दक्षिण कोरियाली गोप्य सैनिक दस्तावेज चोरिएको दाबी, प्योङयाङविरुद्ध नयाँ हतियार विकास



 

सोल, (एजेन्सी)
उत्तर कोरियाका ह्याकरहरूले ठूलो परिमाणमा दक्षिण कोरियाको गोप्य सैनिक दस्तावेजलगायत उत्तरको सर्वोच्च नेता किम जोङ उनको हत्या षड्यन्त्र योजना चोर्न सफल भएको बताइएको छ।

दक्षिण कोरियाका विधायक रि चोल हीले आफ्नो राष्ट्रको रक्षा मन्त्रालयबाट यो सूचना प्राप्त भएको मंगलबार बताएका छन्। यसरी चोरिएका दस्तावेजमा संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले तयार पारेको युद्धकालीन आपत्कालीन योजनाहरू पनि रहेको बताइएको छ।
साथै दुवै राष्ट्रका वरिष्ठ कमान्डरहरूले तयार पारेका प्रतिवेदन पनि ह्याक भएको बताइएको छ। तर दक्षिण कोरियाको रक्षा मन्त्रालयले भने यस सम्बन्धमा कुनै पनि टिप्पणी गर्न अहिलेसम्म अस्वीकार गरेको छ।

दक्षिण कोरियाको विशेष फौजको योजनाहरू महत्त्वपूर्ण ऊर्जा केन्द्र तथा सैन्य परिसरका सूचना पनि चोरिएको बताइएको छ। रिले रक्षा एकीकृत तथ्यांक केन्द्रबाट करिब २ सय ३५ जिगावाइट सैनिक दस्तावेज चोरिएको र तीमध्ये ८० प्रतिशत चोरिएको सूचनाको पहिचान गर्नै बाँकी रहेको बताएका छन्। सो ह्याकिङ गतवर्षको सेप्टेम्बरमा भएको थियो।

गत मे महिनामा दक्षिण कोरियाले थुप्रो परिमाणमा डाटा चोरिएको र उत्तर कोरियाले साइबर आक्रमण गरेको हुनसक्ने जनाएको थियो। उत्तर कोरियाले भने ह्याकिङको आरोप अस्वीकार गरेको छ। दक्षिण कोरियाको सरकारी समाचार निकाय योन्हापले पछिल्ला केही वर्षयता छिमेकी कम्युनिस्ट राष्ट्रले थुप्रै सरकारी वेबसाइट र परिसरमाथि लक्षित गर्दै लगातार साइबर आक्रमण गरिरहेको जनाएको थियो।

अन्तर्राष्ट्रिय जगत्बाट अलग्गिएको उत्तर कोरियाले चीनलगायत अन्य समुद्रपारीका राष्ट्रमा ह्याकरहरूलाई विशेष तालिमका लागि पठाउने गरेको विश्वास गरिएको छ। उत्तर कोरियाले भने दक्षिण कोरियाले यस विषयलाई निकै बढाईचढाई गरेको जनाएको छ।

उत्तर कोरियाको विवादास्पद आणविक हतियार विकास कार्यक्रमको कारण संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले केही समयअघि उत्तर कोरियामाथि थप नयाँ नाकाबन्दी गरेको थियो।

पछिल्ला समयमा लामो दूरीका अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र र हाइड्रोजन बमसमेत परीक्षण गरेको उत्तर कोरियाले अमेरिकामाथि आणविक आक्रमण गर्ने धम्की दिँदै आएको छ। प्योङयाङले केही समयअघि दुईपटक जापानको भूमिमाथिबाट क्षेप्यास्त्र परीक्षण गरेपछि अन्तर्राष्ट्रिय जगत् निकै तनाबमा परेको थियो। चीनले समेत यसपालि उत्तर कोरियालाई दिँदै आएको पेट्रोल रोक्ने र उत्तरबाट कपडा आयात बन्द गर्ने निर्णय गरेको थियो।

यसैबीच दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले बढाउँदै लगिरहेको आणविक क्षमतालाई मध्यनजर राख्दै उत्तरसँग लड्नका लागि नयाँ तथा शक्तिशाली हतियार विकास गरिरहेको छ।

राजधानी सोलको प्रतिरक्षा विकास निकाय (एडीडी)ले आफूले गैरघातक हतियार ग्राफाइट बम बनाउने प्रविधि हासिल गरेको र यदि युद्ध शुरू भएको खण्डमा त्यसको प्रयोगबाट उत्तर कोरियाको ऊर्जा प्रणालीलाई ध्वस्त पार्न सकिने कुरा आइतबार योन्हाप समाचार निकायलाई जानकारी दिएको छ। ‘ब्ल्याकआउट बम’ नामक ती ग्राफाइट बमलाई विमानबाट भनेको स्थानमा सजिलै खसाल्न सकिने बताइएको छ।

चारवटा जहाज प्रतिबन्धित
यसैगरी संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि लगाइएको नाकाबन्दी उल्लंघन गरी चलाइएका विश्वका विभिन्न बन्दरगाहबाट हिँडेका जहाजमाथि प्रतिबन्ध लगाएको छ। उत्तर कोरियाली नाकाबन्दीका लागि गठित आयोगका संयोजक ह्युग ग्रिफिथले यसलाई अप्रत्यासित कदमको संज्ञा दिएका छन्।

प्रतिबन्धित गरिएका जहाजहरूमा पेट्रेल ८, हाओ फान ६, तोंग सान २ र जिय सुन रहेको बताइएको छ। सोमबार संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठकले यो प्रतिबन्धका लागि निर्णय गरेको बुझिएको छ। प्योङयाङको छैठौं तथा अहिलेसम्मकै सबैभन्दा ठूलो आणविक परीक्षणपछि सुरक्षा परिषद्ले थप नाकाबन्दी लगाएको थियो। ग्रिफिथले ती जहाजहरूले प्रतिबन्धित वस्तुको ओसारपसार गरिरहेको भेटाइएको बताएका छन्। सो प्रतिबन्ध ५ अक्टोबरदेखि लागू गरिएको हो।

मरिन ट्राफिक वेबसाइटले पेट्रेल ८ कोमोरोसमा, हाओ फान ६ सेन्ट सकटस र नेभिस तथा तोंग सान २ उत्तर कोरियामा दर्ता गरिएको जहाज भएको बताएको छ। तर जिय सुन कुन राष्ट्रमा दर्ता गरिएको भन्ने उल्लेख गरिएको छैन। गत अगस्टमा सुरक्षा परिषद्ले उत्तर कोरियाबाट कसैले पनि कोइला, सामुद्रिक खाना र फलाम आयात गर्न नपाइने जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्