नयाँ शक्ति डडेल्धुराद्वारा उम्मेदवारको नाम सिफारिस



राम धामी, डडेल्धुरा
नयाँ शक्ति पार्टी नेपाल डडेल्धुरा जिल्ला कार्यसमितिले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सर्वसम्मतरूपमा उम्मेदवारको नामावली सिफारिस गरेको छ।

प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ प्रकाशबहादुर साउद र समानुपातिकतर्फ ललिता जोरा महराको नाम सिफारिस गरिएको नयाँशक्ति नेपाल डडेल्धुराका संगठन विभाग प्रमुख लक्ष्मीकान्त पनेरूले जानकारी दिए।
यसैगरी प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ क्षेत्र नं. २ बाट लक्ष्मीकान्त पनेरू र क्षेत्र नम्बर १ बाट मोहन कठायतको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ टेकराज भट्ट र श्याम सिनालको नाम सिफारिस गरिएको नयाँ शक्ति नेपाल डडेल्धुराले जनाएको छ।

डडेल्धुरा जिल्लामा वाम गठबन्धनका तर्फबाट एक जना उम्मेदवारले मात्रै प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुनावी प्रतिस्पर्धा गर्ने भएकाले नयाँशक्ति पार्टी नेपालका उम्मेदवार प्रकाशबहादुर साउदलाई गठबन्धनका तर्फबाट उम्मेदवार बनाउन नयाँशक्ति नेपाल पार्टीले पहल गरिरहेको नयाँशक्ति नेपाल, डडेल्धुराका संयोजक टेकराज भट्टले जानकारी दिए।

नयाँ शक्ति पार्टी नेपालका नेताले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाविरुद्ध चुनावी प्रतिस्पर्धा गर्नसक्ने प्रभावशाली उम्मेदवार भन्दै साउदलाई गठबन्धनका तर्फबाट उम्मेदवार बनाउन पहल थालेका हुन्। यसअघि दुईओटा संविधानसभा निर्वाचनमा सभापति देउवाद्वारा पराजित नेकपा माओवादी केन्द्र डडेल्धुराका नेता खगराज भट्ट र संविधानसभा २०७० को निर्वाचनमा पराजित नेकपा (एमाले) डडेल्धुराका अध्यक्ष डा. तारा जोशीसमेत प्रतिनिधिसभा निर्वाचनमा सभापति देउवाविरुद्ध उम्मेदवार बन्न कसरत गरिरहेका छन्।

नेकपा माओवादी केन्द्रका नेता भट्टलाई प्रदेश नम्बर ७ को मुख्यमन्त्रीको उम्मेदवार बनाउने गरी प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धा गराउन केही नेता सक्रिय छन्।

एमाले अध्यक्ष डा. जोशीले समेत प्रदेशसभामा उम्मेदवार बन्न सक्ने अवस्था देखिएकाले नयाँशक्ति पार्टी नेपालका उम्मेदवार साउदलाई प्रतिनिधिसभाका लागि गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार बनाउन पार्टीले लविङ गरिरहेको नयाँ शक्ति पार्टी नेपाल प्रदेश नम्बर ७ का इन्चार्ज भीमबहादुर कडायतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्