एक–अर्काबीच आलोचना नगरियोस्



 

आउँदो मंसिर १० र २१ गते हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि राजनीतिक दलहरु उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा लागेका छन्। उम्मेदवारको मनोनयन दर्ता नभए पनि चिया पसल तथा चोक–चोकमा चारजना मानिस जम्मा हुनेबित्तिकै हालै सम्पन्न स्थानीय निकायको मत परिणामलाई आधार मान्दै आगामी निर्वाचनको हारजितको अड्कलबाजी गर्ने गरेका छन्। राष्ट्रिय राजनीतिमा दिनानुदिन पैदा भैरहेको तर·ले कतै निर्वाचन नै त धकेलिने हैन भन्ने आशंका उब्जिरहेको भए पनि आममतदाता भने तोकिएको समयमा निर्वाचन सम्पन्न हुनेमा ढुक्क देखिन्छन्।

राजनीतिक दलहरु स्वयंले पार्टीको आन्तरिक छलफलमा यसलाई अझ गहिरो रुपमा अड्कल गरिरहेका छन्। नेकपा एमाले तथा माओवादी केन्द्रलगायतको चुनावी तालमेल गर्ने सहमति होस् वा नेपाली कांग्रेस, राप्रपा, राजपालगायतका दलहरुको जारी सहकार्य प्रयास होस्, चुनावमा बढीभन्दा बढी सिटमा विजय हासिल गर्ने उद्देश्यले प्रेरित देखिन्छ। साथै उम्मेदवारी चयनको अन्तिम कसरत भएसँगै राजनीतिक दलहरु एक–अर्काप्रति घोचपेचका साथै एकले अर्कोलाई खुइल्याउने र त्यो पार्टी नराम्रो हाम्रो पार्टी राम्रो भन्न थालेका छन्। आफ्नो पार्टीको राम्रो सिद्धान्तलाई भन्दा अर्को पार्टी नराम्रो भनेर आममतदातालाई प्रभावित बनाइँदै छ। यसअघिका निर्वाचनमा पनि दलहरुले निर्वाचनको चुनावी प्रचारप्रसारमा आफ्नो घोषणापत्रभन्दा पनि विपक्षीको आलोचनामा नै बढी समय खर्चेका थिए।

उम्मेदवार चयन प्रक्रियासँगै दलहरु आ–आफ्नो घोषणापत्र पनि तयारीमा जुटेका छन्। निर्वाचनको लागि करिब डेढ महिनाको समय बाँकी छ। निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा गर्नको लागि एकले अर्कोलाई आलोचना गर्नेभन्दा पनि आपूmले गरेको राम्रो र नराम्रो कामको मूल्याङ्कन गर्दै आफ्नो दलको आगामी कार्यदिशाबारे आममतदातालाई प्रस्ट पार्नु सबै राजनीतिक दलको कर्तव्य हो। जसको लागि एक दल र नेताले अर्को दल र नेताको आलोचना नगरी छिटोभन्दा छिटो आफ्नै घोषणपत्र लिएर मतदाताको घरदैलोमा जानुपर्छ। एकले अर्कोलाई आलोचना गरेर गरिएको प्रचारप्रसारले मुठभेड निम्त्याउन सक्छ। स्वच्छ, निष्पक्ष निर्वाचन गर्नको लागि दलहरु स्वयं जिम्मेवार हुनुपर्ने भएकोले सबै दलका नेता तथा कार्यकर्ताले एकले अर्कोलाई आलोचना नगरी आफ्नै दलको नीति तथा सिद्धान्त लिएर जनतामाझ जानुपर्छ। अनि मात्र स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सहयोग पुग्छ।

प्रतिक्रिया दिनुहोस्