महिला स्वास्थ्यमा राष्ट्रपतिको चासो, महिला स्वास्थ्य सेवालाई अझ गुणस्तरीय बनाउन सुझाव



 

मोतीराम तिमल्सिना, काभ्रे
राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरूको प्रजननको समयमा मुस्कानसहितको सेवामा दत्तचित्त भएर लाग्न विशेषज्ञ तथा प्रजनन स्वास्थ्यमा संलग्न व्यक्तिहरूलाई सुझाव दिनुभएको छ।

धुलिखेल अस्पतालको प्रसूति रोग विभाग र जिनोसेकको आयोजनामा मंगलबारदेखि धुलिखेलमा शुरू भएको ३ दिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनसभामा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवा भौगोलिक अवस्थाले विकट मानिएका क्षेत्रमा समेत उपलब्ध गराउने विषयमा योजना बनाइ कार्यान्वयन गर्न सुझाव दिनुभयो। महिलामा विशेष गरी पाठेघर, स्तन क्यान्सरजस्ता रोगको संक्रमण धेरै हुने भएकाले त्यस्ता रोगबाट बच्न र उपचार गर्न छाउपडी प्रथा, बोक्सी प्रथाजस्ता अन्धविश्वास हटाई सुरक्षित मातृत्त्वका लागि कार्य गर्नु सुझाव दिनुभएको थियो।

मातृ शिशु मृत्युदर घट्दै गएकोमा नेपाल पुरस्कृत भएको स्मरण गराउँदै राष्ट्रपति भण्डारीले महिला स्वास्थ्य सेवालाई सुदृढीकरण गर्न सरकारलाई निर्देश गराउनुभएको थियो। कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजु श्रेष्ठ, विश्वविद्यालयका डिन डा. राजेन्द्र कोँजु, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. आभा श्रेष्ठलगायतले नेपालमा महिलाको प्रजननसम्बन्धी अवस्था र भएका प्रयासका बारेमा जानकारी गराएका थिए। नेपालमा महिलालाई लाग्ने रोग र त्यसको उपचारमा भएका विधि तथा प्रक्रियामा के–के भइरहेको छ ? महिलालाई यस्ता सम्मेलनको आयोजनाले के फाइदा पुर्याउन सकिन्छ भन्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको धुलिखेल अस्पतालकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. आभा श्रेष्ठले बताइन्।

महिलाहरूमा हुने पिसाब चुहिने, पाठेघर, आ· खस्ने समस्या, विभिन्न भागमा हुने क्यान्सर, गर्भवती भएको समयमा हुने अनेक रोगहरू, बच्चा र आमाको स्वास्थ्यमा आउने समस्याका बारेमा समेत सम्मेलनमा छलफल हुनेछ। विज्ञहरूले उक्त सम्मेलनमा कार्यपत्र प्रस्तुतसँगै फिजियोथेरापी र बेबी मसाज पनि सँगै आयोजना गरिन लागेकाले यस्तो सम्मेलन नेपालमै पहिलो पटक भएको डा. सुमनराज ताम्राकारले जानकारी दिए।

उक्त सम्मेलनमा जर्मनी, अमेरिका, स्विटजरल्याण्ड, नर्बे, इन्डिया, श्रीलंका, डेनमार्क, क्यानाडा, नेपाल, अष्ट्रेलियासमेत गरी १० देशका ३७ जना विज्ञले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रममा ३ सयभन्दा धेरै देशभरका प्रसूति रोग विशेषज्ञ डाक्टरहरू, फिजियोथेरापिस्ट र बेबी मसाजसम्बन्धी व्यक्तिहरूको सहभागिता रहनेछ। यस्ता सम्मेलनपश्चात् महिलाको उपचारमा सहयोग पुग्ने र ग्रामीण क्षेत्रमा रहेका महिलाको आर्थिकस्तरसमेत उकास्न सहयोग पुग्ने अपेक्षा लिइएको डा. आभा श्रेष्ठले बताइन्। आभा अन्तर्राष्ट्रिय स्तरको जी नेसोक संस्थाको भाइस प्रेसिडेन्टसमेत हुन्। नेपालका गर्भवती महिलाले यस्तै खाले रोगको सही उपचार हुन नसक्दा १० वर्षसम्म वार्षिक ५ सय ३८ जनाले ज्यान गुमाउनु परेको थियो भने केही वर्षअघि गरेको सर्वेक्षणले १ सय ७० मा झरेको देखाएको छ। विकसित देशमा भने यो तथ्यांक ५⁄६ जनाको संख्यामा रहेको छ।

प्रतिक्रिया दिनुहोस्