दीप श्रेष्ठ सेन्टिमेन्टल किङ



 

विजयरत्न तुलाधर⁄ दिरेकलाल श्रेष्ठ

आधुनिक नेपाली संगीतका ताराहरूको चर्चा गर्दा अग्रपंक्तिमा आउने नाममध्ये एक नाम हो, दीप श्रेष्ठ । उनका प्रत्येक गीत भावपूर्ण शब्द र संगीत सिर्जनाको अनुपम उदाहरण मान्न सकिन्छ । आफ्नो ५० वर्षे संगीत साधनामा उनले नेपाली संगीतको आकाशलाई एउटा नौलो शैली दिएका छन् । २०२० सालमा संगीत आकाशमा उदाएका दीप श्रेष्ठ ख्याति प्राप्त गायक मात्र नभई, सशक्त सांगीतिक व्यक्तित्व हुन् । उनी एक रचनाकार पनि हुन् अनि अद्वितीय संगीतकार पनि । ५ दशकभन्दा लामो समय संगीत क्षेत्रमा बिताउनु भनेको आफँैमा एउटा अतुलनीय योगदान अनि अवर्णनीय उदाहरण हो ।

२०२५ सालको पुस ३ गतेका दिन पहिलो गीत म पत्थरको देवता होइन रेकर्ड गराएर औपचारिक यात्रा शुरू गरेका गायक श्रेष्ठ सांगीतिक नारायण गोपाल, पे्रमध्वज प्रधान, बच्चु कैलाश, माणिकरत्न स्थापित र पुष्प नेपालीहरूजस्ता एकसे एक गायकले भरिएको चुनौतीपूर्ण सांगीतिक आकाशमा पनि आफूलाई चम्किलो ताराका रूपमा चम्काउन सफल भए । यसमा उनको सुमधुर अनि सुरिलो स्वरको महङ्खवपूर्ण भूमिका त छँदै थियो, त्यसबाहेक कर्णप्रिय संगीत र मानवीय संवेदनाले भरिपूर्ण शब्द रचनाको अभूतपूर्व संगमका कारण स्रोताको मनमा गहिरो छाप छोड्न सफल भयो । त्यस्तो ठूलो चुनौतीपूर्ण कालमा आफ्नो सांगीतिक यात्रा शुरू गरेका यी सेन्टिमेन्टल किङले आजसम्म पनि उस्तै लोभलाग्दो लोकिप्रियता कमाइरहेका छन् ।
क्रान्तिको पृष्ठभूमिमा जन्म

२००७ सालतिरको कुरा हो, त्यति बेला तानाशाह राणा शासकहरूको विरुद्धको आन्दोलन चर्किरहेको थियो । धरानमा पनि क्रान्तिकारीहरू र राणाशासक बीचको संघर्ष चर्मोत्कर्षमा पुगेको थियो । घरपकड पनि व्यापक रूपमा भइरहेको थियो, त्यसैले धरानबाट महिला तथा बाल बालिकालाई धनकुटातिर सुरक्षित रूपमा सारिनुपर्ने अवस्था आयो । यसै क्रममा २००७ साल पुस १ गतेका दिन धनकुटामा दीप श्रेष्ठको जन्म भयो । जय नारायण श्रेष्ठकी कान्छी श्रीमती इन्दिरा श्रेष्ठका यो जेठो छोराको तीन बहिनी तथा ठूली आमातिरबाट दुई दाजु र दुई दिदी छन् । राणा शासकविरुद्धको आन्दोलन सकियो । २००७ साल फागुन ७ गते देशमा प्रजातन्त्र आयो । तर उनको परिवार केही समयसम्म धरान झरेनन्, धनकुटामै रहे ।

एकपटक दीप बाटोमा हिँड्दै गर्दा किताबबाट च्यातिएको एउटा पानाको टुक्रा भेट्टाएछन् । त्यसमा दुःखको दिल टुटेको मन बोलको गीत लेखिएको रहेछ । त्यो गीतले भावुक स्वभावका दीप श्रेष्ठको मन छोएछ । त्यति बेला उनी १५ वर्षका मात्र थिए । पन्ध्र वर्षे किशोर उमेरका दीप श्रेष्ठले त्यसलाई लयबद्ध गरे र साथीहरूलाई सुनाए ।

त्यहीं दीप श्रेष्ठले बामे सर्न सिके । प्रजातन्त्र आए पनि केही समयसम्म धरानको वातावरण भने साम्य हुन सकेन । साम्य भएपछि मात्र उनको परिवार धरान झर्यो । त्यहीं दीप श्रेष्ठले सांगीतिक वातावरणको अनुभव गर्ने अवसर पाए । उनको बुबा संगीतमा सोख राख्थे । ‘घरमा एउटा सांगीतिक माहोलमा जम्ने कोठा थियो । बुवा भारतबाट उस्तादहरू बोलाएर संगीतको आनन्द लिने गर्नुहुन्थ्यो । कोठा ठूलै थियो । उस्तादहरू बसेर गाउँथे । टोल छिमेकका साथीभाइ र आफन्तहरू जम्मा भएर संगीतको रस्वादन गर्थे’ –सुमधुर स्वरका धनी दीप श्रेष्ठ बाल्यकालमा अनुभव गरेको सांगितिक माहौलको स्मरण गर्दै सुनाए । सितारवादक गणेश भण्डारी र संगीतकार नरराज ढकाल उनको बुबाको साथीहरूमा पर्दथे ।

