बन्ने भयो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान



नरेन्द्र केसी ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गर्न बनेको विधेयकले व्यवस्थापिका संसद्बाट सैद्धान्तिक सहमति पाएको छ। संसद् बैठकले प्रतिष्ठानलाई सैद्धान्तिक सहमति दिएको हो।

संसद्को तेस्रो प्राथमिकतामा रहेको यो विधेयक स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको थियो। बैठकले सर्वसम्मत् रुपमा यसलाई छलफलमा लैजान सहमति दिएको थियो। ७२ घण्टा संशोधन प्रस्ताव दर्ता गर्ने म्याद रहेकाले अब बस्ने संसद बैठकमा यसमाथि दफावार छलफल हुनेछ।

कसैले संशोधन प्रस्ताव दर्ता नगराए दफावार छलफलपछि पारित हुनेछ भने संशोधन प्रस्ताव दर्ता गरिए विषयगत समितिमा लैजानुपर्ने प्रावधान छ। यद्यपि यसलाई दू्रतमार्ग (फास्टट्र्याक) बाट पारित गर्ने गरी छलफल अघि बढाइएको माओवादी केन्द्रका प्रमुख सचेतक रेखा शर्माले जानकारी दिनुभयो।

प्रतिष्ठानको विधेयक गत असोज २ गते मन्त्रिपरिषद्बाट पारित भएर संसद्मा गएको थियो। स्वास्थ्य मन्त्रालयले तयार पारेको उक्त विधयेक संसदबाट पास भएपछि यसले ऐनको रुप लिने छ। संसद्बाट पारित भएको विधेयकलाई प्रमाणिकरणका लागि राष्ट्रपति कहा” पठाइन्छ। राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि राजपत्रमा प्रकाशित हुनेछ। राजपत्रमा प्रकाशित भएपछि ऐनका रुपमा कार्यान्वयनमा आउने छ।

यस्तो छ विधेयकको प्रावधान
पश्चिम नेपालको पूजीका रुपमा हेरिएको प्रतिष्ठान गठन गर्न बनेको विधेयक पारित भएपछि राप्ती उपक्षेत्रीय अस्पताल घोराही प्रतिष्ठानमा बदलिनेछ र यसमा चिकित्सा शिक्षा पढाइ हुनेछ। विधयेकमा प्रतिष्ठानमा अध्ययन गर्ने कुल विद्यार्थी संख्याको कम्तीमा ५० प्रतिशत स्थानमा आर्थिक रुपले विपन्न विद्यार्थीलाई पूर्ण रुपमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था राखिएको छ। प्रतिष्ठानले प्रवेशिका उत्तीर्ण गरी स्वास्थ्य विज्ञानसम्बन्धी प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका विद्यार्थी तथा दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा तोकिएको अवधिभरि काम गरेका स्वास्थ्य क्षेत्रका कर्मचारीलाई एमबीबीएस अध्ययनका लागि भर्ना लिनेछ। यसरी एमबीबीएस अध्ययन गरेका चिकित्सकले प्रतिष्ठानले तोकेका ठाउ”मा ३ वर्ष सेवा गर्नुपर्ने प्रावधान पनि विधेयकमा राखिएको छ।

प्रतिष्ठानको मुख्य कार्यालय घोराहीमा रहनेछ। त्यसका लागि नवलपुरमा रहेको झन्डै बीस बिघा सार्वजनिक जग्गा हस्तान्तरणको प्रक्रिया पनि थालिएको छ। प्रतिष्ठानका अंगका रुपमा प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, सेवा आयोग, विद्या परिषद्, संकाय, अनुसन्धान केन्द्र, शैक्षिक संस्था र अस्पताल रहनेछन्। प्रतिष्ठान स्वशासित संस्था रहनेछ।

