शेयर बजारले तनाव भयो



उकालो–ओरालो भइरहने शेयर बजार केही समयदेखि ओरालो लागेर तनाव बनाएको छ। यस्तो अवस्थाले शेयर लगानीकर्तामा निराशा छाएको छ। वाम गठबन्धनपछि ओरालो लागेको बजार केही सुध्रेको संकेत देखिए पनि लगानीकर्तामा निराशा छाएको छ। सधैँ उकालो–ओरालोको टुंगो नहुने नेपालको शेयर बजार स्थिर भएको आजसम्मको रेकर्ड भएको मैले पाएको छैन। हुन त यो स्थिर हुने कुरा हैन, तर पनि उतारचढाव आवश्यकताभन्दा धेरै छ।

नेपालको शेयर बजारको सुधारमा नियामक निकाय सधैँ अवरोधको भूमिकामा रहेका कारण समस्या आएको प्रस्ट छ। शेयर बजारको सुधारका लागि थुप्रै नीति र योजनाहरू बने पनि कार्यान्वयन पक्ष गतिलो भएको पाइँदैन। तिनलाई कार्यान्वयन गर्ने निकाय नेपाल धितोपत्र बोर्ड कछुवाको तालमा अगाडि बढ्दा समस्या सिर्जना भएको छ। निकै सुस्त गतिमा धितोपत्र बोर्डले काम गर्दा समस्या सिर्जना भएको छ।

अहिले त नयाँ सीईओ पनि आइसकेको अवस्था छ। नेपालको धितोपत्र बजारलाई आधुनिकीकरण गर्न गैरआवासीय नेपालीहरूलाई दोस्रो बजारमा प्रवेश गराउने भनिए पनि त्यसअनुसारको काम अघि बढेको अझै पाइँदैन। यसमा अगाडि बढ्न नयाँ सीईओको भूमिका रामै्र होला भन्नेमा अलि–अलि आशावादी छौं। बजेट वक्तव्यमा समेत उल्लेख भएको कुरालाई व्यवहारमा लागू गराउन बोर्ड उदासीन भएको अवस्थामा अब केही सोच्न जरुरी छ। अनलाइन कारोबार प्रणालीलाई व्यवस्थि बनाएर नेप्सेको सफ्टवेयरसमेतको सुधार हुन जरुरी छ।

विश्वबजारमा आएका नवीनतम प्रविधिलाई उपयोग गर्नु अहिलेको टड्कारो आवश्यकता हो। सूचना प्रविधिको अधिकतम प्रयोग र उपयोग गर्न सकेमा बजार ओरालो लाग्ने सम्भावना कम हुन्छ। नेप्सेले अनलाइन सिस्टम व्यवस्थित गर्नु जरुरी छ। अनलाइन कारोबार प्रणाली लागू गरी लगानीकर्ताले दैनिकरूपमा शेयर दलालको कार्यालयमा धाइरहनुपर्ने समस्या दूर गराउनुपर्ने २१ औं शताब्दीको आवश्यकता हो। यसबाट शेयर किनबेच गर्न पनि सजिलो हुन्छ। देशको जुनसुकै भागबाट पनि इन्टरनेटको सहायताले मोबाइल वा ल्यापटपबाट पनि शेयर बजारमा दैनिक कारोबारमा सहभागी हुन सकिन्छ।

वाणिज्य बैंक र पर्याप्त पुँजी तथा पूर्वाधार भएका विकास बैंकलाई पनि शेयर दलालको लाइसेन्स दिनुपर्छ। यो भएमा सर्वसाधारणलाई राहत हुन्छ। नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई दोस्रो बजारमा बजार निर्माताका रुपमा भित्र्याउने घोषणालाई व्यवहारमा उतार्नुपर्छ। यो व्यवस्थाको थालनी गर्न ढिला गरेमा शेयर बजारमा झन् समस्या सिर्जना हुनेछ। अहिले शेयर बजार ओरालो लागेको भन्दै हतास नभएर यसको व्यवस्थापनमा ध्यान पुर्याउन पनि जरुरी छ।

– दयाराम दाहाल, जाजरकोट

फेरि आफैं काल बोलाउने काम हुँदै छ

भूकम्पले यति धेरै क्षति गरेर पनि हामीमा चेत खुलेको छैन। भूकम्पले विनाश गरेपछि मापदण्ड विपरीत अग्ला घर अहिले पनि बनिरहेका छन्। आफूले खनेको खाल्डोमा आफैं पर्ने गरी मूर्खतापूर्ण काम हामी आफैं गरिरहेका छौं। कानुनीरुपमा सरकारले भूकम्प प्रतिरोधात्मक घर बनाउन भने पनि व्यावहारिकरुपमा यसो भएको पाइएको छैन।
सरकारी निकायले बेलैमा नियमनकारी भूमिकामा आफ्नो तागत देखाउन जरुरी छ। बेलैमा सरकारले अनुगमन गरी बन्न लागेका भवनलाई चेतावनी दिएर थप सुरक्षाको व्यवस्था गर्न निर्देशन दिने र बनाउन लागेकालाई मापदण्डअनुसार नै बनाउन सरकारका सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ।

– सुशीला चौहान, बिर्तामोड

विदेश हैन, स्वदेशमै छ अवसर

देशको मुहार फेर्ने युवा दिनको २ हजारको हाराहारीमा बाहिरिएका छन्। युवा देशका कर्णधार हुन्, युवाका काँधमा मुलुक हाँक्न सक्ने जोश, जाँगर अनि क्षमता हुन्छ। सबै जोश, जाँगर विदेश चम्काउन खर्च गरेमा नेपालको अवस्था के हुने हो ? नेपाल विकासशील देश हो। यहाँ विकासका काम धरै गर्नुपर्नेछ। यस्तो अवस्थामा स्वदेशमै कामको सिर्जना गरेर सिर्जनाका शक्तिलाई बाहिर जानबाट रोक्नु जरुरी रहेको छ।

यहाँका अधिकांश युवा खाडी मुलुकमा पसिना बगाएर देशको अर्थतन्त्र धान्दै छन्। एकपटक वैदेशिक रोजगारमा गइसकेका युवा सकभर देशमै केही गर्ने मानसिकता लिएर फर्केका हुन्छन्। उचित अवसर र साधन–स्रोत नपाएर उनीहरु अहिले पनि निराश छन्। सरकारले बनाएको युवा मन्त्रालयले युवाको बारेमा काम गरेको पाइएको छैन। यो विषयमा सम्बन्धित निकायको ध्यान जाओस्।

– बबिता थापा, उदयपुर

सूचना दिन किन आनाकानी ?

मकवानपुर जिल्लाको हेटौंडा उप–महानगरपालिका वडा नं. ९, पशुपतिनगरमा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको म साधारण सदस्य हुँ। साधारण सदस्यको नाताले मैले यहाँका व्यवस्थापक महेश अधिकारीलाई सम्बोधन गरी मिति २०७४⁄०६⁄०९ गतेको दिन निवेदन दिएको थिएँ। निवेदनमा यस संस्थाको माइन्युटमा आजसम्म कार्यसमितिको बैठकहरु बसेको सम्पूर्ण सूचनाहरु प्रमाणित गरी पाऊँ भनी सूचनाहरु माग गरेको थिएँ।

व्यवस्थापक महेश अधिकारीले के भन्नुभयो भने, ‘कार्यसमितिसँग माइन्युट छ, मसँग माइन्युट छैन।’ उहाँले तपाईं भोलि २०७४⁄०६⁄१० गते १२ः०० बजे आउनुस् भन्नुभयो। सो दिन म सो सहकारी संस्थामा गएँ। त्यहाँ सो संस्थाका अध्यक्ष रामहरि न्यौपाने र व्यवस्थापक महेश अधिकारी दुवैजना हुनुहुन्थ्यो। उहाँहरुले निवेदन दिएकै छैन भनी झुटो बोल्नुभयो। मेरो कुरा सुनुवाइ नै भएन। यहाँ जे पनि हुन सक्ने र मैले सूचना नपाउने देखेर म चुपचाप हिँडे।

म नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सदस्यको नाताले मागेको सूचना पाउने मेरो हक हो र कार्यसमितिका बैठकहरुमा मेरो पनि उपस्थिति छ। यसकारण नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट मैले माग गरेका सूचनाहरु उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु।

– राकेशकुमार शर्मा, हेटौंडा उमनपा–२, मकवानपुर

प्रतिक्रिया दिनुहोस्