प्रदेश र प्रतिनिधिसभाको निर्वाचन विथोल्न गौचनको हत्या, हत्यामा विदेशीको हात



काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा विदेशी शक्तिको संलग्नता रहेको हुन सक्ने सांसदहरुले दाबी गरेका छन् ।

आजको व्यवस्थापिका संसदको बैठकका बोल्दै विभिन्न दलका सांसदहरुले मंसिरमा हुन लागेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन विथोल्ने नियतका साथ गौचनको हत्या भएको आशंका गरेका हुन् ।

सांसदहरुले बैठकमा बोल्ने क्रममा विदेशीको हात भने पनि कुन् देश हो भन्ने चाहिँ खुलाएनन् । बैठकमा बोल्दै नेकपा एमालेका सांसद जनार्दन ढकालले गौचनको हत्या निर्वाचनलाई प्रभाव पार्ने खेल भएको दाबी गर्नुभयो ।

‘गौचनको हत्याले सरकार असफल भइसकेको पुष्टि भएको छ’, बैठकमा बोल्दै ढकालले भने, ‘यो हत्याले निर्वाचनलाई प्रभाव पार्ने खेल भएको छ । चुनावलाई प्रभाव पार्ने खेलमा सरकार पनि लागेको छ ।’

त्यस्तै नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले राजधानीभित्रैको व्यस्त सडकमा गौचनको निर्मम हत्या हुनु शान्तिसुरक्षाको दृष्टिले अत्यन्तै लज्जाको विषय भएको टिप्पणी गरे ।

‘राजधानीको व्यस्त सडकमा आफ्नै निवास अगाडि निर्मम हत्या हुँदा सरकार के गर्दैछ ?’, बिडारीले प्रश्न गरे, ‘मान्छेले मान्छे खोजी खोजी मार्ने यो जघन्य अपराध हो । यसले सबै नेपाली असुरक्षित भएका छौँ ।’

सांसद बिडारीले यो हत्या प्रकरण नेपालको विकसित राजनीति र निर्वाचनमा ठुलो असर पार्ने खेल भएको बताए । ‘यो हत्याबाट देशमा गडबडी गर्ने प्रयास भएको छ’, बिडारीले थपे, ‘यबारेमा गृहमन्त्रीले जानकारी दिनुपर्छ, एउटा व्यक्ति मात्र होइन, अर्थतन्त्रलाई नै प्रभावित गर्ने खेल भएको छ ।’

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गौचनको हत्यामा विदेशी शक्तिको हात हुनसक्ने तर्फ सरकारको ध्यानाकर्षण गराए । ‘गुण्डा पालेर कोही कांग्रेस र कम्युनिष्ट हुँदैन, गौचनको हत्यामा विदेशीको हात छ कि रु’, सुवालले प्रश्न गरे, ‘गौचनको हत्यामा संलग्नदेखि चुनावमा ग्यास सिलिन्डर र चुल्होसम्म बाँड्नेहरु आमजनताका हत्यारा हुन् ।’

नेपाली कांग्रेसका सांसद रोमी गौचन थकालीले संसद भवनको तीन सय मिटरको पूर्वमा निजी क्षेत्रका महत्वपूर्ण व्यक्तिको हत्या चानचुने विषय नभएको बताए । ‘संसद भवनकै केही सय मिटरको दुरीमा भएको यो हत्याले सुरक्षानिकायमाथि गम्भीर प्रश्न उठाएको छ’, गौचनले भने, ‘हाम्रो सुरक्षानिकायको संयन्त्र पर्याप्त सूचना राख्दैनन् भन्ने यसले पुष्टि गरेको छ । अर्कातियर यो सुरक्षाअधिकारी पनि छैनन् भन्ने यसले देखाएको छ ।’

अर्का सांसद विश्वेन्द्र पासवानले व्यवसायीको जीवनको रक्षमा सरकार सचेत हुनुपर्ने बताए । ‘जनताले मतदान गर्न नदिने अवस्था ल्याउन यो हत्या प्रकरण भएको हो’, पासवानले भने, ‘कात्तिक ४ गतेपछि संसद नरहने अवस्था आउँदैछ । देशमा राजनीतिक रिक्तता ल्याएर अस्थिरता ल्याउन खोजिँदैछ ।’

प्रतिक्रिया दिनुहोस्