पैसाको लेनदेन नै मुख्य कारण रहेको आशंका, १० निर्माण व्यवसायीलाई दिइयो निजी सुरक्षा



 

दीपक रिजाल, काठमाडौं
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याको कारण पैसाको लेनदेन रहेको निष्कर्षमा प्रहरी पुगेको छ। ‘गएको असोज ९ गते खोलिएको हुलाकी राजमार्गको १२ अर्बको ठेक्काको रकम वितरणमा देखिएको मनमुटावका कारण हत्या भएको जस्तो देखिन्छ।’ –घटनाको अनुसन्धानमा संलग्न एक अधिकृतले नेपाल समाचारपत्रलाई बताए।

प्रहरीले उक्त ठेक्का ककसको नाममा परेको र ठेक्काका लागि अध्यक्ष गौचनसँग मोलमोलाइ गर्ने समूहको खोजी गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ। उक्त हत्याकाण्डपछि प्रहरीले १० वटा टोली बनाएर अनुसन्धान शुरू गरेको छ।

‘नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गौचनको हत्यामा प्रयोग भएको मोटरसाइकल नम्बर पत्ता लगाएको छ। उक्त मोटरसाइकल कसको नाममा रहेको र घटनाका क्रममा कसले प्रयोग गरेको हामी खोजी गरिरहेका छौं।’ –घटनाको अनुसन्धान गरिरहेका एक अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए।

प्रहरीले घटना बढी रहस्यमय बन्दै गएपछि प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक गणेश केसीको संयोजकत्वमा गठित अनुसन्धान समितिमा नेपाल प्रहरीको विशेष ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी प्रधान कार्यालयका अपराध अनुसन्धान विज्ञसहितको टोली रहेका छन्।

प्रहरी प्रधान कार्यालयले सोमबार केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी शेरबहादुर बस्नेतको संयोजकत्वमा गठित छानविन समिति बनाएको भोलिपल्टै डीआईजीको नेतृत्वमा अर्को समिति गठन गरेको हो। प्रहरीले राजधानीलगायत देशका मुख्य शहरमा गौचनको हत्यामा संलग्नको खोजीलाई तीव्र बनाएको छ। प्रहरीले सोमबार र मंगलबार गरी १ सय २० भन्दा बढी शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको विगतको पृष्ठभूमिको खोजी गरिरहेको छ।
प्रहरीले सोमबारको गोलीकाण्डपछि हत्याको जिम्मा लिने समूहमा संलग्न रहेकाको खोजीलाई तीव्र बनाएको छ। प्रहरीले समेश बाहुन समूह, समिरजंग बस्नेत, मनोज पुन र लोप्साङ लामा समूहको खोजीलाई तीव्र बनाएको प्रहरीले जानकारी दिएको छ। निर्माण व्यवसायी समितिका अध्यक्ष गौचनको हत्यापछि निर्माण व्यवसायीहरूले आफूहरू असुरक्षित भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्।

सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ८ जन, ललितपुर र भक्तपुरमा १⁄१ जनाले निवेदन दिएको र उनीहरूलाई सुरक्षाकर्मी उपलब्ध गराइसकेको प्रहरीले जानकारी दिएको छ।
सुरक्षाकर्मी उपलब्ध गराइएका निर्माण व्यवसायीहरू पूर्वअध्यक्षहरू जीप छिरिङ लामा, शकुन्तला हिराचन छन्।

यसै गरी वरिष्ठ उपाध्यक्ष कृष्णप्रसिाद गौतम, महासचिव रामशरण देउजा, कोषाध्यक्ष रोशन दाहाल, केन्द्रीय सदस्य दीपक गौतम, विशेष आमन्त्रित केन्द्रीय सदस्य रामजी पन्त र सूर्यबहादुर खड्का रहेका छन्। हत्यामा संलग्न अपराधीहरूको खोजीमा ढिलाइ गरेको भन्दै निर्माण ब्यवसायीहरूले सरकारलाई दबाब दिने उद्देश्यले जाम बुधबारबाट चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्