हत्यारालाई कारबाही होस् प्रहरी संयन्त्र उदासीन नहोस्



 

काठमाडौंमा फेरि एकजना व्यवसायीको हत्या भएको छ। निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै गोली हानी हत्या गरिएको छ। संसद् भवननजिकै यसरी हत्या हुँदा पनि प्रहरीले अझै हत्यारा पत्ता लगाउन सकेको छैन। राजधानीमा दिनदहाडै गोली हानी हाइप्रोफाइल व्यक्तिको हत्या पटक–पटक भएको छ तर प्रहरी हत्यारा पत्ता लगाउन उदासीन छ। राजधानीमा पटक–पटक यस्ता घटना दोहोरिँदा पनि सुरक्षा संवेदनशीलतामा सरकार मौन छ।

२०५५ असार १५ मा राजधानीको सिफलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा पूर्वमन्त्री मिर्जा दिलसाद बेगको गोली हानी हत्या गरिएको थियो। राति भएको यो घटनामा बेगका चालक भुवन कार्कीलाई पनि गोली हानी मारिएको थियो। प्रहरीले ‘दाउद इब्राहिमका लागि काम गर्ने बेगको हत्या छोटा राजन समूहले गरेको’ निष्कर्ष निकालेको थियो। यसबारे छानबिन गर्न गठित उच्चस्तरीय न्यायिक समितिले पनि उनको हत्यामा छोटा राजन समूहकै हात रहेको प्रतिवेदन सरकारलाई बुझायो। तर उनीहरुलाई हदैसम्मको कारबाही भएको थाहा भएन। यस्ता घटना नदोहोरिने गरी चेतावनीस्वरुपको कारबाही कोही दोषीले पाएनन्।

यस्तै २०६३ भदौ २४ मा बानेश्वरमा कमलसिंह नेपालीको हत्या भएको थियो। वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका नेपाली पहिले छोटा राजनको समूहमा काम गर्थे, पछि दाउदका लागि काम गर्न थालेका थिए। छोटा राजन समूहकै निर्देशनमा उनलाई नयाँ बानेश्वरमा गोली हानी मारिएको कुरा बाहिर आएको थियो। उनका हत्यारा अहिलेसम्म पक्राउ परेका छैनन्। यसमा प्रहरीकै उदासीनता देखिन्छ।

२०६६ माघ २४ मा राजधानीको लाजिम्पाटमा सञ्चार उद्यमी जमिम शाहको भारतीय अन्डरवल्र्ड डन छोटा राजन समूहले गोली हानी हत्या गरेको थियो। याक एन्ड यती होटल दरबारमार्गको हेल्थ क्लबमा नुहाएर गाडीमा पानीपोखरीस्थित घरमा जाँदै गरेका शाहलाई अज्ञात समूहले गोली हानेको थियो। ना १ च २१५१ नम्बरको कारमा रहेका थिए उनी र चालक मथुरामान मालाकार थिए। बा १५ प ८७३३ नम्बरको मोटरसाइकलमा आएका दुईजनाले गोली हानेका थिए। प्रहरीले घटना भएको केही वर्षपछि घटनामा संलग्न प्रहरीसहित केहीलाई पक्राउ गरेको थियो तर मुख्य नाइके पक्राउ गर्न र त्यसबारेमा केही सार्वजनिक गर्न सकेको छैन।

त्यति मात्रै हैन, इस्लामिक संघ नेपालका महासचिव फैजान अहमदलाई २०६८ असोज ९ गते राजधानीको घण्टाघरअगाडि गोली हानी हत्या गरिएको थियो। फैजानको हत्यामा भारतीय पेसेवरको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको थियो। नेपाल प्रहरीले फैजानको हत्यामा संलग्न २७ वर्षीय धनबहादुर थापा मगरलाई पक्राउ गरे पनि मुख्य अभियुक्त भने अझै फरार नै रहेका छन्। प्रहरीले आफ्नो अनुसन्धान फितलो बनाएकै कारण यस्ता अपराधी उम्कने र आफ्नो गलत क्रियाकलाप गरिरहने गरेका छन्।

