अन्तर्राष्ट्रिय फुटबलबाट रोबेनको संन्यास



 

आम्र्सडाम, (एजेन्सी)
नेदरल्यान्ड्स तथा बायर्न म्युनिखका चर्चित स्ट्राइकर आर्यन रोबेनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको घोषणा गरेका छन्।
आगामी विश्वकपमा नेदरल्यान्ड्स छनोट हुन असफल भएपछि रोबेनले सो घोषणा गरेका हुन्। ३३ वर्षीय रोबेनले मंगलबार राति विश्वकप छनोटको अन्तिम खेलमा स्वीडेनलाई २–० ले पराजित गरे पनि टोली छनोट हुन असफल भएको थियो। उक्त खेलमा नेदरल्यान्ड्सका तर्फबाट दुवै गोल उनको नाममा रहेको थियो। उक्त खेल नै नेदरल्यान्ड्सका तर्फबाट उनको करियरको अन्तिम अन्तर्राष्ट्रिय म्याचसमेत बनेको छ।

रोबेनकै उच्च प्रदर्शनमा नेदरल्यान्ड्स सन् २०१० को फिफा विश्वकपमा फाइनलसम्म पुग्न सफल भएको थियो। जहाँ नेदरल्यान्ड्स स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएको थियो। नेदरल्यान्ड्स टिमको महत्त्वपूर्ण सदस्यका रूपमा रोबेनले तीन विश्वकप र तीन युरोकप खेलिसकेका छन्।

संन्यासको घोषणासँगै रोबेनले अन्तर्राष्ट्रिय फुटबललाई बिदा गर्ने यो उपयुक्त समय रहेको बताए। ‘अन्तर्राष्ट्रिय करियरबाट बिदा लिने यो उपयुक्त समय हो। मलाई थाहा थियो स्वीडेनविरुद्धको खेल मेरो अन्तिम अन्तर्राष्ट्रिय म्याच हो भनेर। नयाँ पुस्तालाई हस्तान्तरण गर्ने यो उपयुक्त समय पनि हो। मैले जितसहित आफ्नो अन्तर्राष्ट्रिय करियरलाई सुखद बिदाइ गरेको छु।’ रोबेनको १४ वर्षे अन्तर्राष्ट्रिय खेलजीवन उतारचढावपूर्ण बनेको थियो। रोबेनले ९६ अन्तर्राष्ट्रिय खेलबाट ३७ गोल गरेका छन् भने २९ गोलका लागि पास उपलब्ध गराएका छन्।

प्रतिक्रिया दिनुहोस्