दोषीलाई कारबाही नगरेसम्म महासङ्घले अध्यक्षको शव नबुझ्ने



काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले घटनाका दोषीलाई कारबाही नगरेसम्म अध्यक्ष शरदकुमार गौचनको शव नबुझ्ने भएको छ ।

महासङ्घका महासचिव रामशरण देउजाले घटनाका दोषीलाई पत्ता नलगाएसम्म अध्यक्ष गौचनको शव नबुझ्ने बताउनुभएको हो ।

सोमबार दिउँसो नयाँबानेश्वरमा अज्ञात समूहको गोली लागेर मृत्यु भएका अध्यक्ष गौचनको शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल राखिएको छ ।

महासङ्घले आज जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख केदारनाथ शर्मालाई भेटेर गौचनलाई शहीद घोषणा गर्नुपर्ने, हत्यारालाई तत्काल खोजी गरी कारबाही गर्नुपर्ने तथा निर्माण व्यवसायीको सुरक्षाको प्रत्याभूति दिनुपर्ने माग गरेका छन् ।

भेटमा प्रमुख जिल्ला अधिकारी शर्माले तीन दिनभित्र दोषीबारे पत्ता लगाइसक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको शर्माको भनाइ उद्धृत गर्दै महासचिव देउजाले बताउनुभयो । “सुरक्षा समितिको बैठक बसिरहेको र अनुसन्धान टोली गठन भइसकेकाले चाँडो घटनाको दोषीलाई पत्ता लगाउने प्रमुख शर्माले भन्नुभएको छ,” महासचिव देउजाले भन्नुभयो ।

शर्माले व्यवसायीलाई आवश्यक पर्ने सुरक्षासमेत दिने बताउनुभएको महासचिव देउजाले जानकारी दिनुभयो । भेटमा महासङ्घका पदाधिकारी तथा पूर्वअध्यक्षको सहभागिता रहेको थियो । महासङ्घले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मासँग भेट गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्