“हामीले व्यापार गर्न जानेनौं” –वाणिज्य मन्त्री



 

नेपाल समाचारपत्र
काठमाडौं
वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले वार्षिक खर्बौँ रुपियाँ बराबरको व्यापार घाटा कम गर्न साना उद्योगका उत्पादनहरूलाई बजारीकरण गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभएको छ। मुलुकले व्यापार गर्न नै नजानेको भन्दै मन्त्री विश्वकर्माले घरेलु उत्पादनलाई उच्च गुणस्तरीय बनाएर अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनुपर्ने बताउनुभयो।

बढ्दो व्यापार घाटा कम गर्न र निर्यात बढाउन गर्न सकिने उपायबारे नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले यस्तो बताउनुभएको हो। आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम बनेका घरेलु तथा साना उद्योगको विकास र यिनका उत्पादनहरूको बजारीकरणका लागि सरकारले उच्च प्राथमिकताका साथ ध्यान दिएर अगाडि बढ्नुपर्ने उहाँको भनाई छ। छिट्टै नाफा कमाउने लोभमा कम गुणस्तरीय वस्तु उत्पादन गर्नेतर्फ लाग्दा नेपाली ब्राण्ड नै बिग्रिँदै गएको भन्दै मन्त्री विश्वकर्माले भन्नुभयो– ‘छिटो नाफा कमाउने लोभमा चिया, अदुवा, पश्मिना, सुपारीलगायतका ब्राण्डलाई छिमेकी मुलुकबाट ल्याएर निर्यात गर्ने प्रवृतिले बिगार्यो। धन्न अलैंची भने छिमेकी मुलुकमा नपाईने भएकाले बचेको छ।’

आर्थिक रूपान्तरण र समावेशी अर्थतन्त्र निर्माण का लागि पनि लघु, घरेलु, तथा साना उद्योगहरू फष्टाउन समय सुहाउँदो प्रविधि र सीपको विकास हुनुपर्नेमा पनि मन्त्री विश्वकर्माको जोड थियो। नेपालमा यस्ता फस्टाउनका लागि पहिलो शर्त गुणस्तर र त्यसपछि परिमाण भएको भन्दै मन्त्री विश्वकर्माले अब यस्ता उद्योगहरूलाई समूहगत रूपमा विकास गर्दै लैजानुपर्ने र हस्तकला, घरेलु उद्योग जस्ता विषयगत सहकारीको अवधारणा विकास गर्नुपर्ने धारणा राख्नुभयो।

वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले लघु तथा घरेलु उद्यमीलाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औंल्याउँदै लघु उद्योगको विकास गर्न सकेमा मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभयो। स्वदेशी मौलिक उत्पादनहरूलाई अन्तराष्ट्रिय बजारमा बजारीकरण गर्ने उद्देश्यका साथ वाणिज्य मन्त्रालयको स्थापना भएको भन्दै मन्त्री चन्दले घरेलु तथा साना उद्योगहरूलाई प्रर्वद्धन र विकास गर्ने मुख्य दायित्व मन्त्रालयको रहेको बताउनुभयो।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले घरेलु तथा साना उद्योगहरू नीतिगत प्रष्टताको अभावमा फष्टाउन नसकेको बताउनुभयो। यस्ता उद्योगहरू सञ्चालनमा रहेको जानकारी दिंदै उहाँले लघु घरेलु तथा साना उद्योगको विकासको पहिलो र अनिवार्य शर्त भनेको नीतिगत स्पष्टता भएकोमा जोड दिनुभयो। नीति निर्माण एक जीवन्त प्रक्रिया भएको भन्दै राजनीतिक परिवेश अनुरूप उद्योग सम्बन्धि नीतिहरू थप प्रष्ट एवम नियमित रूपमा परिमार्जित भई कार्यान्वयनमा आएमा मात्रै यस्ता उद्योगहरू आर्थिक रूपान्तरणको संवाहक हुन सक्ने बताउनुभयो।

हाल मुलुकमा साना तथा घरेलु उद्योगहरूहरूको संख्या कम हँुदै ३ लाख २० हजार उद्योगमध्ये अहिले एक लाख ९५ हजारको संख्यामा मात्र रहेका छन्। लगानीकर्ताहरूमा वित्तीय र प्रविधि पहुँच मुख्य चुनौतीको रूपमा रहेको छ। मुलुकका वाणिज्य तथा विकास बैंकहरूले ठूला लगानीमा रूचि देखाएपनि ग्रामीण क्षेत्रमा सञ्चालित लघुवित्तहरूले मात्र साना उद्योग स्थापना र गरिबी निवारणका लागि सघाउँदै आएका छन्। मुलुकको आर्थिक रूपान्तरणका लागि यस्ता उद्योगहरूलाई प्रविधि प्रयोग र क्षमताका हिसाबले प्रतिस्पर्धी, पुस्ता हस्तान्तरण र युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरूका विभिन्न किसिमका प्रविधि तथा उपकरणहरूको आविष्कार, खोज, अनुसन्धान र आविष्कारहरूलाई उद्योग विकाससँग जोड्नुपर्ने आवश्यकता व्यवसायीहरूले आँैल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्