जिसस चितवनको चुनावले एमाले-माओबादी दुरी बढ्दै, कुरा नमिलेपछि बाम गठबन्धन टुट्ने संकेत



चितवन । जिसस चितवनको चुनावमा एमाले माओबादीमा कुरा नमिलेपछि बाम गठबन्धन टुट्ने संकेत देखिन थालेको छ । जिल्ला समन्वय समिति चितवन गठनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनमा एमाले र कांग्रेस आमनेसामने छन् । केन्द्रीय तालमेलका आधारमा बहुमत भएको एमाले सँग माओवादी केन्द्रले सिटको बार्गेनिङ गरीरहेको बताइएको छ । चितवनका ७ तहका १४ पदमध्ये ९ पद एमाले एक्लैले जितेको छ ।

नेपाली कांग्रेसले ३ र माओबादीले २ पद जितेको छ । जिल्ला समन्वय समितिको गठनका लागि एमाले एक्लैको स्पस्ट बहुमत पुग्छ । यस्तो अबस्थामा माओबादीलाई सिट दिन नहुने एमालेका नेता कार्यकर्ताले बताउँदै आएका छन । तर माओबादी केन्द्रले केन्द्रमा एकता भएको भन्दै दुई सिट दावि गरेको अबस्था छ । यदी माओबादीले सिट नपाए बाम गठबन्धनलाई नै असर पर्ने केही जानकारहरुले तर्क गरेका छन । कुल नौ सदस्यीय समितिमा प्रमुख, उपप्रमुख, तीन महिला, तीन खुला र एक दलित तथा अल्पसंख्यक चुनावबाट निर्वाचित बन्ने छन् ।

एमालेतर्फबाट जिसस प्रमुखमा कृष्णकुमार डल्लाकोटी, उपप्रमुखमा मुना कुमारी श्रेष्ठको उम्मेद्वारी परेको छ । महिला सदस्यमा खिलकुमारी सिंखडा, लिलादेवी पोखरेल, सीता पुन, दलित र अल्पसंख्यकमा गुनु विक, खुल्ला सदस्यमा कृष्णप्रसाद अधिकारी, कृष्णराज गुरुङ र चुडामणि महतो भिड्दै छन् । सहायक निर्वाचन अधिकृत घिमिरेका अनुसार नेपाली कांग्रेसको तर्फबाट जिससको प्रमुखमा भरत अधिकारी र उपप्रमुखमा टिका दाहालले उम्मेद्वारी दिएका छन् । यस्तै महिला सदस्यमा भरथी थरुनी, रमा भट्टराई, शान्ति परियार, दलित र अल्पसंख्यकमा सावित्री वि।क, खुल्ला सदस्यमा प्रेमप्रसाद शर्मा, रविन्द्र गौतम र हरेराम तामाङको उम्मेद्वारी परेको छ ।

माओवादीले भने उम्मेदवारी दिएको छैन । रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिकाका प्रमुख र उप्रमुख तथा माडी नगरपालिकामा उपप्रमुख पदमा एमाले विजयी भएको थियो । इच्छाकामना गाउँपालिका प्रमुख र उपप्रमुख तथा भरतपुर महानगरको उपप्रमुख पदमा कांग्रेस विजयी भएको हो । माओवादी केन्द्रले माडी र भरतपुरमा प्रमुख पद जितेको छ । यसअघि भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा भएको चुनावमा कांग्रेस माओवादीले गठवन्धन गरे पनि अल्पमतमा रहेको एमाले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्