पितृशोकले जन्म्यो विरही गीत

‘त्यति बेला भारतबात इसाई धर्मालम्बी बृटिस पुजारी (फादर) हरू गाउँगाउँमा आएर शिक्षाको प्रचार गर्थे । गाउँका केटाकेटीलाई निःशुल्क पढाइदिने प्रस्ताव राख्थे । म पनि उनीहरूसँगै भारतको कालिङपोङको मिसनरी स्कुल गएर पढ्न गएँ’ –दीपले फेरि बाल्यकाल सम्झे । तर उनी पढाइमा भने खासै ध्यान दिँदैन थिए रे । यसो भन्दैमा उनी गीतसंगीतमा बढी ध्यान दिन्थे भन्ने पनि होइन । १२ वर्षको हुँदा बुबाको आकस्मिक निधन भएपछि उनको पढाइमा नराम्रो असर पर्न गयो । ‘बुबा बितेपछि उहाँको यादले सताउन थाल्यो । उहाँले जमाउने गर्नु भएको सांगीतिक माहोलको सम्झना आउन थाल्यो । बुबा बितेको पीडा मनमा थियो । सायद पीडाले होला मलाई विरहले भरिएका हिन्दी गीतहरू खुबै मन पर्न थाल्यो । धरानमा मेरो घरको नजिकै एउटा कल्चरल ग्रुप पनि थियो । मेरो मन त्यहाँ रम्न थाल्यो । नाच गान वा खुसीका गीतभन्दा पनि विरहका गीततिर नै बढी आकर्षित हुने गर्थें’ –विशेष गरी विरहका गीतका लागि ख्याति कमाएका दीपले त्यस्ता गीतमा जम्नुको रहस्य खुलाए ।

दीपलाई बुबा हुँदासम्म संगीतमा खासै रुची रहेनछ । बुबाको निधनपछि अभिभावकत्वको अभावमा संगीतप्रति लगाव बढेको रहेछ । त्यसै बेला विराटनगरमा एउटा भव्य सांगीतिक कार्यक्रम हुन लागेको रहेछ । त्यति बेला उनी सायद धरान पब्लिक स्कुलमा आठ कक्षामा पढ्दै थिए । त्यो सांगीतिक कार्यक्रममा काठमाडौंबाट नारायण गोपाल, बच्चु कैलाश, शिवशंकर मानन्धर तारादेवीलगायतका नाम चलेका गायकगायिकाहरू पुगेका थिए । त्यो सम्मेलनमा गायिका नूपुर बैनर्जीका बुबाले सबै मिलाउने जिम्मेवारी सम्हालेका थिए । विराटनगरको नजिकै धरानमा पनि राम्रो बाजा बजाउनेहरू छन् भन्दै उनीहरूलाई पनि बोलाउने निर्णय भएपछि दीप श्रेष्ठ पनि विराटनगर पुगे । त्यहाँ उनले बेन्गो बजाएर देखाए । ‘मैले बजाएको बेन्गोको धेरैले प्रशंसा गरेपछि मेरो त खुसीको ठेगानै भएन’, पहिलो पटक प्रसंशित हुँदाको क्षण सम्झँदै उनले सुनाए– ‘यसरी संगीतप्रतिको रुची झन्झन् बढ्न थालेको थियो । तिहारमा देउसी भैलो खुबै चल्थ्यो । हामी समूह बनाएर आधा रातसम्म देउसी भैलीमा जम्थ्यौं । देउसी गाउँदा सबैले मेरो स्वरको तारिफ गर्थे र गायक बन भन्थे । सायद सबैले हौसला बढाएकैले होला मेरो पाइला यसतर्फ बढ्दै गए । तर मैले बढीभन्दा बढी विरहका गीत सुनेकाले होला, मेरा गीतहरू पनि विरहले भरिएको हुने गथ्र्याे ।’


अन्जानमै राजाको गीत कम्पोज

एकपटक दीप बाटोमा हिँड्दै गर्दा किताबबाट च्यातिएको एउटा पानाको टुक्रा भेट्टाएछन् । त्यसमा दुःखको दिल टुटेको मन बोलको गीत लेखिएको रहेछ । त्यो गीतले भावुक स्वभावका दीप श्रेष्ठ मन छोएछ । त्यति बेला उनी १५ वर्षका मात्र भएका थिए । पन्ध्र वर्षे किशोर उमेरका दीप श्रेष्ठले त्यसलाई लयबद्ध गरे र साथीहरूलाई सुनाए । साथीहरूले पनि रामै्र माने । धेरै पछि मात्र उनलाई थाहा भयो कि त्यो त मबीबी शाहले लेखेको रहेछ । त्यसमा संगीत प्रवीण नरराज ढकालले संगीतबद्ध गरेर गीत पनि बनाइसकेका रहेछन् । ‘गीत बनिसकेको थाहा भएपछि मैले त्यो पाना नै च्यातेर फालिदिएँ’ –उनले स्मरण सुनाए ।

यसरी पन्ध्र वर्षको कलिलो उमेरमा अन्जानमै राजा महेन्द्रद्वारा रचित गीतमा संगीत भर्न पुगेका किशोर दीप ०२५ सालको पुस १ गते राष्ट्रिय नाचघरमा आयोजित एउटा सांस्कृतिक कार्यक्रममा भाग लिनका लागि काठमाडौं आएका थिए । त्यति बेला हरेक साल पुस १ गते संविधान दिवसको अवसर पारेर सांस्कृतिक कार्यक्रमको आयोजना हुने गथ्र्यो । ‘राजा महेन्द्र स्वयं सवारी भई नजर हुने त्यस्ता कार्यक्रममा त्यति बेला धरानको टोलीले शिलान्यास नामक नाटक देखाएको थियो । नाटकको एक अंकपछि पर्दा बन्द भएदेखि अर्को अंकका लागि पर्दा नउघारिएसम्म दर्शकलाई न्यास्रो नहोस् भन्ने हुेतुले त्यो खाली ठाउँ भर्न मलाई गीत गाउन लगिएको थियो’, गीतसंगीतका पनि यी दीपले स्मृतिका पाना पल्टाउँदै सुनाए– ‘त्यति नै बेला मैले मेरो जीवनको पहिलो गीतको रूपमा म पत्थरको देवता होइन गीत गाएको थिएँ । त्यसपछि मैले मायालु रूप छ तिम्रो, प्यार गरें त के बिराएँ पनि गाएँ ।’