प्रतिष्ठानको सबैभन्दा माथिल्लो निकाय सभा हुनेछ, यसको अध्यक्षता कुलपतिले गर्नेछन्। २१ सदस्यीय सभामा जिल्लाका तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख र घोराही उपमहानगरपालिकाका प्रमुख सदस्य रहने व्यवस्था विधेयकमा गरिएको प्रतिष्ठान गठनका लागि स्वास्थ्य मन्त्रालयबाट नियुक्त सहजकर्ता एवं माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतमले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। त्यस्तै प्राज्ञिक परिषद्को अध्यक्षता शिक्षा अध्यक्ष, कार्यकारी परिषद्को अध्यक्षमा उपकुलपति रहने व्यवस्था गरिएको छ। प्रतिष्ठानको मुख्य उद्देश्य चिकित्सा शिक्षा सञ्चालन गर्ने हुनेछ।

त्यस्तै गुणस्तरीय र सुलभ स्वास्थ्य सेवाका लागि अस्पताल स्थापना गर्ने प्रावधान विधेयकमा रहेकोमा राप्ती उपक्षेत्रीय अस्पताल यही ऐनको व्यवस्थाअनुसार गठन भएको मानिनेछ। अस्पतालको सञ्चालन तथा व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समिति रहनेछ।

प्रतिष्ठानका पदाधिकारीको रुपमा प्रधानमन्त्री कुलपति र स्वास्थ्यमन्त्री सह–कुलपति रहनेछन् भने प्रतिष्ठानमा पूरा काम गर्ने गरी उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार, डीन र निर्देशक रहनेछन्। प्रतिष्ठान विश्वविद्यालयजस्तै स्वायत्त रहने भए पनि यसले अन्य निकायलाई सम्बन्धन भने दिन पाउनेछैन।

दाङको घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने खबरले पश्चिम नेपालका बासिन्दा हर्षित छन्। लामो समयदेखि यो प्रक्रिया चले पनि पछिल्लो पटक स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले यो प्रक्रिया अगाडि बढाएपछि यसले सार्थक रूप लिँदैछ। स्वास्थ्यमन्त्री पोख्रेलले यो कामका लागि मन्त्रालयको तर्फबाट सहजकर्ता नै तोकेर यो काम अघि बढाउनुभएको हो।

नेकपा माओवादी केन्द्र दाङका इञ्चार्ज रहेका जीवन गौतमलाई प्रतिष्ठान गठनका लागि बनेको विधेयकसम्बन्धी काम अघि बढाउन सहजकर्ता तोकेको थियो। प्रतिष्ठान गठनसम्बन्धी प्रक्रियाबारे हामीले स्वास्थ्य मन्त्रालयका सहजकर्ता गौतमसग कुराकानी गरेका छौं।
मुख्यतः यो विधेयक पारित भएपछि स्थानीय लाभान्वित हुनेमा ढुक्क हुनुहुन्छ ?

सिगों राप्ती र भेरीका केही जनता स्वास्थ्य सेवाबाट लाभान्वित हुनेछन्। साथै डोल्पाका केही भेगका जनतालाई समेत फाइदा पुग्नेछ। यो आम जनताको सरोकारको विषय हो। विधेयक पारित भएपछि प्रतिष्ठान स्थापना हुनेछ।

स्वास्थ्य क्षेत्रमा देखा परेका समस्यालाई समाधान गर्न प्रतिष्ठानको भूमिका के ?

पक्कै पनि स्वास्थ्य आम नागरिकको नैसर्गिक अधिकारको विषय हो। स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादन र उच्चस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न प्रतिष्ठानले अग्रणि भूमिका निर्वाह गर्नेछ।

प्रतिष्ठानले मूर्त रुप लिएको त छैन ?

विद्येयक पारित भएपश्चात् प्रतिष्ठानका रुपमा रहनेछ। १४ बिघा ९ कट्ठा जग्गा घोराहीको नवलपुरमा ऐलानी छ। अस्पतालको नाममा लैजान स्वास्थ्यमन्त्रीज्यूले प्रस्ताव लैजाने तयारी गर्नुभएको छ। अब निकट भविष्यमै प्रतिष्ठान बन्ने कार्य अघि बढ्छ। राप्ती उपक्षेत्रीय अस्पताल २५ शैयाबाट ५० शैयामा स्तरवृद्धि भएको हो। प्रतिष्ठानलाई मूर्त रुप दिन सबैले आ–आफ्ना क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्छ।

 

प्रतिक्रिया दिनुहोस्