आँखाको नानी प्रत्यारोपण र संकलन कार्य सुरु



मेडिकल सिटीका रुपमा विकास हुँदै गएको चितवन जिल्लामा आँखाको नानी संकलन र प्रत्यारोपणको कार्य सुरु गरिएको छ। यहाँको भरतपुर आँखा अस्पतालले आँखाको नानी प्रत्यारोपण कार्य शुरु गरिसकेको छ भने संकलन कार्य यसै साताबाट शुरु गर्नका लागि आवश्यक तयारी गरिरहेको छ।

अस्पताल सञ्चालन गर्दै आएको नेपाल नेत्रज्योति संघ चितवनका कार्यवाहक अध्यक्ष कृष्णराज धरेलका अनुसार तिलगंगा आँखा अस्पताल काठमाडौँमा रहेको नेपाल आँखा बैंकसँग यहाँ संकलित आँखाको नानी राख्नका लागि सम्झौता भइसकेको छ। यहाँ संकलन गरिएका नानीलाई तत्काल काठमाडौँ पठाइनेछ भने प्रत्यारोपण गर्दा त्यहीबाट झिकाइने उनले बताए।

नानी प्रत्यारोपणका लागि अस्पतालले एक जना चिकित्सकलाई अरबिन्द आँखा अस्पताल तमिलनाडु भारत पठाएर आवश्यक जनशक्ति तयार गरिसकेको छ। अर्का एक प्राविधिक पनि तिलगंगा आँखा अस्पताल काठमाडौँमा आँखाको नानी झिक्नेसम्बन्धी तालीम लिएर आइसकेको धरेलले बताए।

नानी संकलनपछि अप्टिसोल मेडिया र कर्नीसोल मेडिया नामक रसायनमा राखेर काठमाडौँ पठाइनेछ। यसरी पठाउँदा नानी नबिग्रने धरेलले बताए।
नानी प्रत्यारोपणसम्बन्धी अध्ययन गरेर आएकी डा। पुष्पा गिरी श्रेष्ठका अनुसार उनी फर्किएपछि हालसम्म अस्पतालमा चार जनाको सफल नानी प्रत्यारोपण भइसकेको छ। आँखाको नानीमा चोटपटक लागेर, दाग देखिएर, फूलो परेर दृष्टि गुमेको अवस्थामा त्यस्ता व्यक्तिलाई आँखाको नानी प्रत्यारोपण गर्न सकिन्छ। रु ११ हजार लागतमा नानी फेर्न सकिने अस्पतालले जनाएको छ।

कुनै पनि व्यक्तिको मृत्यु भएको छ÷सात घण्टाभित्रमा आँखाको नानी निकाल्नसकेमा त्यसलाई उत्तम मानिने बताउँदै श्रेष्ठले १२ घण्टासम्ममा निकाल्न सकिने बताइन्। एचआइभी÷एड्स, हेपाटाइटिसजस्ता सरुवा रोग भएका व्यक्तिबाहेकको नानी संकलन गर्न सकिने उनको भनाई छ । रासस

प्रतिक्रिया दिनुहोस्