दीपको गीत सुनेर राजा महेन्द्र अत्यन्त प्रभावित भएछन् । राजाको आदेशपछि उनले रेडियो नेपालमा तत्कालै गीत गाउने अवसर पनि पाए । २०२५ साल पुस १ गते राष्ट्रिय नाचघरमा राजा महेन्द्रसमक्ष गीत प्रस्तुत गरेका गायक श्रेष्ठले त्यसलगत्तै २०२५ साल पुस ३ गते रेडियो नेपालमा गीत रेकर्ड गराउने अवसर पाए । त्यहाँ रेकर्ड भएको उनको पहिलो गीत म पत्थरको देवता होइन नै थियो । त्यति बेला रेडियो नेपालमा वाद्यवादकहरू त्यति धेरै हुँदैन थिए । ‘गीत रेकर्डिङको बेला नातिकाजी दाइले पियानो बजाउनुभयो । शिवशंकर दाइले पनि एउटा बाजा बजाइदिनुभएको थियो । त्यति बेला त पहिलो रेकर्डिङको जोसमै थिएँ । अहिले पो नातिकाजी दाइ र शिव शंकर दाइजस्ता मूर्धन्य व्यक्तित्वहरूको पनि मेरो पहिलो गीतमा वाद्यवादनमा साथ रहेको थियो भन्ने सम्झिँदा मन हर्षले गद्गद् हुन्छ’ –दीपले भावुक हुँदै सुनाए ।

आफ्नै गीत सुन्न पाएनन्

दुईवटा गीत रेकर्ड गरेपछि दीप धरान नै फर्के । उनी धरान फर्किनु पनि म पत्थरको देवता होइन लोकप्रियताको शिखर चढ्नु सँगसँगै हुन थाल्यो । तर दीप आफैँले भने रेडियोमा त्यो गीत बजेको सुन्न पाएका थिएनन् । धरानमा त्यति बेला रेडियो–ट्रान्जिस्टर त्यति चलनचल्तीमा थिएन । धरानकै उनको एकजना साथी रामानन्द अग्रवालको घरमा ट्रान्जिस्टर रहेछ र दीपको गीत सुन्ने अवसर उनले पाएका रहेछ । ‘आफ्नो साथी गायक बनेको देखेर उ पनि साहै्र खुसी भएको थियो । उसले बेला बेलामा मलाई ए दीप, तेरो त गीत बज्याबज्यै छ । तँ त हिरो भइस् भन्थ्यो । तर मैले भने गीत सुन्न पाएको थिइन’, दीप पुराना दिन सम्झिँदै थिए– ‘एक दिन ऊ मेरो घरको अगाडि दीप, दीप भनेर कराउँदै आएको सुनें । बाहिर आएर हेर्दा त रेडियोमा मेरो गीत बजिरहेको ट्रान्जिस्टर बोकेर आएको रहेछ । मैले रेडियोमा मेरो आफ्नै स्वर सुनेको त्यो नै पहिलोपटक थियो । तर पूरा गीत भने सुन्न पाइन । आफ्नो पहिलो गीत पहिलो पटक सुन्न पाउँदा पनि पूरा सुन्न नपाएकोमा मलाई अलि कति खल्लो लागेको थियो । तर आफ्नो गीत बजेको सुन्न पाउँदाको अनुभव कति सुखद थियो भन्ने कुरा वर्णन गरेर साध्यै छैन ।’

संगीत तयार पार्दै प्रतिक्रिया बुझ्दै

एकसे एक गीतमा संगीतसमेत भरेका दीपले शुरूशुरूमा सांगीतिक ज्ञान कतैबाट लिएका थिएनन् । यो सबै उनले स्वज्ञानबाट हासिल गरेको खुबी थियो । उनको यो खुबीलाई परिस्कृत गर्नमा सघाउने पुस्तक भनेको संगीत विशारद थियो । त्यो पनि उनलाई दार्जिलिङमा मणिकमल क्षत्रीले उपहार स्वरूप दिएका थिए । यसलाई अझ स्पष्ट पार्दै उनले भने– ‘म धरानमा गीत कम्पोज गरी बस्थें । आठ दशवटा जति कम्पोज भइसकेपछि म दार्जिलिङतिर जान्थें । त्यहाँका संगीतप्रेमी साथीहरू भेट्थें । उनीहरूलाई मेरो कम्पोज सुनाउँथें, सल्लाह माग्थें । सबैले राम्रो भनेपछि मात्र त्यसमा गीत बनाउँथें । हाम्रो त्यो समूहमा मनबहादुर मुखिया, प्रकाश गुरुङ, मणिकमल क्षत्रीजस्ता साथीहरू थिए । यसरी दार्जिलिङमा गएर कम्पोज सुनाउँदै संगीतमा मेरो लगनशीलता देखेर मणिकमल क्षत्रीले मलाई संगीत विशारद नामक एउटा पुस्तक उपहारमा दिनुभएको थियो । त्यो एउटा बृहत् पुस्तक थियो । जसमा संगीत क्षेत्रका सबै क्षेत्रलाई समेटिएको थियो । त्यो पुस्तकबाट मेरो सांगीतिक ज्ञान अझ अभिवृद्धि हुन पुग्यो । पछि मैले अलाहाबादबाट संगीतमा स्नातकसम्म अध्ययन गरें ।’

बोलाइयो राजा वीरेन्द्रले गीत सुनाउन

‘२०२९⁄३० सालतिर म अचानक बिरामी भएँ । डाक्टरलाई देखाउँदा टिबी भएको शंका गरे । टिबी नै भए पनि मैले संगीत क्षेत्रलाई माया मार्न सकेको थिइन । त्यसैताका राजा वीरेन्द्र पूर्वाञ्चल भ्रमणमा सवारी भएको थियो । उहाँ धनकुटामा बस्नुभएको थियो । त्यति बेला राजाको सामु मनोरञ्जन कार्यक्रम प्रस्तुत गर्नका लागि कलाकारहरू लगिने चलन थियो । मलाई पनि धरानमा लिन पठाइयो’, दीपले रोचक तथ्य सुनाए– ‘उनीहरू मेरा लागि घोडा लिएर आएका थिए । म घोडा चढेर धनकुटा पुगें । राजासामु गीत गाउनुअगाडि भ्वाइस टेस्ट दिनुपर्ने चलन थियो । तर मैले भने दिनु परेन । किनभने त्यसरी भ्वाइस टेस्ट लिनेहरूमध्येका गायक इन्द्र नारायणसँग मेरो चिनजान थियो । उहाँले मलाई देख्नासाथ ए दीप, भाइ पो रहेछ । पर्दैन, पर्दैन तिमीले भ्वाइस टेस्ट दिनु पर्दैन भन्नुभयो । यति भनेपछि मैले भ्वाइस टेस्ट दिनु परेन । मैले राजाको सामु भन्थी मेरी उनी गीत सुनाएँ । गाउँदा गाउँदै अन्त्यतिर मलाई खोकी लाग्यो । खकारमा अलिकति रगत पनि निस्कियो । रगत निस्केपछि गाउन रोकियो ।’ दीप बिरामी परेको कुरा राजाको कानसम्म पुगेछ । ‘अनि दरबारका स्वकीय सचिव जीवन दाइले आफँै धरानमा आएर मसित भेट्नुभयो र राजा वीरेन्द्रले मेरो उपचार काठमाडौंमा गराउने हुकुम भएको कुरा सुनाउनुभयो ।’

मृत्युको हल्ला, खर्साङका युवती बसे विधुवा राजाको आदेशबाट उनी काठमाडौं पुगे उपचार गराउन । त्यति बेला टिबी असाध्यै ठूलो रोग मानिन्थ्यो । काठमाडौंमा वरिष्ठ डा. नर्मदालाल मास्केले उनको स्वास्थ्य परीक्षण गरेर केही औषधी पनि लेखि दिए । तर त्यो औषधी जति खाँदा पनि उनको स्वास्थ्यमा केही सुधार आएन । औषधीले नछोएपछि उनी आफ्नो रोग आफँैसित पोको पारेर धरान फर्के ।
धरानमा घोपा क्याम्प भनिने बृटिस गोर्खाली सेनाहरूको एउटा क्याम्प थियो । त्यहाँ बेलायतबाट आएका डाक्टरले स्वास्थ्य परीक्षण गर्दथे । त्यहाँ सर्वसाधारणको उपचार गरिँदैनथ्यो । बृटिस गोर्खा सेना वा उनीहरूका परिवारको मात्र उपचार हुन्थ्यो । तर एक जना परिचितमार्फत गएकाले दीपको स्वास्थ्य परीक्षण भयो । ‘मलाई त्यहीं स्यानिटोरियममा भर्ना गरे । त्यहाँका डाक्टरले मलाई चुरोट खाने गरेका छौ भनी सोधे, मैले खान्छु भनें । मलाई चुरोट पनि खान दिए । रक्सी पनि खान दिए । यसै बीच मेरो रगत, खकार सबथोक परीक्षणका लागि लन्डन पठाएको रहेछ’, दीपले जस्ताको तस्तै खुलाए– ‘त्यसको रिपोर्ट नआएसम्म मैले जेजे खान्छु भने ती सबै बिनारोकतोक खान दिए । दुई हप्ता जतिपछि मेरो रिपोर्ट आयो । डाक्टरले मलाई टिबी नै भएको ठहर गरेर रेफिम्पिसिन भन्ने औषधी लेखेर दिए । जुन औषधी असाध्यै महँगो पथ्र्यो । तर त्यहाँ निःशुल्क नै दिइन्थ्यो । त्यति बेला नै एक चक्कीको पैंसठी रुपियाँ पथ्र्यो । त्यहाँ सेनेटोरियममा भएका रोगीहरू अचानक एकपछि अर्को गर्दै मर्न थाले । मेरो त सातोपुत्लो उड्यो । आफ्नो पनि मृत्यु नजिक आइरहेजस्तो लाग्न थाल्यो ।’ अरू बिरामीहरू मर्न थालेपछि आफू ज्यादै विचलित भएको दीपले सुनाए । यसरी औषधी खाँदाखाँदै पनि बिरामीहरू कसरी मरे भन्ने चिन्ताले सताएपछि दीप त्यसको चुरो पत्ता लगाउने धुनमा लागे । रहस्य पनि पत्ता लाग्यो । क्याम्पका स्टोर किपरहरूले सेनेटोरियमका बिरामीलाई डोजअनुसारको औषधी दिँदा रहेनछन् । ‘त्यो औषधी त बजारमा लगेर खुसुक्क ५०⁄५० रुपियाँमा बेचिदिँदा रहेछन् । यो पत्ता लागेपछि मैले यो कुरा माथिसम्म पुर्याइदिएँ । कारबाही पनि भयो । अनि मात्र बिरामीहरूले आवश्यक मात्रामा औषधि खान पाए । नत्र त म पनि अरू जस्तै मरी सकेको हुन्थें हुँला’, दीपले जोडे– ‘ल, म पनि मरी सकेँ भन्ने कुरा पनि त फैलिएको थियो नि । खर्साङमा त दीप श्रेष्ठ मरे भनी विधुवासमेत बसेका थिए रे ।’ दीपले सुनाएनुसार त्यति बेला उनका प्रसंशकहरू धेरै भएको मात्र नभई केटीहरूको संख्या धेरै भएको प्रस्टै देखिन्छ । उनले स्वीकारे पनि ।

प्रेम प्रस्तावको ओइरो

‘विशेष गरी म सिक्किम, दुवर्स, खर्साङ, दार्जिलिङतिर एकदम फेमस थिएँ । त्यहाँका केटीहरू थुप्र्रै मेरो फ्यान थिए । त्यहीं सोफिया र सरला पनि थिए’ दीप श्रेष्ठले यहाँनेर उच्चारण गरेकी सोफिया नै पछि गएर उनको जीवन साथी भइन् । कसरी ? दार्जिलिङ वरिपरि सांगीतिक कार्यक्रम प्रस्तुत गर्न जाँदा सरला, सोफियालगायतका गायिकाले दीपलाई युगल गायनमा साथ दिन्थे । यसै क्रममा सोफिया गुरुङसित उनको मित्रता गाडिँदै गयो । ‘एकापसमा प्रेम बसेको कुरा मलाई त थाहै थिएन’ –उनले मुस्कुराउँदै कुरो खोले । सोफियासँग झांगिएको मित्रता नै एकापसमा भएको प्रेम थियो भन्ने कुराको अनभिज्ञ रहेको बताउने दीप श्रेष्ठलाई कतिपय युवतीले ‘आइ लभ यु’ भनेर चिठी पठाउँथे । उनी त्यस्ता चिठीको मतलब राख्दैन थिए रे । उनको मनमा त सोफिया बसिसकेकी थिइन् । ‘बसेर के गर्ने ? हामीले एकले अर्कालाई आई लभ यु नै भन्न सकेनौं । दस वर्षसम्म त साथीसाथीको रूपमा मात्रै रह्यौं । अनि मात्र विवाह गर्यौं’ –दीपले भने ।

