वन्यजन्तुपीडितलाई राहत



 

अनिल खत्री, गुल्मी
गुल्मीमा वन्यजन्तुबाट क्षति भएकाहरूले राहत पाएका छन्। बुधबार जिल्ला वन कार्यालय गुल्मीमा आयोजित एक समारोहका बीच जिल्लाका विभिन्न स्थानहरूमा बन्यजन्तुबाट मानवीय तथा चौपायाहरूमा भएका ४ जनालाई क्षतिपूर्तिस्वरुप राहत बितरण गरिएको हो। जिल्लामै पहिलोपटक वन्यजन्तुबाट क्षतिपूर्ति पाएका हुन्।

वन्यजन्तुबाट घाइते भएका मदाने गाउँपालिका वडा नम्बर ७ निवासी भरत पन्थी, गुल्मीदरबार गाउँपालिका वडा नम्बर ५ निवासी नरबहादुर खड्का ,सोही गाउँपालिका वडा नम्बर ६ निवासी ज्योति श्रेष्ठ, सोही निवासी संगीता खड्काले राहत पाएका हुन्। बँदेलबाट घाइते भएका भरत पन्थीले रु १ लाख पाएका छन्।

चितुवाबाट २ वटा बाख्रा क्षतिपूर्तिस्वरूप नरबहादुर खड्काले रु १९ हजार ५ सय, चितुवाबाट १ गाई र १ बाख्राको क्षतिपूर्तिस्वरूप ज्योति श्रेष्ठले रु २० हजार, चितुवाबाट १ वटा बाख्राको क्षतिपूर्तिबापत् संगीता खड्काले रु १० हजार राहत पाएकी छन्। राहत पाउने ४ जनालाई प्रमुख जिल्ला अधिकारी गोपाल अर्याल, जिल्ला वन अधिकृत विशाल घिमिरेले चेकमार्फत् हस्तातरण गरेका थिए।

बँदेलबाट घाइते पन्थी २०७३ साल चैत्र ३१ गते आफ्नै बारीमा धपाउने क्रममा घाइते भएका थिए। उनी बँदेल नभई दुम्सी भनेर धपाउने क्रममा उनीमाथि आक्रमण गर्दा गम्भीर घाइते भएका थिए। घाइते पन्थीलाई विभिन्न अस्पताल हुँदै काठमाडौंको वीर अस्पतालमा लामो उपचारपछि निको भएको थियो। अन्य ३ जनाको गत वर्षको भाद्र महिनामा चितुवाको अक्रमणबाट चौपायामा क्षति भएको थियो।
राहत हस्तातरण कार्यक्रममा बोल्दै प्रजिअ अर्यालले कुन वन्यजन्तुले कसरी आक्रमण गर्छ भन्ने मानिसमा चेतनाको अभाव रहेको बताए।

उनले कुन वन्यजन्तुले आक्रमण गर्छ, कसरी बच्ने जस्ता विषयमा सबैलाई जानकारी दिने व्यावस्था मिलाउन वन कार्यालयलाई आग्रह गरे। रातह लिँदै बँदेलबाट घाइते पन्थी भने घाइते अवस्थामै उपचारको क्रममा वन्यजन्तुबाट आक्रमणमा परेकाहरूले बिलहरूसँगै घटना खुल्ने कागजपत्र भए सरकारबाट राहत मिल्ने सुनेपछि आफूले निवेदन दिएको बताए। सरकारबाट मिलेको राहतले आफ्नो दुखेको घाउमा मलमका रूपमा काम गरेको बताए।

नेपालमा १४ वटा वन्यजन्तुले आक्रमण गरे क्षति पाउने व्यवस्था रहेको छ। क्षति पाउने वन्यजन्तुहरूमा हात्ती, गौंडा, बाघ, भालु, चितुवा, हिउँचितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, जंगली बंदेल, अर्ना, मगर गोही, अजिंगर, गौरीगाईलगायतका वन्यजन्तुबाट घाइते वा मृत्यु भएमा क्षति पाउने व्यवस्था रहेको छ। घटनाबाट क्षति लिन विभिन्न घटनाहरू प्रमाणित हुने कागजपत्र पेस गर्नुपर्ने व्यवस्था रहेको जिल्ला वन अधिकृत घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस्