उम्मेदवार छान्न प्रधानमन्त्रीको नेतृत्वमा संसदीय समिति गठन



 

रामकृष्ण चापागाईं
काठमाडौं
आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार चयन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा १७ सदस्यीय संसदीय समिति गठन गरिएको छ। गत २० गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले संसदीय गठन गर्न सभापतिलाई अधिकार दिएको थियो।

संसदीय समितिले केन्द्रीय समितिको निर्णयअनुसार भोलि शुक्रबारसम्म प्रत्यक्ष तथा समानुपातिकतर्फका सबै उम्मेदवारको टुंगो लगाइसक्नुपर्नेछ। केन्द्रीय समितिले ठूलो भूगोलसहितका निर्वाचन क्षेत्र तथा अत्यन्त कम समयावधि भएका कारण असोज २७ गतेभित्र प्रदेशसभा र प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिकतर्फका सबै उम्मेदवारको नाम टुंगो लगाइसक्ने निर्णय गरेको थियो। संसदीय समितिमा सभापति देउवा, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य र चित्रलेखा यादव रहेका छन्।

विधानतः संसदीय समितिमा सभापति, महामन्त्री, उपसभापति, कोषाध्यक्ष र सह–महामन्त्रीबाहेक ८ जना सदस्य रहने भए पनि आन्तरिक भागवण्डा मिलाउन सभापति देउवाले विधानले तोकेभन्दा बढी सदस्य रहेको संसदिय समिति बनाउनुभएको छ।

विधानमा केन्द्रीय सभापति र महामन्त्री संसदीय समितिको पदेन सभापति र महामन्त्री हुने व्यवस्था छ भने उपसभापति, कोषाध्यक्ष र सहमहामन्त्री सदस्य रहने व्यवस्था छ। साथै, यो समितिमा केन्द्रीय सदस्यमध्ये बढीमा ८ जना सदस्य रहने व्यवस्था छ। संसदीय समितिमा संसदीय दलका नेता सदस्य रहने भनिएको छ। संसदीय दलका नेतामा स्वयं सभापति नै रहनुभएको छ।

विधानअनुसार संसदीय समितिमा बढीमा १४ जना सदस्य रहने भए पनि अहिले तीन पदाधिकारी मनोनित नभएको कारण बढीमा ११ सदस्यीय समिति बन्नुपर्नेमा भागवण्डा मिलाउनकै लागि सभापति देउवाले १७ सदस्यीय संसदीय समिति बनाउनुभएको हो। कांग्रेसभित्र प्रमुखरूपमा देउवा, पौडेल र सिटौलाका तीन गुट छन्। यसमा रहेका नेताको पनि छुट्टै उपगुट रहेको छ। पछिल्लो समय महामन्त्री डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइराला पनि छुट्टै गुट निर्माणमा सक्रिय रहेको बताइन्छ।

सभापति देउवानिकट भनिए पनि खुमबहादुर खड्काको पनि कांग्रेसभित्र छुट्टै गुट रहेको छ। प्रमुख दुई कम्युनिस्ट पार्टी एमाले र माओवादीले आगामी निर्वाचनमा चुनावी तालमेल गरी अघि बढ्ने सहमति गरेसँगै कांग्रेसलाई आन्तरिकरूपमा गुट उपगुटलाई छोडेर एक ढिक्का भएर अघि बढ्न दबाब बढेको छ।

सभापति देउवाले उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित नगरेकाले कांग्रेस पदाधिकारीमा अहिले सभापति, महामन्त्री र कोषाध्यक्ष मात्र छन्। सभापति देउवाले पदाधिकारीमा मनोनित गर्ने सम्भावित नेतालाई पनि संसदीय समितिमा राखेको बताइएको छ।

यसअघि सभापति देउवा विदेश जाँदा कार्यवाहक सभापतिको जिम्मेवारी पाएका विमलेन्द्र निधिलाई उपसभापति बनाउने चर्चा छ भने पूर्णबहादुर खड्कालाई महामन्त्री बनाउने चर्चा छ।

संसदीय समितिले केन्द्रीय कार्यसमितिद्वारा निर्धारित कार्यविधिअनुसार उम्मेदवार चयन गर्ने र कार्यसमितिमा पेस गर्नेछ भने केन्द्रीय कार्यसमितिले गरेको नीतिगत निर्णय र मापदण्डअनुसार पार्टीका तर्फबाट सरकारमा जाने मन्त्रीको नाम तय गर्ने कांग्रेस विधानमा उल्लेख छ।
स्थानीय निर्वाचनमा पनि उम्मेदवार चयन गर्ने अधिकार संसदीय समितिलाई दिएको भए पनि समयमै समिति गठन नगर्दा पदाधिकारीले उम्मेदवार चयन गरेका थिए।

प्रदेश नम्बर २ का केही जिल्लाबाहेक अधिकांश जिल्लाबाट उम्मेदवारका लागि नाम सिफारिस आएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। केही जिल्लाबाट भने सिफारिस गरिएका नाम आउने क्रम जारी छ। कांग्रेस केन्द्रीय कार्यसमितिले गाउँ, क्षेत्र जिल्ला हँुदै रायसहित उम्मेदवारको नाम असोज १७ गतेभित्र केन्द्रीय कार्यालयमा उपलब्ध गराउन निर्देशन दिएको भए पनि सिफारिस गरिएका नाम केन्द्रीय कार्यालयमा प्राप्त हुन ढिलाइ भएको हो।

 

प्रतिक्रिया दिनुहोस्