समाचार



अमेरिकामा नेम्पा अवार्ड
नेपाल चलचित्र संघले लामो समयदेखि स्थगित नेपाल मोसन पिक्चर (नेम्पा) अवार्ड अमेरिकामा आयोजना गर्ने भएको छ । अवार्ड कार्यक्रम अमेरिकाको डब्स इन्टरटेनमेन्टसँगको सहकार्यमा सेप्टेम्बरको दोस्रो साता डलासमा हुने भएको छ । त्यस अवसरमा अमेरिकामा रहेका नेपाली फिल्मकर्मी र फिल्मप्रेमीसँग अन्तरक्रिया गरिने कार्यक्रम पनि छ । यसै गरी नेम्पा फिल्म अवार्ड २०१८ केगरीराडटकम अस्ट्रेलियाको सहकार्यमा अस्ट्रेलियाको सिड्नीमा पनि हुनेछ । अवार्डमा ४४ फिल्म सहभागी हुने भएका छन् । संघका अध्यक्ष प्रदीपकुमार उदयका अनुसार अवार्डमा सहभागी १८ विधामा अवार्ड प्रदान गरिनेछ । नेम्पा अवार्डमा सर्वोत्कृष्ट फिल्म, निर्देशक, नायिका, नायक, सहनायक, सहनायिका, नवनायक, नवनायिका, खलपात्र, हास्य कलाकार, गीतकार, गायक, गायिका, संगीतकार, सम्पादक, लेखक, छायाकार र नृत्य निर्देशकको विधामा अवार्ड प्रदान गरिनेछ भने लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गरिनेछ ।

शोभित र सलोनको बाबुकान्छा
निर्माता, निर्देशक शोभित बस्नेतले ३ वर्षको अन्तरालपछि २९औं फिल्मका रूपमा बाबुकान्छाको निर्माण कार्य शुरू गरेका छन् । फिल्ममा शोभितको निर्देशनमा उनका नायकपुत्र सलोन बस्नेतले पहिलोपटक अभिनय गर्दै छन् । सलोन बाबुकान्छाको शीर्ष भूमिकामा देखिनेछन् भने उनीसँगै रितिक शाही, करिश्मा श्रेष्ठ, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, सम्राट् सापकोटा, लय संग्रौला, गीता अधिकारी, सुशान्त श्रेष्ठलगायत प्रमुख भूमिकामा हुनेछन् । अश्लिन ज्ञवाली र ज्योत्सना महर्जन यसमा नायिकाका रूपमा डेब्यु गर्दै छन् ।

सलोन फिल्मस्को ब्यानरमा सलिना बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, टंक बुढाथोकी र अल्मोडाको संगीत तथा बाबु श्रेष्ठको छायांकन रहनेछ ।

गीतकार गजमेरको निधन
पिरती आफैं हुँदो रैछ, वीरताको चिनो वीरको सन्तान, माया के होलाजस्ता दर्जनौं कालजयी र लोकप्रिय गीतहरूकी सर्जक कुसुम गजमेरको निधन भएको छ ।कलेजोको समस्यासँग जुध्दै आएकी उनको उपचारका क्रममा भारतको मुम्बईमा निधन भएको हो । उनले धेरैजसो आफ्नो निर्माता, निर्देशक तथा अभिनेता ज्वाइँ तुलसी घिमिरेका फिल्मका लागि गीत लेखेकी थिइन् । अन्याय, कुसुमे रुमाल, चिनो, लाहुरे, बेहुली, बाँसुरी, दुई थोपा आँसु, दक्षिणा, दर्पणछायाजस्ता फिल्मका लागि दर्जनौं गीत लेख्दै आएकी थिइन् । उनीद्वारा रचित के सोचें मैले के भयो अहिले, चियाबारीमा हो चिया बारीमा, कसरी भनुँ म मनको कुरा यो, झझल्को लिएर आएछ सावन, मोहनी लाग्ला है, रेली खोला बगर काफल पाक्यो लहर, यो मुटुलाई कसरी सम्झाई बुझाऊँलगायतका दर्जनौं गीतहरू अहिले पनि रुचाइएका गीतमा पर्छन् ।

२००२ साल असोजमा भारतको दार्जिलिङमा जन्मिएकी कुसुम ७३ वर्षकी थिइन् । उनी ख्यातिप्राप्त संगीतकार रनजित गजमेरकी पत्नी, अभिनेत्री तथा गीतकार भारती घिमिरेकी आमा र निर्देशक तुलसी घिमिरेको सासू हुन्। उनको दुई छोरी र एक छोरा छन् ।

