चिनियाँ टेलिभिजनमा गुञ्जियो नेपाली स्वर



रश्मी थापा

प्रतिभावान नेपालीले अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न माध्यमबाट बेला–बेलामा नेपालको कीर्तिमान राखिरहेका छन्। गायन र नृत्यको माध्मबाट गायक प्रशान्त तामाङ र तेरिया मगरले नेपाललाई चिनाइसकेका छन् भने अहिले गायनमार्फत विदेशी भूमिबाट नेपाल चिनाउने पंक्तिमा अर्का एक नेपाली अगाडि आएका छन्।

केही दिनअघि एक नेपाली युवकले चिनियाँ राष्ट्रिय प्रसारणमा नेपाली दौरा सुरुवाल र ढाका टोपीमा ठाँटिएर चिनियाँ गीत गाइरहेका देखियो। सो लोभलाग्दो भिडियो सामाजिक सञ्जालमा तत्कालै भाइरलसमेत हुन पुगेको छ।
भिडियोमा चिनियाँ भाषामा कुरा गर्दै चिनियाँ गीत गाइरहेका उक्त युवक केही बेरमै नेपालीमाझ छाए। चीनको राष्ट्रिय दिवसको अवसरमा त्यहाँको राष्ट्रिय टेलिभिजन दोङफाङ बीसीबाट प्रसारित रियालिटी शोमा गीत गाउने ती युवा खलनायकका रूपमा चर्चित अभिनेता विजयसिंह देउजाका छोरा सन्देशसिंह देउजा हुन्। उक्त दिन चिनियाँ संस्कृति तथा भाषा अध्ययन गर्न गएका विभिन्न देशका विद्यार्थीले चिनियाँ भाषा र संस्कृति झल्कने कुनै पनि प्रस्तुति दिनुपर्ने थियो। यसै क्रममा उसले चिनियाँ भाषामा गीत गाएर सुनाएका हुन्। विजयसिंह देउजाका अनुसार कुल ५ सय विद्यार्थीबाट ५० जना विद्यँर्थी छानिएका थिए। त्यसमध्येबाट पनि २५ जनाले गाएको गीत भने टेलिभिजनमार्फत प्रसारण गरिएको हो। सन्देशले तीनै २५ मध्येबाट नेपालको प्रतिनिधित्व गर्दै चिनियाँ भाषामा गीत गाएर सबैलाई मोहित तुल्याएका हुन्।

‘योभन्दा अघि उसले चीनमा हुने विभिन्न स्टेज कार्यक्रममा पनि गीत गाउँथ्यो’ –उनका अभिनेता पिता विजयसिंह देउजाले नेपाल समाचारपत्रसँग कुरा गर्दै जानकारी गराए।

भक्तपुर नलिञ्चोक निवासी सन्देशले आईबीएम कलेजबाट बीबीए गरेका हुन्। नेपालको पर्यटन क्षेत्रमा रुचि राख्ने उनी छत्रवृत्ति पाएर चीनमा पढ्न गएका हुन्। उनी ४ वर्षदेखि चीनको संघाईमा चिनियाँ संस्कृति र भाषा विषयमा मास्टर गरिरहेका छन् र उनको पढाइ ३ वर्षपछि पूरा हुनेछ। पढाइ सकिएपछि नेपाल फर्केर नेपालको पर्यटन क्षेत्र र गायनमा सक्रिय हुने उनको योजना छ। ‘अहिले पनि ऊ नेपालको हिस्टोरिकल तथा कल्चरल फुटेजहरु लगेर त्यहाँको टेलिभिजनबाट प्रसारण गराएर नेपालको पर्यटन प्रवद्र्धनमा लागिरहेको छ। नेपाल आएपछि चिनियाँलाई नेपालप्रति आकर्षित गराउने तथा चिनियाँ पर्यटकका लागि उपयुक्त प्याकेजहरु सञ्चालन गर्ने योजना सुनाएको छ’, विजयले भने– ‘नेपालमा रहँदा पनि उसले केही स्टेज कार्यक्रममा गीत गाउने तथा जिङ्गलहरु बनाउने गथ्र्यो। उसले नेपाल आएपछि गीत–संगीतमा लागेर एल्बमहरु निकाल्ने योजना पनि बताएको छ।’ विद्यालयमा अध्यनरत रहँदा छोराले कलाकरितामा रुचि राख्ने गरेको र विभिन्न नाटकमा भाग लिएर ट्रफी जितेको अभिनेता देउजाले बताए।

प्रतिक्रिया दिनुहोस्