दुई वर्षसम्म तेस्रो पुरस्कार

हरेक वर्षझैं रेडियो नेपालले आफ्नो वार्षिकोत्सवको छेको पारेर राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक गायन सम्मेलन गर्ने दिन नजिकिँदै गइरहेको थियो । ‘यो कुरा थाहा पाएर मलाई मेरो साथीहरूले त्यसमा भाग लिनै पर्छ भनी दबाब दिए । सदाझैं विजय श्रेष्ठले मेरा लागि सागरको सतहबाट उठाई हिमाल बोलको गीत लेखेर दिए । त्यही गीतबाट मैले २०२७ साल चैत्र २० गते भएको गायन प्रतियोगितामा तृतिय पुरस्कार जितें’ –दीपले पहिलो पुरस्कारको कथा सुनाए । उनले दोस्रो पटक पनि यही प्रतियोगितामा भाग लिँदा पनि तृतीय पुरस्कारमै चित्त बुझाउनुपर्यो । दोस्रोपटक भने उनले रिती सकेका रहेछन् सागरका थोपाहरू गीतबाट सो पुरस्कार जितेका थिए । दुईदुईपटक तृतीय स्थानमा नै समेटिनु पर्दा उनको मनमा प्रथम हुने अभिलाषा पलाउन थाल्यो । उनी त्यसैको तयारीमा लागे । एक वर्ष उनले यसमा भाग लिएनन् । २०३० सालमा भएको सोही प्रतियोगितामा भाग लिनका लागि उनी काठमाडौं आए । यसपालि उनको हातमा शिवशंकर थापाद्वारा रचित विधुवालाई सिन्दुरको रहर आँखामा राखेर बोलको गीत थियो । नभन्दै उनले त्यो वर्ष प्रथम पुरस्कार जितेरै देखाए ।



कार्यक्रमको निम्तो ओइरिएपछि काठमाडौं वास

तेस्रोबाट पहिलो पुरस्कार चुम्दासम्म उनको लोकप्रियता झन्झन् बढ्दै गइरहेको थियो । विभिन्न सांस्कृतिक आयोजनामा उनलाई निम्तो आउन थालेको थियो । धरानमै बसेर सबै कार्यक्रममा भाग लिन सकिँदैनथ्यो । धरानबाट काठमाडौं आउने बाटो अहिलेजस्तो सजिलो पनि थिएन । धरानबाट काठमाडौं पुग्न करिब करिब दुई दिन लाग्थ्यो ।

‘शुरूमा मञ्जुश्री टोल भनिने मजिपातमा बसें । त्यसपछि यटखा सरें । अनि यहाँ हुने गरेका सांगितिक कार्यक्रममा सहभागी हुन थालें । कसैले पारिश्रमिक दिन्थे त कसैकसैले दिन्छु भनेर पनि दिँदैनथे । पैसा हात नपर्दा मैले ठूलो कठिनाइको सामना गर्नुपर्ने हुन्थ्यो । डेरा भाडा तिर्नसम्म पनि कहिले काहीं हम्मेहम्मे हुन्थ्यो’ खुल्दै गइरहेका थिए दीप । २०३० सालतिर स्टेजमा गीत गाएबापत दीपले पाँच सय रुपियाँसम्म पारिश्रमिक पाउँथे । ‘त्यति बेलाको ठूलो रकम भनेर के गर्ने दिन्छु भन्नेले दिँदै नदिएपछि ? तर एउटै कार्यक्रम गर्दा पनि सामान्य रूपमा खान र डेरा भाडा तिर्न भने पुग्थ्यो । न्युरोडको नजिकै पाको पोखल्ड्याङ भन्ने ठाउँमा यति भोजनालय भन्ने थियो । म त्यहीं मास्केवारी (महिनाको एकैपटक तिर्ने) खाना खान्थें । कहिले काहीं पैसा हात पर्दा अग्रिम नै भए पनि त्यहीं जम्मा गरी दिन्थें । यारियरको आरम्भिक दिनहरूमा भोकमाथि प्राप्त गरेको विजयगाथा सुनाए उनले ।

