भूकम्पपीडितले थप ३ लाख निब्र्याजी ऋण पाउने



काठमाडौं, (नेस) ।
भूकम्पपीडितले सरकारी अनुदानमा बन्दै गरेको घर नै धितो राखेर थप ३ लाख निब्र्याजी ऋण पाउने भएका छन्। मन्त्रिपरिषद्को सोमबार बैठकले सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि संशोधन गरेपछि सो अवस्था आएको हो।

अब धितो जमानीबाट निब्र्याजी ऋण उपलब्ध गराइने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो। सरकारले भूकम्पपीडितलाई सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि बनाएको थियो। तर, बैंकले बिनाधितो ऋण दिन अस्वीकार गरेपछि सरकारले कार्यविधि संशोधन गरेर धितो जमानी राख्ने व्यवस्था गरेको हो। यो निर्णयसँगै भूकम्पपीडितले बन्दै गरेको घर नै जमानीमा राखेर ३ लाख निब्र्याजी ऋण लिन सक्नेछन्।

त्यसै गरी बैठकले राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगको दरबन्दी, संगठन संरचना पनि स्वीकृत गरेको छ। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोग बनाउनुपर्ने हुन्छ। सोही आयोगका लागि आवश्यक जनशक्ति र संगठन संरचनासम्बन्धी प्रस्तावलाई सरकारले स्वीकृत गरेको हो।

प्रतिक्रिया दिनुहोस्