स्वर किन्नरी तारादेवी



 

नेपालको सांगीतिक आकाशमा नारायण गोपाल स्वर सम्राट्का रूपमा अमर भए भने गायिका तारादेवी स्वर किन्नरी कहलिइन् । विसं. २००२ माघ २ गते काठमाडौंको इन्द्रचोकमा जन्मेकी तारादेवीका पिता कृष्णबहादुर कार्की र आमा राधादेवी कार्की हुन् । तारादेवीले आफ्नो गायन यात्रा पाँच वर्षकै उमेरमा शुरू गरेकी थिइन् । उनी भैरवबहादुर थापासँगै लागेर रेडियो नेपाल पुगेकी थिइन् ।

त्यति बेला गीत रेकर्ड गर्ने प्रविधिको विकास भइसकेको थिएन । त्यसैले बालगायिकाको रूपमा सांगीतिक यात्रा थालनी गरेकी तारादेवीले त्यहाँ प्रत्यक्ष गीत पनि गाइन् । शुरू–शुरूमा गीत गाउँदा कुनै पारिश्रमिक नपाए पनि पछि रेकर्ड गर्ने प्रविधि नेपाल भित्रिएपछि भने रेडियो नेपालले गीतकार, गायक, संगीतकारलाई पनि पारिश्रमिक दिन थाल्दा तारादेवीले पनि पाँच रुपियाँ पारिश्रमिक पाएकी थिइन् ।
औपचारिक शिक्षातर्फ तारादेवीले प्रवेशिका परीक्षा (हाल एसएलसी सरह) उत्तीर्ण गरेकी थिइन् भने सांगीतिक शिक्षातर्फ उनले स्नातक उपाधि हासिल गरेकी थिइन् । यसरी आफ्नो योग्यतालाई वृद्धि गरेकी तारादेवीले रेडियो नेपालमा तीस वर्ष जति जागिरे जीवन बिताइन् । तारादेवीको २०२२ सालमा विमान चालक शिवबहादुर श्रेष्ठसँग प्रेमविवाह भएको थियो भने उनीहरूकी एउटी छोरी चारु र दुई छोरा शशी र रविमध्ये शशीको भने असामयिक निधन हुन पुगेको थियो ।

आधुनिक, लोकगीत, भजन, राष्ट्रिय गीत र चलचित्रका गीतहरूसमेतमा आफ्नो स्वर माधुर्यता छर्न सफल तारादेवीले ‘आमा’ चलचित्रमा पनि पाश्र्व गायन गरिन् । यसरी तारादेवी नेपाली चलचित्रमा पाश्र्व गायन गर्ने पहिलो गायिका बनिन् । गीति नाटकमा गीत गाउने पहिलो गायिका पनि तारादेवी नै थिइन् । उनले मुनामदन, मालती मंगले, शकुन्तला, अन्धवेग, राजकुमार विश्वन्तरलगायतका नाटक र गीति नाटकहरूमा गीत गाएकी थिइन् । सांगीतिक क्षेत्रका धेरै कुरामा पहिलो हुने कीर्तिमान बनाएकी थिइन् । स्वर सम्राट् नारायण गोपालसँग युगल गीत गाउने पहिलो गायिका पनि तारादेवी नै हुन् ।

नेपाली चलचित्रहरूमा तारादेवीले गाएको वनमा फुल्यो फूलैफूल असाध्यै लोकप्रिय भएको गीत हो । ‘सिन्दुर’ को यो गीत त्यति बेला सबैको मुखमुखैमा झुन्डिएको थियो भन्दा फरक पर्नेछैन । तारादेवीले गाएका चलचित्र गीतहरूमा ‘मनको बाँध’ को फूलको थुंगा, ‘जीवन रेखा’ का गीतहरू हराएझैं लाग्छ र को हुँ म, ‘कुमारी’ का मनमा माया तनमा माया र आँखाहरूले चिन्न नखोजे ओठहरूले बोल्न नखोजे आदि गीतहरू अहिले पनि अविस्मरणीय गीतहरूका रूपमा लिइन्छ । यी गीतहरूका अलावा तारादेवीले हिजो आज भोलि, कुमारी, पच्चीस वसन्त, माया, शान्तिदीप लगायतका चलचित्रहरूमा आफ्नो स्वर प्रदान गरेकी थिइन् ।

चार दशकभन्दा लामो समय संगीत क्षेत्रमा बिताएकी तारादेवीले संगीत क्षेत्रमा पुर्याएको अतुलनीय योगदानबापत थुपै्र पदक, सम्मान र विभूषणहरूमध्ये इन्द्रराज्य लक्ष्मी प्रज्ञा पुरस्कार, जगदम्बा श्री, छिन्नलता पुरस्कार, मैना पुरस्कार, नई सम्मान, सुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु प्रथम, महेन्द्ररत्न आभूषण, गद्दी आरोहण पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक प्रमुख मान्न सकिन्छ । ६१ वर्षकै उमेरमा असाध्य रोग पार्किन्सनले थलिएकी तारादेवीको २०६२ माघ ८ गते राति १० बजे नर्भिक अस्पतालमा निधन भयो ।

प्रतिक्रिया दिनुहोस्