स्टेजबाट डिस्क अनि क्यासेटसम्म

तत्कालीन मुमा बडामहारानी रत्नले नगद बकस दिएर खोलेको रत्न रेकर्डिङ संस्थानले शुरूमा कलकत्तामा गायकहरू पठाएर गीत रेकर्ड गराउथ्यो भने पछि रेडियो नेपालकै स्टुडियोमा गीत रेकर्ड गर्न शुरू गर्यो । रत्न रेकर्डले दीप श्रेष्ठ र स्वर सम्राट् नारायण गोपालका गीतहरू संग्रह गरेर एउटा डिस्क निकाली दियो । त्यसपछि क्यासेटको चलन शुरू भयो । तीनै गीतहरू फेरि क्यासेटमा पनि निकालियो । एउटा साइडमा दीप श्रेष्ठ र अर्को साइडमा स्वर सम्राट् नारायण गोपालका गीतहरू राखेर बजारमा ल्याइएको बेस्ट अफ नारायण गोपाल एन्ड दीप श्रेष्ठको बिक्री राम्रै भयो । त्यति बेलाको कुरा सम्झँदै दीप श्रेष्ठले भने– ‘रेकर्डिङ स्टुडियो त नेपालमा खुल्यो, तर राम्रो रेकर्डिस्ट कोही थिएन । चाकडीको भरमा जागिर पाएकाहरू मात्र थिए । राज्यको ढुकुटीको खर्च गरेर मेसिन चलाउन त सिके, तर संगीत सुर तालको ज्ञान भने कमाउन नसकेका कारण गीतको गुणस्तर चाहेजस्तो हुन सकेन । त्यति बेला रेकर्ड गरेका कतिपय गीतहरू मैले फेरि रेकर्ड गरेको छु । मदन परियार, शुभ बहादुर, गणेश परियार, मन श्यामजस्ता संगीतका साधकका कारण सांगितिक सृजना भन्ने अब्बल दर्जाको हुन्थ्यो । उहाँहरू सबैले मलाई राम्रो साथ दिनुभयो । मेरो कम्पोजलाई सबैले मन पराउँथे । त्यति बेलाको जस्तो सहकार्य अहिले कहाँ पाउनु?’, उनले थपे– ‘गीत रेकर्डिङको बेला नातिकाजी दाइ पियानो बजाउनुहुन्थ्यो भने तबलामा इन्द्रलाल दाइले साथ दिनुहुन्थ्यो । महेन्द्र लाखेजस्ता वाद्यवादक पनि हुनुहुन्थ्यो । एक जना क्लारर्नेट बजाउने दाइको नाम भने बिर्सें ।’

मास्टरको जागिर

धरानमा रहँदा होस् वा काठमाडौंमा नै किन नहोस्, उनी कहिल्यै हातमा हात बाँधेर बसेनन् । सधैं केही न केही गरी नै रहे । आफूलाई सक्रिय रूपमा अगाडि बढाई नै रहे । महेन्द्र क्याम्पस धरानबाट आईए गरेपछि उनी आफ्नो टोलमा भएको सामुदायिक स्कुलमा अंग्रेजी र गणित पढाउन थाले । त्यसपछि त्यति बेला काठमाडौंमा ख्याति कमाएको ल्याबोरेटरी स्कुलको शाखाको रूपमा धरानमा खोलिएको स्कुलमा पढाउन थाले । यसरी पढाएबापत ९० रुपियाँसम्म तलब पाउँथे उनी । तर उनलाई शिक्षक बन्नु थिएन । संगीतमै सक्रिय हुनु थियो । त्यसमा पनि गायक नै बन्ने उनको लक्ष्य थियो ।

मैले राजाको सामु भन्थी मेरी उनी गीत सुनाएँ । गाउँदा गाउँदै अन्त्यतिर मलाई खोकी लाग्यो । खकारमा अलिकति रगत पनि निस्कियो । रगत निस्केपछि गाउन रोकियो ।

 

रेष्टुराँदेखि घुम्तीसम्मको गायन

असाध्य रोगबाट तंग्रिएपछि उनले आफ्नो पाइला काठमाडौंतिर बढाए । ‘न्युरोडको पाकोमा एउटा सानो रेष्टुराँ भन्ने खुलेको थियो । त्यति बेलाको त्यो अलि आधुनिक खालको रेष्टुराँ थियो । त्यहीं बेलुकी गीत गाउन थालें । मलाई वाद्यवादनमा प्रकाश गुरुङ र किशोर गुरुङले साथ दिन्थे भने मीरा राणा र तीर्थ कुमारीले युगल गायनमा साथ दिन्थे’, सुख दुःख साट्दै थिए दीप– ‘त्यो रेष्टुराँको मालिक भारतको गुजरातबाट आएका पटेल थरका थिए । रेष्टुराँ राम्ररी नै चल्न थाले पछि दिउँसो लन्चमा पनि इन्स्ट्रयुमेन्टल बजाउने काम थपिदिए । पटेलले काममा मेरो लगनशीलता देखेर मलाई बारका लागि कक्टेल सिक्ने सुझाव दिए । सोल्टी होटेलमा धर्ती भन्ने मेरो एउटा साथी थियो । उसले मलाई ककटेल बनाउने कला सिकाए । त्यो पटेल भन्ने साहु साह्रै रमाइलो गर्नुपर्ने मान्छे थियो । अनि नयाँनयाँ काम गर्न जानेका थिए । नयाँ नयाँ आइडिया निकाल्थे । उसले एउटा घुम्ती भोजनालय खोल्ने सोच हामीलाई सुनाए । त्यसका लागि एउटा ठूलो भ्यान पनि किने । भ्यानमा विभिन्न परिकार राखिएको हुन्थ्यो र ठाउँठाउँमा लगेर बिसाइन्थ्यो । त्यहाँ मान्छेहरू जम्मा गर्नका लागि हामी म्युजिकल टोलीले गानाहरू गाउँथ्यौं । त्यो व्यापार पनि चल्न त चलेकै हो, तर लगानी भन्दा खर्च नै बढी भएपछि लामो समयसम्म टिक्न भने सकेन’ –सुनी देऊ म सानो छँदा गायक श्रेष्ठले युवा अवस्थाको जोस पनि प्रस्ट पारे ।

२५ वर्षे सेवामा भएन प्रमोसन

संगीत जगतमा स्थापित हुनका लागि अनेक तरिकाले संघर्ष गरिरहेका भावुक गायक श्रेष्ठले २०४० सालतिर तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा संगीत निर्देशक (सहायक) पदको जागिर पाए । जहाँ उनले २५ वर्षसम्म निर्वाध रूपमा सेवा गरे । तर उनको कहिल्यै बढुवा भएन । उनीभन्दा पछि प्रज्ञा प्रतिष्ठानमा जागिर खाएका कतिपयको बढुवा हुँदै गयो । उनी जहाँको तहीं नै रही रहे । ‘सायद मेरो लागि भनसुन गरी दिने कोही नभएर होला’ –उनले छोटो उत्तर दिए । उनले अहिलेसम्म गाएका चार सय संख्याको हाराहारीका गीतहरूलाई दृष्टिगत गर्ने हो भने पनि अधिकांश उनी आफैंले संगीत गरेका गीतहरू धेरै छन् । त्यस्तो हुनुको कारण कहीं अरू संगीतकारसँग मिल्न नसक्नु हो कि अरू नै केही ? ‘म गायक हुँ । तर एउटा कम्पोजर पनि हुँ । त्यसैले अरू कम्पोजरले मलाई गीत दिने आँट नगरेको पो हो कि ?’ –उनी उल्टै प्रतिप्रश्न गर्छन् ।