पछि उपत्यकावासीलाई नै त्रसित बनाउने घटना भयो २०६९ साल जेठ १८ गते। मन्दिरमा पूजा गरेर फर्कने क्रममा शंखमूलनजिकैको युएन पार्कमा गोली हानी सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या गरियो। घटना भएको २ वर्ष ७ महिनापछि प्रहरीले घटनामा संलग्न चुरे भावर पार्टीका तत्कालीन उपाध्यक्ष बाबु थापा भनिने मेघबहादुर थापा, शिव भन्ने करण चौधरी, नवीन भन्ने प्रेमराज खड्का, दीपक कर्णलाई पक्राउ गर्न सफल भयो। पाँच घटनामध्ये यही घटनामा मात्रै मुख्य अभियुक्तसहित दोषीहरु पक्राउ परेका छन्। बम हत्याकाण्डमा संलग्नमध्ये एक सुटर रामेछाप जिल्ला खनियापानी–७ का २८ वर्षीय सञ्जय स्माइली मगरलाई २०७२ भदौमा साउदी अरबबाट पक्राउ गरी नेपाल ल्याइएको थियो।

यसरी प्रहरीले चाहेमा हत्यारा सहजै पत्ता लगाउन सक्छ तर उदासीनताले गर्दा अहिले त्रास मात्रै फैलिएको छ। नेपाल प्रहरीले जनताको विश्वास कायम राखेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनका हत्यारालाई पक्राउ गरेर हदैसम्मको कारबाही गर्नुपर्छ। यो घटनाबाट देशभरका निर्माण व्यवसायीमा त्रासको वातावरण सिर्जना भएको छ। काठमाडौंमा दिउँसै भएको हत्याको घटनालाई सरकारले गम्भीररुपमा लिनु जरुरी छ।

– यज्ञनाथ सापकोटा, रामेछाप
हालः मध्यबानेश्वर, मिलनचोक, काठमाडौं
जनप्रतिनिधि साझा हुन्
त्यस्तै व्यवहार होस्
नेपालमा निर्वाचनको माहोल छ। जनताको अमूल्य मतद्वारा चुनिएका जनप्रतिनिधिले जनताका समस्या, अप्ठ्याराहरु समाधानका निम्ति सक्रिय हुनुपर्ने समयमा आफ्ना दलका कार्यकर्ता र आसेपासेका कुरा सुनेर जनताको वास्ता नगरेको जस्तो पाइएको छ। जनप्रतिनिधि भएपछि उनीहरु साझा हुन्। उनीहरुले दलको काममा बढी लिप्त हुनुभन्दा पनि जनताका समस्यामा आफ्नो ध्यान केन्द्रित गरेमा अरु चुनावमा पनि जनताको माया र साथ पाउनेमा दुईमत हुँदैन। यसले दल र प्रतिनिधि सबैलाई भलो गर्छ।

नेतृत्व सक्षम निष्कलंक, निःस्वार्थी, जनप्रेमी हुनु आवश्यक छ। पार्टीले पनि नेतृत्व विकास गर्न ध्यान दिन अत्यावश्यक छ। जनप्रतिनिधिले पनि जनताको हितका निम्ति नेतृत्व विकासमा ध्यान दिनुपर्छ। जनप्रतिनिधिलाई सबैको प्रतिनिधि बन्न सबै दलले निर्देशन गर्न जरुरी छ। आफूलाई दलको नेताको रुपमा नभई अब साझा नेतृत्व गर्ने भूमिकामा नढालेसम्म स्थानीय निकायबाट जनताले आश गरेजस्तो सुविधा पाउँदैनन्। यो विषयमा अध्यक्ष तथा मेयर सापले ध्यान दिनु नितान्त आवश्यक छ।
–तुफन डिसी, झापा
हालः काठमाडौं, कीर्तिपुर

प्रतिक्रिया दिनुहोस्