि उनले अहिलेसम्म आईक्यू अर्थात् इन्टेलिजेन्ट क्वसेन्ट स्तर कति छ भनेर बताएका छैनन्।

ट्रम्पले एनबीसी न्युजले दिएको उक्त समाचार झुठो भएको बताए। फोब्र्स अखबारलाई दिएको ताजा अन्तर्वार्तामा ट्रम्पले भने– ‘यदि टिलरसनले त्यस्तो बताएका हुन् भने हामीबीच आईक्यू परीक्षणको तुलना हुनुपर्छ र कसले जित्छ भन्ने कुरा म देखाइदिन्छु।’

टिलरसनले ट्रम्पलाई ‘मूर्ख’ आरोप लगाएको समाचार अक्टोबर ४ मा पहिलो पटक एनबीसी न्युजमा प्रकाशित भएको थियो। उत्तर कोरियाको मामिलामा टिलरसनको कूटनीतिक पहललाई लिएर ट्रम्पको नकारात्मक टिप्पणीपछि उक्त घटनाअगाडि आएको हो।

गत सेप्टेम्बर ३० मा बेइजिङमा चिनियाँ अधिकारीसँगको बैठकपछि टिलरसनले पत्रकार सम्मेलनमा किम जोङ उनको सत्तासँग वार्ताका माध्यमबाट तनाव मत्थर पार्नेमा अमेरिका आशावादी रहेको बताएका थिए।

त्यसको भोलिपल्ट ट्रम्पले ट्विटमा ‘ टिलरसनले लिटिल रकेट म्यानसँग वार्ता गर्ने प्रयास गरेर समय खेर फालिरहेको’ उल्लेख गरेका थिए। राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली तानासाहलाई ‘लिटिल रकेट म्यान’को उपनाममा सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्