निःशुल्क बालस्वास्थ्य शिविरबाट विपन्नलाई राहत



 

प्रकाश पन्त, छेप्का जाजरकोट
जाजरकोटको दुर्गम गाउँमा निःशुल्क बालस्वास्थ्य शिविर भएको छ। सदरमुकाम खलंगाबाट २५ किलोमिटर दूरीमा रहेको त्रिवेणी नलगाड नगरपालिका–२ डाँडागाउँको छेप्कामा निःशुल्क बालस्वास्थ्य शिविर सञ्चालन भएको हो।

लाइन्स क्लब अफ सुर्खेत सेरोफेरोको आर्थिक सहयोग तथा नेपाल बाल पोलिक्लिनिक सुर्खेतको प्राविधिक तथा औषधि सहयोगमा शिविर भएको हो। शिविरको समन्वय स्थानीय नगरिक कृषि तथा पशुपालन सहकारी संस्था र नलगाड सेवा समाजले गरेका हुन्। शिविरमा त्रिवेणी नलगाड नगरपालिका, वारेकोट गाउँ पालिका र छिमेकी जिल्ला रुकुमको आठवीसकोट नगरपालिकाका बालबालिकाले निःशुल्क उपचार सेवा पाएका छन्।

दुर्गम गाउँ छेप्कामा पहिलोपटक भएको निःशुल्क बाल शिविरबाट विशेषज्ञ सेवा पाउन नसकेका बालबालिका र अभिभावकले ठूलो राहत महशुस गरेका छन्। ७ महिनादेखि छोरा बिरामी परेर हैरान भएकी डाँडागाउँगढीकी कमला ओलीले छोराको मुटुमा समस्या रहेको थाहाँ भएको बताउनुभयो। शिविरको कारण छोराको रोग पत्ता लागेको भन्दै उहाँले तत्कालै थप उपचारको लिने बताउनुभयो। ‘छाती दुखीरहने समस्या थियो, डाक्टरले मुटुमा समस्या छ थप उपचारका लागि चाँडै बाहिर लैजान सुझाव दिनुभएको छ’, –उहाँले भन्नुभयो। गाउँमा डाक्टर नआएको भए रोग नै पत्ता लाग्ने थिएन, हामी त अहिलेसम्म धामीझाँक्रीकै विश्वासमा थियौं, अब चाँडै उपचारका लागि लिन्छु ओलीले उल्लेख गर्नुभयो।

शिविरमा मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत बालरोग विशेषज्ञ डा.नवराज केसीले २ सय जना बालिबालिकाको उपचार गर्नुभएको छ। शिविरमा आएका मध्ये ६ जना बालबालिकामा तत्कालै थप उपचार गर्नुपर्ने देखिएको छ। उपचारका लागि आएका बालबालिकामा कुषोषण, मुटुरोग, अपांगताजस्ता समस्या देखिएको छ। यस्तै उनीहरूमा रुघाखोकी, निमोनिया, कानको जालीमा समस्या पनि देखिएको डा. केसीले बताउनुभयो।

गम्भीर प्रकृति र अवस्थाका तर कमजोर आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित बालबालिकालाई थप उपचारका लागि सक्दो सहयोग र पहल गर्नेसमेत बालरोग विशेषज्ञ डा. नवराज केसीले उल्लेख गर्नुभयो। जाजरकोटलगायत विभिन्न जिल्लाका दुर्गम गाउँबस्तीमा पुगेर बालबालिकाहरूलाई निःशुल्क उपचार गर्दै आउनुभएका उहाँले दुर्गम गाउँ वस्तीमा धेरै बालबालिकाहरू विभिन्न खालका रोगबाट पीडित हँुदै आएकाले उनीहरूको उपचारका लागि राज्यले पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

शिविर आयोजक लाइन्स क्लब अफ सुर्खेत सेरोफेरोका अध्यक्ष युवराज पौडेलले दुर्गम गाउँवस्तीमा बालबालिकालाई घरदैलोमै विशेषज्ञ सेवा उपलब्ध गराउनका लागि बालशिविर आयोजना गरिएको बताउनुभयो। निःशुल्क शिविरबाट दुर्गम गाउँका बालाबालिकाको उपचारमा ठूलो सहयोग पुगेको उल्लेख गर्दै उहाँले गम्भिर प्रकृतिका बालरोगीलाई थप उपचारका लागि सहयोग जुटाउने पनि जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्