हातमा आएको टिकट त्यागे एमालेका चौधरीले



गोकुल घोरसाइने, बारा

निर्वाचनमा हात पर्न लागेको पार्टीको टिकट कुनै नेता कार्यकर्ताले छाड्यो भनेको सुन्दा तपाईंलाई पत्याउन गाह्रो पर्ला। तर आश्चर्य मान्नुपर्दैन बारा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका तर्फबाट व्यवस्थापिका संसद् सदस्य बलवीर चौधरीले आगामी संसद्को निर्वाचन नलड्ने घोषणा छन्। हातमा पर्न लागेको टिकट त्यागेका चौधरीले त्याग र आदर्शको राजनिति स्थापित गर्ने प्रयास गरेको भन्दै यतिबेला जिल्लामा चर्चामा छन्।

एमाले केन्द्रीय सदस्य एवम् बारा इन्चार्जसमेत रहेका सांसद चौधरी प्रतिनिधिसभा सदस्यका लागि बारा क्षेत्र नम्बर २ का बलिया सम्भावित उम्मेदवार थिए। जिल्लाका नेता कार्यकर्ताले समेत सांसद चौधरी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने सक्ने आकलन गरेका थिए। तर धेरैको अनुमान र आशंकालाई गलत सावित गर्दै चौधरीले चुनाव नलड्ने घोषणा गरेका हुन्। चुनाव लड्ने अर्को प्रबल दाबेदारसमेत नभएको अवस्थामा सांसद चौधरीले चाहेको भए पार्टीबाट सजिलै नाम सिफारिससमेत हुने अवस्था थियो। तर चौधरीको घोषणापछि एमाले बाराले क्षेत्र नम्बर २ बाट आगामी चुनाव लडाउन जिल्ला विकास समितिका पूर्वसभापति छठुप्रसाद यादवको नाम सर्वसम्मतिले सिफारिस गरेको छ।

एउटै व्यक्तिले पटकपटक चुनाव लड्नु उपयुक्त नहुने भन्दै चौधरीले मंसिरमा हुने निर्वाचनमा अर्को नयाँ उम्मेदवार खडा गरेर जानुपर्ने निर्णयमा आफूले टिकट दाबी नगरेको सुनाए। ‘नयाँलाई उम्मेदवार बनाउँदा चुनाव जित्न पनि सजिलो हुन्छ’, चौधरीले भने– ‘एउटै व्यक्तिले पटकपटक टिकट लिएर चुनाव लड्नु जनभावना विपरीत पनि हो।’ पछिल्लो समय भएका चुनाव खर्चिलो र भड्किलो बन्दै गएकाले आफूलाई चुनाव जितेर आदर्शको राजनीति टिकाउन गाह्रो परेको अनुभव पनि चौधरीले सुनाए।

सालीन र साधा जीवन शैलीका नेताको रूपमा जिल्लामा परिचित चौधरी ०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ५ मा कांग्रेस नेता उमाकान्त चौधरीलाई अत्याधिक मतले पराजित गर्दै विजयी बनेका थिए। पहिलो संविधानसभा निर्वाचनमा भने चौधरी यही क्षेत्रबाट झिनो मतान्तरमा पराजित बनेका थिए। नयाँ संरचनाअनुसार पहिलेको ५ नम्बर हालको २ नम्बर क्षेत्रमा परेको छ। चौधरीको घर रहेको करैयामाई गाउँपालिका पनि हालको क्षेत्र नम्बरमा नै पर्छ। चौधरी यसअघि जिल्ला विकास समिति बाराको उपसभापतिसमेत रहेका थिए।

सांसद चौधरीको चुनाव नलड्ने घोषणालाई जिल्लामा पार्टीभित्र र बाहिर पनि सकारात्मक रूपमा हेरिएको छ। ‘सांसद चौधरीको निर्णय अनुकरणीय छ’, नेपाली कांग्रेसका जिल्लास्तरीय कार्यकर्ता लुकेश सिंहले भने– ‘अन्य दलका नेताले पनि चौधरीबाट सिकेर त्याग गर्न सक्नुपर्छ।’ उनले त्याग र आदर्शको राजनीतिबाट नै समाजमा परिवर्तन ल्याउन सकिने बताए।

आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमाले बाराले व्यवस्थापिका संसद् सदस्य पुरुषोत्तम पौडेलको नाम दुई क्षेत्रबाट सिफारिस गरेको छ। क्षेत्र नम्बर ६ बाट संसद् सदस्य र पूर्वखेलकुद तथा युवामन्त्रीसमेत रहेका पौडेलको नाम क्षेत्र नं. १ र ३ बाट सिफारिस भएको हो। नयाँ संरचनाअनुसार क्षेत्र नं. ६ हालको एक, तीन र चार नम्बर क्षेत्रमा विभाजित छ। एमालेले प्रतक्ष निर्वाचनतर्फ क्षेत्र नम्बर १ बाट पौडेलसहित केन्द्रीय सल्लाहकार सदस्य अच्युत मैनाली र प्रमिला चौधरीको नाम पनि सिफारिस गरेको छ।

क्षेत्र नम्बर २ मा वर्तमान सांसद चौधरीको चुनाव नलड्ने घोषणापछि सिफारिसमा परेका छठुप्रसाद यादवले एमालेबाट टिकट पाउने निश्चित जस्तै छ। क्षेत्र नम्बर ३ मा अध्यानन्द पाण्डे र बिना खड्काको नाम पनि सिफारिसमा परेको छ। क्षेत्र नम्बर ३ मा सर्वसम्मत हुन नसकेपछि मतदान भएको थियो। मतदानमा एमाले नेता पाण्डेले १५, सांसद पौडेलले १० र शिवनारायण साहले ९ मत ल्याएका थिए।

प्रतिक्रिया दिनुहोस्