संगीतका तारा अम्बर गुरुङ



 

नेपालको सांगीतिक आकाशका अप्रतिम संगीतज्ञ अम्बर गुरुङको जन्म विसं १९९४ फागुन १४ दिन दार्जिलिङको लालढिकीमा भएको हो । बुबा उजिरसिंह गुरुङ र आमा रेणुका गुरुङको कोखबाट जन्मेका अम्बर गुरुङको पुख्र्यौली घर नेपालमा गोरखा जिल्लाको रिसिङ हो । उनको हजुरबुबा देवराज गुरुङ र बुबा उजिरसिंह गुरुङ सेनामा सेवा गरेका व्यक्तित्वहरू थिए भने संगीत क्षेत्रमा अद्वितीय योगदान पुर्याएका अम्बर गुरुङ गणतान्त्रिक नेपालको राष्ट्रिय गान ‘सयौं थुँगा फूलका हामी’ का संगीतकार हुन् । उनको अनुपम र अद्वितीय योगदानका कारण नेपाली सेनाले उनलाई सम्मानार्थ महासेनानी उपाधि पनि प्रदान गरेको थियो ।

विसं २०११ सालमा वीणा सिंहसँग उनको शुभ विवाह सम्पन्न भएको थियो भने उनका तीन छोराहरू किशोर गुरुङ, राजु गुरुङ र शरद गुरुङ तथा छोरी अलका गुरुङ गरी चार सन्तान छन् । अम्बर गुरुङको सांगीतिक यात्रा बीस वर्षको उमेरमा विसं २०१६ सालमा शुरू भएको हो । शुरूमा उनले ‘म अम्बर हुँ’ र ‘सम्हालेर राख’ जस्ता गीतबाट आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए भने उनको यात्रा भारतको कलकत्ताबाट शुरू भएको हो । संगीतज्ञ अम्बर गुरुङले सन् १९६१ मा सबैभन्दा पहिला रेकर्ड गराएको गीतका गीतकार अगमसिंह गिरी हुन् । त्यो गीतको बोल ‘नौलाख तारा उदाए’ रहेको थियो भने त्यो गीत बजारमा आएको हप्ता दिनभित्रै पाँच सय थान बिक्री भई रेकर्ड कायम गरेको थियो ।

भारतको भूमिमा संगीत क्षेत्रमा रमाउँदै आएका संगीतप्रेमी अम्बर गुरुङ नेपालका राजा महेन्द्रबाट नेपाल आउने निमन्त्रणा पाएपछि विसं २०२४ सालमा उनी नेपाल आए । त्यति बेला राजाको जन्मोत्सवको अवसरमा विभिन्न सांगीतिक र साहित्यिक उत्सवहरू गर्दथ्यो भने त्यस्तै उत्सवका लागि नेपाल निम्त्याइएका अम्बर गुरुङलाई राजा महेन्द्रले विसं २०२६ सालमा तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानका प्राज्ञ भएर बस्न आग्रह गरे ।

राजाको आग्रहपछि उनी नेपालमै बसे । संगीत विशेषज्ञका रूपमा प्रज्ञा प्रतिष्ठानमा सम्मिलित भएका संगीतका तारा अम्बर गुरुङले सोही प्रतिष्ठानले मञ्चन गरेको ‘फर्केर हेर्दा’ नाटकलगायत जब घाम लाग्छ, पहाड चिच्याइरहेछ तथा मालती मंगले र मुनामदनजस्ता सर्वाधिक लोकप्रिय गीतिनाटकहरूको संगीत
सिर्जना गरे ।

नाट्य जगत्बाट चलचित्रतिर नेपालको मनोरञ्जन उद्योग विस्तारित हुँदै जाँदा भारतबाट नेपाल आएर चलचित्र बनाउन आएका निर्देशक प्रकाश थापाले अम्बर गुरुङलाई ‘मेरो देश’ चलचित्रको संगीत सिर्जना गर्दै उनी चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । तर प्रकाश थापाले बनाउने भनेको ‘मेरो देश’ चलचित्र बन्दै बनेन । निर्देशक थापाले चलचित्र ‘जीवनरेखा’ मा पनि अम्बर गुरुङले संगीत सिर्जना गरेको मात्र नभई ‘कहीं आफ्नो भुमरीमा’ बोलको एउटा गीतमा स्वर पनि प्रदान गरे । त्यति बेला उनलाई भारतका विख्यात संगीतकार एसडी बर्मनसित तुलना गरिएको थियो भने भारतीय संगीतकार बर्मनले राजेश खन्ना र शर्मिला टैगोरको सुपरहिट चलचित्र ‘आराधना’ मा गाएको सफल होगी तेरो आराधना र देव आनन्द र वहिया रहमानको ‘गाइड’ को यहाँ कौन है तरा सँग जीवन रेखा चलचित्रको कहीं आफ्नो भुमरी गीतको तुलना गरी चर्चा गरिएको थियो । अम्बर गुरुङद्वारा संगीतबद्ध सपना कतिपयको एउटा आगलागीमा परेर सबै दिल ध्वस्त भएको थियो ।

अम्बर गुरुङले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा विभिन्न पदमा रहेर सेवा गरेका थिए । विसं २०५४ सालमा राजकीय प्रज्ञा प्रतिष्ठानबाट अवकाश पाउनु अगाडिसम्ममा संगीतज्ञ गुरुङले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कालजयी कृतिहरू ‘कुञ्जीनी र मुनामदन’ गीति नाटकका लागि संगीत सिर्जना गरेका थिए । त्यसै गरी उनले शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीका चारवटा नाटक एवं राष्ट्रकवि माधव घिमिरेको मालती मंगलेका संगीतकारका रूपमा संगीतको सेवा गरे । उनको योगदान गीत र संगीत क्षेत्रमा मात्र नभई साहित्य क्षेत्रमा पनि रह्यो । शंकर लामिछाने निबन्ध कोषका प्रथम अध्यक्ष रहेका संगीतज्ञ गुरुङले केही निबन्धहरू पनि लेखेका थिए । यसरी नै संगीत तथा नाट्य कला प्रतिष्ठानको प्रथम कुलपतिसमेत रहिसकेका संगीतज्ञ अम्बर गुरुङलाई उनले संगीत क्षेत्रमा पुर्याएको योगदान र राष्ट्रिय गानको गीत सिर्जना गरेबापत नेपाल सरकारले मासिक तीन हजार रुपियाँ भत्ता दिँदै आएको थियो । विसं २०२७ सालमा पहिलोपटक राजा महेन्द्रको हातबाट गोरखा दक्षिणबाहुबाट विभूषित अम्बर गुरुङ असंख्य मानपद्वी, अलंकार, सम्मान, पुरस्कारबाट सम्मानित अप्रतिम संगीतिज्ञ अम्बर गुरुङको ७९ वर्षको उमेरमा जेठ २५ गतेका दिन आकस्मिक निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्