बाल कलाकार नेपालीको सम्झनामा रक्तदान



 

बाल कलाकार काजल नेपालीको सम्झनामा राजधानीको भृकुटीमण्डपमा रक्तदान गरिएको छ। गत बिहीबार अन्तर्राष्ट्रिय मैत्री बाल अस्पतालमा फ्यान्कोनी एनिमिया रोगका कारण निधन भएको उनको सम्झनामा रामजी नेपाली फाउन्डेसनले रक्तदान कार्यक्रम गरेको हो। बाल कलाकार नेपालीको आत्माको शान्तिका लागि कामना गर्दै अस्पतालमा रगत नपाएर छट्पटाइरहेका बिरामीलाई रगत अभाव हुन नदिने उद्देश्यले शोकलाई शक्तिमा बदल्ने कोशिस स्वरुप यो कार्यक्रमको आयोजना गरेको फाउन्डेसनका अध्यक्ष रामजी नेपालीले बताए।

कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले छोरी गुमाउनुको पीडासँगै सामाजिक कार्यको सराहना गरेका थिए। त्यस्तै नेपाल रेडक्रस सोसाइटीकी गमला क्षत्रीले घरमा पीडाको बेलामा पनि यस्तो कार्यक्रम गरिएको सायद पहिलो भएको चर्चा गरिन्। कार्यक्रममा उज्वल नक्षत्र समाजका कोषाध्यक्ष दृष्टिविहीन सुशील अधिकारी, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, नायिका सारिका घिमिरे, काजलकी माता तथा लोकगायिका कृष्णा परियार, साहित्यकार महेश प्रसाईं, मिलापका कृष्ण भुसाल, सानुकाजी श्रेष्ठ, निर्देशक देव नेपाल, नृत्य निर्देशक याम गुरुङ, सहनिर्देशक किशोर खतिवडा, गीतकार कृष्णराज पाण्डेय, समाजसेवी सञ्जय श्रेष्ठ, लेखक दीपक शर्मा, कलाकार होमलाल पुन, किरण थापा, विमल बर्देवालगायतले आ–आफ्ना भनाइ राखेका थिए। कार्यक्रममा एक दर्जनले रक्तदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्