सिनेमामा सुनिएन स्वर

दीप गायकको रूपमा स्थापित भइसक्दा नेपालमा फिल्म बन्न थालिसकेका थिए । नारायण गोपाल, प्रेमध्वज प्रधानदेखि उदितनारायण झा र प्रकाश श्रेष्ठले समेत फिल्ममा पाश्र्व गायन गरेर लोकप्रियतामा एक पाइला थपि सकेका थिए । तर दीप भने पाश्र्व गायनको दौडमा अगाडि देखिएनन् । मायाप्रिती नामक फिल्मका लागि आकाशको रंग हजार धरतीको ढंग हजार बोलको एउटा गीत गाएका उनको पाश्र्व स्वर त्यसपछि त्यति बेला पाकिस्तान, बंगलादेश र श्रीलंकाजस्ता राष्ट्रका निर्मातासँग मिलेर संयुक्त लगानीमा बन्ने गरेकामध्ये हामी एक हौंजस्ता केही फिल्ममा मात्रै सुनियो । ‘म गाउने कुरामा स्ट्रिक्ट थिएँ । लरोतरो शब्दका गीतहरू मलाई मन पर्दैनथ्यो र गाउनुभन्दा अगाडि सबै कुरा बुझ्थें । कम्पोज सुन्न खोज्थें । पारिश्रमिक कति पाउँछु भनी सोध्थें । सायद त्यसैले मलाई कसैले फिल्ममा गीत गाउन दिने आँट नगरेको हुनुपर्छ’ –दीपले खाँटी कुरा खुलाए ।

काठमाडौंदेखि लन्डनसम्मको विगत र वर्तमान

२०२० सालदेखि गीतसंगीत क्षेत्रमा निरन्तर रूपमा सक्रिय रहँदै आएका संगीत साधक दीप श्रेष्ठको सांगीतिक यात्राले अर्ध शताब्दी पार गरेको पनि चार पाँच वर्ष नै हुन लागि सक्यो । तैपनि उनको मुहारमा थकानको भाव छैन । उनको यात्रा कहीं विश्राम लिने सम्भावनासम्म पनि छैन । उनी अहिले पनि सक्रिय छन् । देशका कुना काप्चासम्म पुगेर सांगीतिक प्रस्तुति दिइसकेका दीपले भारतका आप्रवासी नेपालीहरू बस्दै आएका शहरमा पनि थुपै्र प्रस्तुति पस्किसकेका छन् । पप संगीत क्षेत्रमा नाम चलेको व्याण्ड १९७४ एडिसँग मिलेर काठमाडौंको सोल्टी होटेलमा कार्यक्रम दिने गरेका दीपले सोही समूहसँग अमेरिकामा समेत सांगीतिक कोसेली प्रस्तुत गरेर विदेशमा बस्दै आएका नेपालीमा अमिट छाप छोडेर आएका छन् । यसै क्रममा गत वर्ष बेलायतको विश्वविख्यात हल रोयल अल्बर्टमा गायकहरू ओमविक्रम विष्ट र योगेश्वर अमात्यका साथमा सांगीतिक कार्यक्रम पनि गरे । रोयल अल्बर्ट हल भनेको संसारका नाम चलेका संगीतकर्मीहरूले सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने विश्वको ख्याति प्राप्त हलमध्ये एक हो ।
अहिलेको संगीत क्षेत्रलाई पहिलेको अवस्थासँग तुलना गर्दाको भिन्नताको बारेमा चर्चा गर्दा उनी भन्छन्– ‘पहिला छुट्टै प्रकारको साधना हुन्थ्यो । संगीतकार गायक र वाद्यवादकहरू एउटा परिवारसरह हुन्थ्यो । साधना त अहिले पनि गर्नुपर्छ । साधना नै भएन भने सांगीतिक यात्रा फत्ते हुन गाह्रो पर्छ । तर अहिले अत्याधुनिक प्रविधिले गर्दा पहिलाजस्तो पारिवारिक माहोल भने पाउन गाह्रो छ । वाद्यवादक आएर आफ्नो काम गरेर जान्छ । गायक आएर काम गर्छ । उनीहरूको भेटसम्म पनि हुँदैन’ –विगत र वर्तमानबीचको भिन्नताको अनुभव छ उनको ।

नृत्यकर्म नै गीत–संगीत

अहिले गीत संगीत भनेको श्रव्य भन्दा पनि श्रव्यदृश्यतिर लम्किरहेको छ । गीत बनिसकेपछि त्यसमा म्युजिक भिडियो बनेन भने गीतले उचित प्रभाव छोड्न सक्दैन भन्ने मान्यता छ । ‘शुरू शुरूमा त मलाई म्युजिक भिडियो बनाउनु भनेको अनावश्यक खर्च गर्नु जस्तो लाग्थ्यो । तर अहिले युग बदलिसकेको छ । म्युजिक भिडियोबिनाको गीत त गीतै होइन जस्तो भइसकेको छ’ –उनले भने । त्यसैले होला उनको नवीनतम् गीत सम्पत्ति दिए सकी है जालाको म्युजिक भिडियो बनाउने सोचमा छन् उनी । राजुबाबु श्रेष्ठको रचना रहेको यस गीतका संगीतकार लक्ष्मण शेष हुन् । दीप श्रेष्ठले अरूको कम्पोजमा गाएका गीतहरूको संख्या कम छन् । तीमध्ये एक यो पनि हुने भएको छ ।

