विभिन्न दलद्वारा उम्मेदवारको नाम सिफारिस



नेपाल समाचारपत्र,ललितपुर ।
प्रमुख राजनीतिक दलका जिल्लास्तरीय कमिटीले ललितपुरमा केन्द्र र प्रदेशको चुनावका लागि नाम सिफारिस गरेको छ।

बहालवाला सांसदसँगै नाम सिफारिस गरिएकामा केही प्रतिस्पर्धी जिल्लादेखि केन्द्रसम्म पहुँचवाला भएकाले चुनौती बढेको छ। ललितपुरको क्षेत्र नम्बर १ मा केन्द्रमा राज्यमन्त्री उदयशमशेर राणासहित खोमप्रसाद घिमिरेको नाम सिफारिस भएको छ।

क्षेत्र नम्बर दुईमा बहालवाला सांसद चन्द्र महर्जनसहित पूर्वसांसद रामकृष्ण चित्रकार र युवा नेता बाबुराजा चित्रकारको नाम सिफारिस भएको छ। दुवै जना नेविसंघको राजनीतिबाट आउनुभएको थियो।

रामकृष्ण पूर्वउपाध्यक्ष हुन् भने बाबुराजा पूर्वसह–महामन्त्री हुनुहुन्छ। त्यस्तै ३ नम्बर क्षेत्रमा ललितपुर कांग्रेस सभापति मदन अमात्यसहित धन खतिवडाको नाम सिफारिस भएको छ। अमात्य बहालवाला सांसद पनि हुनुहुन्छ।

धन नेपाल महिला संघकी महासचिव हुनुहुन्छ। क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा मधुराप्रसाद घिमिरे र ऋषिराम घिमिरे, ‘ख’ मा मीनकृष्ण महर्जन र कबेलबहादुर लामाको नाम सिफारिस भएको छ। क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा कृष्ण महर्जन र अनन्तप्रकाश श्रेष्ठ, ‘ख’ मा गणेश सिलवाल र पवनविक्रम थापाको नाम सिफारिस भएको छ।

क्षेत्र नम्बर ३ को प्रदेश ‘क’ मा नवराज महत, उर्मिला केसी र चक्र महर्जनको नाम सिफारिस गरिएको छ। ‘ख’ मा जितेन्द्रकुमार श्रेष्ठ, प्रमोद शर्मा र गोकुल खड्काको नाम सिफारिस भएको छ।

नेकपा एमालेले पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गरी माथिल्लो कमिटीमा पठाएको छ।

जिल्ला कमिटीको बैठकले संघका लागि निर्वाचन क्षेत्र नं. १ मा हालै पार्टी प्रवेश गरेका पूर्वडीआईजी नवराज सिलवाललाई उम्मेदवार बनाउन प्रस्ताव गरेको छ। सो क्षेत्रमा मधुसूदन पौडेल, पुरुषोत्तम आचार्य र श्याममाया कार्कीको थप नाम सिफारिस भएको छ।

यस्तै, क्षेत्र नं. २ मा कृष्णलाल महर्जनको नाम सर्वसम्मत भएको छ। क्षेत्र नं. २ को ‘क’ मा माधव पौडेल र ‘ख’ का लागि अष्टवीर व्यञ्जनकार, श्यामगोपाल महर्जनको नाम सिफारिस गरिएको छ। निर्वाचन क्षेत्र नं. ३ मा प्रमेश हमाल, रघुजी पन्त र सुशीला नेपालको नाम सिफारिस भएको छ। क्षेत्र नं. ३ ‘क’ का लागि देवकी श्रेष्ठ, रघुनाथ महर्जन र राजेन्द्र श्रेष्ठ तथा ‘ख’ का लागि कल्पना अधिकारी, जीवन खड्का, दामोदर खड्का, राजेन्द्र थापामगर, स्वयम्भुराज डंगोल, सुकुमाया लामा, हरिकृष्ण थापा सिफारिस गरिएको जिल्ला कमिटीले जनाएको छ।

उम्मेदवार चयनका लागि नेकपा माओवादी केन्द्र ललितपुरको प्रक्रिया अघि बढिरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्