सम्झनामा जनतादेखि दरबारसम्मका प्रिय वासुदेव मुनाल



विदुर गिरी ।

रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक, संगीतकार, गीतकार, नाटककार, रेडियो नाटक निर्देशक वासुदेव मुनालले भौतिक संसारबाट बिदा लिएको आज १३ दिन भएको छ। घाँटीको क्यान्सरसँग जुद्धै भक्तपुरस्थित क्यान्सर अस्पालमा उपचार गराउँदै अँएका उनको गत १२ गते साँझ ६८ वर्षको उमेरमा निधन भएको थियो।

११ वर्षअघि लडेर ब्रेन ह्याम्ब्रेजसमेत भोगेका उनी रेडियो कार्यक्रमका स्रोता तथा गीत संगीतका पारखीमाझ लोकप्रिय थिए। कोइरालाबाट मुनाल लेख्दै आएको उनी रेडियो नेपालबाट प्रसारण हुने बाल कार्यक्रम सञ्चालन गरी बालबालिकासँगै तीनका अभिभावकलाई समेत मोहित तुल्याउन माहिर थिए। २००६ सालमा विराटनगरमा उनले रेडियो नेपालबाटै करियर शुरु गरी करिब चार दशक त्यहाँ बिताएका थिए। सोही क्रममा गीतसमेत गाएका उनले केही गीतको रचना गरेका थिए भने केही गीतमा संगीतसमेत दिएका थिए।

पानी खाने निउँले तिम्रो घरमा आउँला, झमझम इस्टकोट, लालुपाते फुलेर लाल भयो, बाँसुरीको धुनमा मादलुको तालमा, सक्यो नानी सक्यो नानी सक्यो नानी, नुवाकोटे नानी गाजल लाउने तिम्रो बानी सक्यो नानी, चुरोट बिँडी म खाँदै नखाने, तिम्लाई नलिई म जाँदै नजाने, चैनपुरको करुवामा सुन्दरीजलको पानी, छुनुमुनु छुनुमुनु गर्दै आइन् आँगनीमा छोरी, कहिले भन्छिन् हात्ती ल्याइदेऊ कहिले भन्छिन् घोडी, स्कुलै जाने कान्छाले गोजीमा गुच्चा हाल्दैनलगायत विभिन्न विधाका दर्जनांै गीत गाएर गीत संगीतको क्षेत्रमा समेत लोकप्रियता कमाएका मुनाल २०६४ सालमा रेडियो नेपालबाट सेवा निवृत्त भएका थिए। उनले स्व. पाण्डव सुनुवारसँग गाएको उकालीमा पनि हजुर मोटर जाँदो रैछ, ड्राइभर दाइलाई छ सलाम माया सरर जाउँ हिँड रेलैमा अहिले पनि उत्तिकै सुनिन्छ।

मुनालले एक सयभन्दा बढी बालगीत गाएका छन् भने ७५ वटा बालगीति नाटक तयार गरेका छन्। त्यसै गरी १ सय ५० वटा आधुनिक गीत, १ सय २० लोकगीत र ११ वटा राष्ट्रिय गीत गाएका छन्। उनले सञ्चालन गर्ने बाल कार्यक्रममा कविता वाचन गरेर वा रेडियो बाल नाटकमा स्वराभिनय गरेर कला क्षेत्रमा प्रवेश गर्नेहरु अहिले पनि सयौं छन्।

बाँसुरीको सुरिलो धुनपछि बालबालिकाको बाल आवाजमा जय नेपालको ध्वनि गुञ्जेसँगै मुनाल रेडियोमार्फत् घर–घरमा घन्किन्थे ‘आओ मेरा प्यारा प्यारा भाइ बैनी हो। रेडियो नजिकै आओ। अब हाम्रो आजको बाल कार्यक्रम शुरु हुन्छ।’ बालबालिकाबाटै रचित कथा, कविता, जीवनी, नाटकलगयात गहकिला र उपयोगी रेडियो सामग्री प्रसारण हुने कार्यक्रम बालबालिकामात्र नभई अभिभावकको समेत रुचिको विषय हुने गथ्र्यो।

वासुदेव मुनालको रेडियो बाल कार्यक्रम यती प्रभावकारी थियो कि, सो कार्यक्रम आम जनता मात्र नभई तत्कालीन दरबारम्म पनि लोकप्रिय बन्न पुगेको थियो। उनको कार्यक्रमको नियमित स्रोतामा तत्कालीन राजा वीरेन्द्रका छोराछोरी दीपेन्द्र र श्रुतिसमेत थिए। दीपेन्द्र र श्रुतिले बाल कार्यक्रम मन पराएको थाहा पाएपछि राजा वीरेन्द्रले उनलाई दरबार बोलाएर भोजनसमेत गराएका थिए।

रेडियो नेपालले २०३० सालमा आयोजना गरेको राष्ट्रिय लोकगीत प्रतियोगितामा प्रथम भएका उनले थुप्रै बालनाटक, कथा र गीत लेखन, संकलन गरेका थिए। संगीतकार स्व. नातिकाजीमार्फत् रेडियो नेपालमा प्रवेश गरेका वासुदेवले २०४५ सालमा बाल गीतकारी पुरस्कार चुमेका थिए भने मुनाल पत्रिका र सुनकेस्रा बाल पत्रिकाका सम्पादक थिए।

प्रतिक्रिया दिनुहोस्