प्रियंकाद्वारा खुलमखुला चुम्बन गरेर प्रेम प्रदर्शन



 

पांचौं संस्करणको एनएफडीसी नेसनल फिल्म अवार्ड २०७३ मा यसपालि कहिल्यै नदेखिएको दृश्य देखियो । नायिका प्रियंका कार्की र नवनायक आयुष्मान देशराजबीच प्रेम छ भन्ने त सबैतिर चर्चा थियो नै, यो प्रेम जोडीले अवार्ड समारोहमै एक–अर्काबीच चुम्बन साटासाट गरेर पुष्टि मात्रै गरिदिएनन्, सार्वजनिकस्थलमा खुलमखुला के गर्न हुन्छ के गर्न हुँदैन भन्ने अर्को नयाँ बहसको समेत सुरुआत गरिदिए ।

कार्यक्रम शुरू हुनुअघिदेखि नै प्रियंका आफ्नी आमा र आयुष्मान आफ्ना बैंकर्स आमा रविना देशराजसँगै एकै लहरमा बसेका थिए । प्रियंका र आयुष्मानबीच त संवाद चलिरहेकै थियो, उनीहरूका आमाहरूबीच पनि कुराकानी भइरहेको थियो । कार्यक्रम जारी रहेकै बेला आयुष्मानले आयोजकले बाहिर लबीमा व्यवस्था गरेको चिया दुवैको आमाका साथ प्रियंकालाई पनि मगाए ।

सबैले सँगै बसेर चिया पिए । जब प्रियंका नृत्य प्रस्तुत गर्न मञ्चमा उक्लिइन्, आयुष्मानले खल्तीबाट मोबाइल झिकेर उनको भिडियो खिचे । प्रियंका फर्केर आई फेरि आयुष्मानसँगै बसिन् । बेला आयो नवनायक विधाको अवार्डको, जसमा नाम आयो आयुष्मानको । आयुष्मान जब अवार्ड लिएर फर्के, प्रियंकाले उनलाई चुमिन् । अब पालो थियो आयुष्मानको । प्रियंकाले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड लिएर आएपछि उनले पनि प्रियंकालाई चुमिदिए । सबै क्यामरा उनीहरूतिरै तेस्रियो । त्यही बेला प्रियंकाले आफ्नो र आयुष्मानको आमा तथा भरिभराउ कलाकर्मीका बीच आयुष्मानको अधरमा चुम्बन गरिदिइन् । कोही मुस्कुराए, कसैले जिब्रो टोके । सामाजिक सञ्जालमा अनेकथरी टिप्पणी भए । तर प्रियंका भने प्रेम प्रकट गरेको स्पष्टीकरण दिइरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्