क्रिकेट टोली आज हङकङ जाँदै



नेपाल समाचारपत्र,काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्व क्रिकेट लिग च्याम्पियपनसिपअन्तर्गत हङकङविरुद्ध आफ्नो छैटौं चरणको खेल खेल्न मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ।

क्रिकेट टोलीको सोमबार एक कार्यक्रमबीच बिदाइ गरिएको थियो। नेपालले हङकङस”ँग असोज २७ र २९ गते (अक्टोबर १३ र १५) खेल्ने कार्यक्रम रहेको छ। नेपालले शीर्ष चारमा अटाउन यी दुवै खेल जित्नै पर्ने दबाब पनि छ।

कप्तान पारस खड्काले जितका लागि नै खेलिने बताएका छन्। उनले भने– ‘जितकै लागि खेलिनेछ। हङकङलाई पनि जितकै आवश्यक भएको हुँदा खेलमा हामीले मेहनत गर्नुपर्ने नै हुन्छ। तापनि नतिजा हाम्रै पक्षमा हुने पनि विश्वास छ।’

त्यस्तै प्रशिक्षक जगत टमाटाले सकभर धेरै राम्रो क्रिकेट खेल्ने बताएका छन्। उनले प्रशिक्षण राम्रै भएको र टोलीले हङकङको मैदानमा जितकै लागि खेल्नेमा पनि विश्वास गरेका छन्।

सो च्याम्पियनसिपमा नेपाल छैटौं स्थानमा रहेको छ। नेपालले १० खेलबाट ८ अंक जुटाएको छ। नेपालले अवेमा एक जित र होममा तीन खेल जित हात पारेको छ। यस्तै हङकङ ११ अंकसहित नेपालभन्दा एक स्थान माथि रहेको छ। शीर्ष तीन स्थानमा नेदरल्यान्डस् (१८ अंक), पपुआ न्युगिनी (१६ अंक) र स्कटल्यान्ड (१५ अंक) रहेका छन्। केन्या शीर्ष टोली नेदरल्यान्डस्लाई हराएर १२ अंकसहित चौथो स्थानमा उक्लिएको छ।

नेपाली टोलीका कप्तान र उपकप्तानमा क्रमशः पारस खड्का र ज्ञानेन्द्र मल्लकै जिम्मामा छन्। त्यस्तै शरद् भेषवाकर, वसन्त रेग्मी, सागर पुन, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सुशील कँडेल, सुसन भारी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने टोलीमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्