निखिलको कमिटमेन्ट
नायक निखिल उप्रेतीको निर्देशन तथा बलिउड र नेपाली कलाकारहरूको संलग्नतामा निर्माणाधीन फिल्म कमिटमेन्टः सिक्स्टी आवर्सको धमाधम छायांकन भइरहेको छ । निखिलले नेपालीका साथमा हिन्दी र अंग्रेजी भाषा मिश्रित फिल्म कमिटमेन्टः सिक्स्टी आवर्सको निर्माण गरेका हुन् । फिल्ममा बलिउडका रञ्जित, म्यान्सी, सयाजी सिन्दे, अनन्त जोग, अली जफरका साथमा विजय लामा प्रमुख भूमिकामा छन् भने निखिल केन्द्रीय भूमिकामा छन् । नेपालसँगै भारत, अमेरिका, थाइल्यान्ड र सिंगापुरको सुटिङ सेड्युल बनाइएको यो एक्सन फिल्मको बजेट साढे २ करोडदेखि ३ करोडसम्म हुने निखिलले जानकारी गराए । उनका अनुसार फिल्ममा ७० प्रतिशत हिन्दी, २० प्रतिशत नेपाली र १० प्रतिशत अंग्रेजी भाषा प्रयोग हुनेछ । फिल्मको रिलिज नेपाल र अन्य देशसँगै भारतमा पनि व्यापकरूपमा हुने समेत निखिलले जानकारी गराए ।

सुपरहिट फिल्म भैरवबाट निर्देशनमा डेब्यु गरेका निखलको निर्देशनमा निर्माणाधीन यो दोस्रो फिल्म भारतको प्रामा इन्स्टुमेन्टसले निर्माण गरिरहेको छ । जसमा निखिलको होम प्रोडक्सन निखिल उप्रेती प्रोडक्सनले निर्माणमा सहकार्य गरिरहेको छ । फिल्ममा फाइट डिजाइन निखिल स्वयंले गरिरहेका छन् भने लेखन पनि उनकै छ । फिल्ममा गीत डा. कृष्णहरि बराल, संगीत एडिन प्रधान, द्वन्द्व हिमाल केसी र छायांकन सौरभ लामाको रहेको छ ।

धुर्मुस सुन्तली नमुना नेपाल परियोजना

हास्य कलाकार दम्पत्ती सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले राजधानीमा नेपालभित्रै नमुना नेपाल बनाउने भएका छन् । २ वर्षअगाडि गएको प्रलयकारी भूकम्पछि राज्यसमेत अलमलिरहेका बेला ३ ठूला एकीकृत बस्तीहरू काभ्रेको डाँडागाउँमा एकीकृत पहरी बस्ती, सिन्धुपाल्चोकको गिराञ्चौरमा गिराञ्चौर एकीकृत बस्ती र महोत्तरीको बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती निर्माण गरेर राष्ट्रिय नायक सावित भएका सीताराम कुञ्जनाले फेरि पनि नेपाललाई विश्वमा चिनाउने परियोजनास्वरूप नमुना नेपाल निर्माण गर्ने घोषणा गरेका छन् ।

सीतारामले यो परियोजनाका लागि ५ अर्ब लाग्ने र प्रत्येक नेपालीले २ सय रुपियाँ सहयोग गरे यथेष्ट हुने बताए । ‘प्रत्येक नेपालीले मात्र २ सय रुपियाँ प्रतिव्यक्ति सहायता गर्दा पनि ६ अर्ब जुट्दो रहेछ, हाम्रो त अनुमानित बजेट त मात्र ५ अर्ब । प्रत्येक विदेशी भूमिमा दुःख गरिरहनुभएका नेपालीले प्रति व्यक्ति २ हजार नै सहायता गर्दा पनि ८⁄९ अर्ब रकम जुट्दो रहेछ । यसरी नै रकम जुटाउन सकिन्छ भनेर पनि हो हामीले नमुना नेपालको आँट गरेका हौँ’ –सीतारमले भने । यो परियोजनमा स्वयम्भुनाथ, पशुपति, मुक्तिनाथ, जानकी मन्दिर, चर्च, मस्जिदजस्ता भिन्नभिन्न धर्म संस्कृतिका केन्द्र, पूर्ण नेपालको पहिचान झल्कने, विशाल राष्ट्रिय संग्रहालय, भूकम्पले भत्काएको धरहराको सम्झनामा आकर्षक भ्यु टावर, हिमाल पहाड र तराई जोड्ने मनोरञ्जनात्मक रेल सेवा, खेलमैदान, विद्यालय, रगंशाला, नेपालको संग्रहालय, सामुदायिक भवन, अतिथि गृह, चमेना गृह, अध्ययन अवलोकन पर्यटन र मनोरञ्जनको केन्द्र रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्