खाँचो व्यावसायिक सफल फिल्मको



 

प्रविधिको विकास र पहुँचसँगै नेपाली फिल्मको निर्माण र प्रदर्शनले पनि गति लिन थालेको छ । डिजिटल प्रविधिका कारण सर्भरका माध्यमले एकसाथ देशभरि फिल्म प्रदर्शन गर्न सम्भव भएकाले यसको निर्माण र प्रदर्शनको विस्तार भएको छ । जसका कारण वर्षेनी झन्डै एक सयको हाराहारीमा फिल्म निर्माण हुन थालेका छन् ।

कुनै बेला वर्षको एउटा फिल्म निर्माण हुन नसक्ने फिल्म क्षेत्रमा अहिले आएर वार्षिकरुपमै झन्डै एक सयको हाराहारीमा फिल्म बन्नु भनेको यो क्षेत्रका लागि मात्र नभई राष्ट्रका लागि पनि राम्रो पक्ष हो । किनभने एउटा फिल्म निर्माण हुँदा त्यसमा संलग्न कलाकार र प्राविधिकले मात्र आफ्नो सीप र दक्षता प्रदर्शन गर्ने मौका पाउँदैनन्, प्रत्यक्ष वा परोक्षरुपमा सयौंका लागि जीवनयापनको माध्यम बन्न पुग्दछ । जसका कारण कतिपयको परिवार पाल्न त सहज हुन्छ नै, राज्यले पनि विभिन्न नाममा कर प्राप्त गर्दछ । यसरी सरकारी तवरबाट शुरु भएको निर्माण यात्राले फिल्म क्षेत्रलाई अहिलेसम्म आइपुग्दा उद्योगको रुप पाइसकेको छ । सरकार वा राज्यले उद्योगको मान्यता नदिए पनि वर्षेनी झन्डै अर्बको लगानी हुने यो क्षेत्र अरु कुनै उद्योगभन्दा कमचाहिँ छैन ।

नेपाली फिल्म क्षेत्रको विस्तार हुनु र यसको आकार फैलँदै जानु पक्कै पनि सुखद पक्ष हो । तर दुःखद पक्ष पनि यसमा मिसिएकै छ । दुःखद पक्षचाहिँ के भने वर्षेनी एक सयको हाराहारीमा फिल्म निर्माण हुने यो क्षेत्रले लगानीबाट मुनाफा कमाउनुको साटो कतिपय अवस्थामा गुमाइरहेको छ । वर्षको एक सयको हाराहारीमा फिल्म निर्माण भइरहँदा कमाइ गर्ने फिल्मको सूची भने हातका औंलाको आकारमा खुम्चिइरहेको छ । अवश्य पनि कुनै पनि देशका शतप्रतिशत फिल्म नाफा कमाउँदैनन्, निर्माण भएजति फिल्मले व्यावसायिक सफलता प्राप्त गर्न सक्दैनन् । तर यसो भन्दैमा १० प्रतिशत फिल्मले पनि यथेष्ठ कमाइ गर्न नसक्नु भनेको एउटा नमीठो असफलता हो । अथवा थोरै फिल्मले मात्र कमाइ गर्न सक्षम हुनु भनेको मीठो असफलता हो ।

निर्माण भएका सबै फिल्मले मुनाफा कमाउनैपर्छ भन्ने छैन । बजारमा आएका सबै फिल्मले नाफा कमाउन सम्भव पनि छैन । तर कम्तीमा लगानी फिर्ताको ग्यारेन्टीचाहिँ अवश्य हुनुपर्छ । फिल्म निर्माणको व्यवसायबाट फाइदा नभए पनि घाटा नहोस् भन्नेतिर निर्माणताकादेखि नै सम्बन्धित सबै पक्ष चनाखो हुनुपर्छ । त्यसो भए मात्र यो क्षेत्रप्रतिको आकर्षण कायम रहनेछ । यो भएको खण्डमा व्यावसायिक रुपमा सफल फिल्मको प्रतिशत वृद्धि हुन सक्छ ।

यसका लागि फिल्म निर्माण र व्यवसायसँग सम्बन्धित पक्षहरुदेखि लिएर कलाकार, लेखक, प्राविधिक सबैले फिल्मको निर्माण हुनअगावै गहिरो अध्ययन, गृहकार्य र अभ्यास गर्न जरुरी छ । अरुले भनेकै लहलहैमा लागेर यो क्षेत्रमा फाल हाल्नुको परिणाम कसैका लागि पनि सुखद हुन सक्दैन । गहनतापूर्वक यो क्षेत्र तथा नेपाली फिल्मको बजार र दर्शकको चाहनालाई बुझेर, समेटेर फिल्म निर्माण गरिए यसले पनि नेपालभित्रैबाट ठूलो आम्दानी गराउन सक्छ भन्ने तथ्य पछिल्ला केही फिल्मको व्यापारबाट देखिइसकेको छ । तसर्थ फिल्म बजारबाट उत्रिसकेपछि पछुताउनुभन्दा पनि यस क्षेत्रका बारेमा इति वृत्ति सम्पूर्ण जानकारी हासिल गरेर मात्र फिल्म निर्माणमा हात हाल्नु सबैका लागि श्रेयष्कर सावित हुनेछ । अन्यथा फिल्मको संख्या बढाउनुको कुनै अर्थ छैन । व्यापार व्यवसाय बिग्रिसकेपछि कसैलाई दोष दिनुको वा पछुताउनुको पनि कुनै अर्थ रहने छैन ।

 

प्रतिक्रिया दिनुहोस्