स्वर साम्राज्ञी अरूणा लामा



अरूणा लामाको जन्म दार्जीलिङको घुम पहाडमा वि.सं. २००२ भदौ २४ गते आइतबार भएको थियो । दार्जीलिङमै बसेर पनि उनी विश्वभरि छरिएर बसेका संगीतप्रेमी नेपालीहरूमाझ लोकप्रिय बनिन् । उनले आठ वर्षकै उमेरमा आफ्नै काका सीबी लामाको शब्द रचना र संगीत सृजना रहेको मन मन्दिरमा कृष्ण तिमी आऊ बोलको भजनबाट आफ्नो संगीत यात्रा थालनी गरेकी थिइन् । उनका पिता सूर्यबहादुर तामाङ सैनिक सेवामा थिए भने अवकास पाएपछि उनी आफ्नै भाई सी.बी. लामासित सँगै बसेका थिए । यसरी अरूणा लामाको संगत संगीतका पारखी काकासित भएको थियो ।

उनको काकाले उनलाई संगीतकार अम्बर गुरुङको आर्ट एकेडेमीमा भर्ना गरी दिए । सन् १९५६ जुलाई महिनामा त्यस ऐकेडेमीमा आबद्ध हुन गएकी अरूणा लामाले चार महिनापछि १९५६ अक्टोबरमा गोर्खा दुःख निवारक सम्मेलनले आयोजना गरेको नेपाली संगीत प्रतियोगितामा भाग लिई याद अतीतको सम्झी सम्झी बोलको गीत गाएर दोस्रो पुरस्कार जितिन् । पहिलो पटक भाग लिंदा दोस्रो भएकी अरूणा लामा त्यसपछि आयोजित सोही संगीत स्पर्धामा १९५७ देखि १९६१ सम्म निरन्तर प्रथम पुरस्कार जित्न सफल भएकी थिइन् ।

अरूणा लामाको विलक्षण प्रतिभाबाट असाध्यै प्रभावित भई संगीतका ज्ञाता अम्बर गुरुङले आफ्नै संगीतमा १९६१ तिर कलकत्ताको हिन्दुस्तान रेकर्डिङ कम्पनीमा लगेर कवि भूपी शेरचनको शब्द रहेको किन यो मन उदास छ मेरो गीत रेकर्ड गराएका थिए । उनको स्वरमा रेकर्ड गरिएको दोस्रो गीत ए कान्छा मलाई सुनको तारा खसाई देऊ न का संगीतकार पनि अम्बर गुरुङ नै हुन् भने यो गीतको शब्द रचना पासाङ वाङबलको रहेको थियो ।

अरूणा लामाको विवाह संगीतकार शरण प्रधानसित २०२० असार २५ गते सम्पन्न भयो । अरूणा लामा र शरण प्रधानको भेट सांगीतिक यात्रामा नै भएको थियो । त्यति बेला उनी तेह्र वर्षकी मात्र भएकी थिइन् । उनीहरूबीच करिब ६ वर्ष जति प्रेमसम्बन्ध चल्यो र पछि विवाह भयो । शरण प्रधानको संगीतमा अरूणा लामाले गाएको हेर न हेर कान्छा डाँडाँलाई फूलले ढाक्यो गीत धेरै लोकप्रिय भएको थियो ।
पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालें, हाँसी हाँसी जति रहें, उदास मेरो जीवनकथा कसैलाई भनिन, सबैले भन्थे यस्तै हुन्छ माया लगायतका थुपै्र लोकप्रिय अनि कालजयी गीतहरूमा आफ्नो स्वर माधुर्यता प्रदान गरेर गएकी अरूणा लामाले चलचित्रतिर गाएको पहिलो गीत भनेको ‘माइतीघर’ चलचित्रको काला कुर्तैले तीन महिने जागिरे खाएँ हो । यहीँबाट उनको चलचित्रमा पाश्र्व गायनको यात्रा शुरू भयो अनि ‘परालको आगा’ को उडी जाऊँ भने त नेपाली सांगीतिक क्षेत्रको कोसेढुंगा नै साबित हुन पुग्यो । ‘कान्छी’ चलचित्रको लागि स्वर सम्राट् नारायण गोपालसितको युगल स्वर रहेको गीत कल कल छलछल बगी जाने खोला र हिमालसरि म पनि उल्लेखनीय छन् ।

अरूणा लामालाई भारतको कलकत्ताको हिमालय रेकर्डिङ कम्पनीले ‘पहाडकी नाइटिंगेल’ को उपमा दिएर सम्मानित गयो भने काठमाडौं सीताराम साहित्यिक प्रतिष्ठानले सन् १९९३ मा स्वर किन्नरीको उपाधि प्रदान गरेको थियो । पछि सन् १९९८ तिर दार्जीलिङका संगीतप्रेमीहरूले अरूणा लामालाई स्वर साम्राज्ञीको संज्ञा दिएर सम्मानित गरे । गोरखा दक्षिणबाहु, छिन्नलता पुरस्कार, उर्वशी पुरस्कार, भानु संगीत पुरस्कार, सिक्किम नेपाल परिषदबाट मित्रसेन स्मृति पुरस्कार र कलकत्ताबाट दिसारी पुरस्कारबाट थुपै्र पदक, पुरस्कार, मान सम्मान र विभूषण विभूषित अरूणा लामाले करिब पाँच सय गीतमा आफ्नो स्वर प्रदान गरेकी थिइन् भने तीमध्ये तीन सयवटा जति गीत रेकर्ड भएको देखिन्छ । ५३ वर्षको उमेरमै कलेजोको रोगले सताएपछि उपचारको लागि काठमाडौं आएकी अरूणा लामालाई कुनै पनि औषधोपचारले बचाउन सकेन र अन्ततः २०५४ साल माघ २२ गते उनी यो संसारबाट बिदा भइन् ।

प्रतिक्रिया दिनुहोस्