अहिले उनी हरेक दिन बिहान पाँच बजेतिर उठ्छन् । नित्यकर्मबाट निवृत्त भएर साढे ६ बजेतिर ब्याडमिन्टन खेल्न आफ्नो अनामनगरस्थित घरबाट मालिगाउँ पुगी सक्छन् । ब्याडमिन्टन खेलेर घर फर्कंदा उनको छोरी दृष्टि आफ्नी आमा सोफियालाई अफिससम्म पुर्याउन गएकी हुन्छन् । यही समय उनी गीतको रियाज गर्छन् । छोरी दृष्टि फर्केर नास्ता तयार पार्छिन् । छोरीले तयार पारेर दिएको नास्ता खान्छन् र नयाँ गीतको काममा लाग्छन, कम्पोज गर्छन् । साढे बाह्र बजेसम्म खाना खाई सक्छन् । त्यसपछि कतै बाहिर जानुपर्ने काम भए जान्छन् । नभए घरमै टिभी हेर्न बस्छन् । टिभीमा विशेष गरी गीत संगीतका कार्यक्रम हेर्छन् र त्यसबाहेक खेलसँग सम्बद्ध कार्यक्रम हेर्छन् । फुटबल उनको प्रिय कार्यक्रम हुने गर्छ टेलिभिजनमा हेर्ने । उनी आफू पनि फुटबलका खेलाडी रही सकेका खेल प्रेमी हुन् ।

टिभीमा कुन फुटबल प्रतियोगिता कहिले आउँछ भन्ने कुराको अपडेट रहन उनलाई उनको घरको स्टाफ गणेशले सघाउँछ साँझ कहिलेकाहीं साथीभाइसँग जमघट पनि चल्छ तर सामान्यतया उनी घरमै बस्छन् । साथीभाइसँगको जमघटमा होस् वा घरमै रहँदा होस् उनको साथ गीत र गायकिबाट कहिले छुटेको हुँदैन । अर्थात् साथीभाइसितको जमघटमा एक दुई पेग गएपछि उनीहरूको अनुरोधमा गीत सुनाउँछन् भने घरमै रहँदा एक्लै भए पनि गीत गाउनु नै उनको दिनचर्या हुन्छ । बेलुकी आठ बजेसम्ममा डिनर गरी सक्छन्, सुत्नुभन्दा अघि फेरि टिभी हेर्छन् । आफूलाई ५४⁄५५ वर्षसम्म लगातार संगीत क्षेत्रमा सक्रिय राख्न सफल संगीत साधक भावुक गायक दीप श्रेष्ठको सांगीतिक यात्रा यसरी नै अगाडि बढी रहेको छ ।

रोचक प्रसंगहरू

भारतले पहिला पनि एकपटक नाकाबन्दी गरेको थियो । त्यति बेलाका प्रधानमन्त्री मरिचमान सिंहले नेपाली जनताको साहस बढाउन र राष्ट्रियताको भाव जगाउनका लागि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सांगीतिक र सांस्कृतिक टोली खटाएका थिए । त्यसका लागि सरकारी स्वामित्व भएका सांस्कृतिक संस्थान र नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सबै कलाकारहरूलाई देश दौडाहा गराएका थिए । त्यति बेला मैले दैवज्ञराज न्यौपानेले रचना गर्नुभएको वीरताको बस्ती नेपाल बोलको गीत गाउँदा सबै जना उत्साहित भएका थिए ।

लन्डन जाँदाको कुरा हो । त्यहाँ एक जना मानसिंह भन्ने मित्र बस्थे । उनी पनि संगीतमा ठूलो सोख राख्थे । अलि अलि गीत पनि गाउँथे । उसले हामीलाई लन्चमा बोलाएका थिए । खानासाना खाइसकेर उसले एउटा गीत गाउन अनुरोध गरे । आज नाइँभन्दा पनि नमानेपछि मैले हर रात सपनीमा ऐंठन हुन्छ, शायद गाउँमा पहिरो गयो कि गाएँ । मेरो गाना सुनेर उ त क्वाँक्वाँ रुन पो थाले । मलाई त नरमाइलो लाग्यो । पछि माहोल शान्त पार्न मैले वाइन मगाएँ । हामी सबै मिलेर खायौं । अनि बल्ल उनी खुल्न थाले र खुसी भएर आफूसँग भएको एउटा बाह्रतारे गीतार (ट्वेल्भ स्टिं«ग्स) नै गिफ्ट दिए ।

सन् १९९० तिरको कुरा हो । त्यति बेला अहिलेजस्तो विदेशमा गायन कार्यक्रम हँुदैनथ्यो । त्यस्तो बेला हामी हङकङमा कन्सर्ट गर्ने भनेर गयौं । हामी आफ्नै खर्चमा गएका थियौं । त्यहाँ पुगेर चिनजानका साथीहरूसित सम्पर्क गर्यौं तर कार्यक्रम गर्न सकिने अवस्था देखिएन । पाँच सात दिन बितिसकेको थियो । हामीले बोकेर लगेको पैसा पनि रित्तिन लागेको थियो । अब त फर्कनै पर्लाजस्तो भइसकेको थियो । त्यति नै बेला एउटा रेष्टुराँमा भेला हुन लागेका गोर्खा सैनिकहरूका लागि गीत गाई दिनुपर्यो भन्ने प्रस्ताव आयो । हामीले गायौं । हाम्रो त्यो प्रोग्रामको चर्चा भयो । अनि एकपछि अर्को अफर आउन थाले । बल्ल हाम्रो खुसी फक्र्यो ।

यस्तै गरी हामी एकपटक सिंगापुर हुँदै ब्रुनाईमा कार्यक्रम गर्ने भनेर गयौं । त्यो टोलीमा गौरी मल्ल, मेलिना मानन्धर र सारंगाा श्रेष्ठ पनि थिए । हामीले बु्रनाई पुगेर एउटा शो गर्यौं । तर त्यो त्यति सफल भएन । त्यहाँ एक जनाले हामीलाई यो आइडिया दियो ‘तपाईंकी श्रीमती त गुरुङ थरको हुनुहुन्छ । यहाँ धेरै गुरुङहरू छन् । उनीहरूसँग जातको साइनो गाँस्नुस् न । अनि नआई सुख ?’ मैले पनि त्यसै गरें । अनि कोही मलाई दीप ज्वाइँ, कोही भेना भन्दै कार्यक्रममा खुसी मानी मानी आउन थाले । बु्रनाईमा जहाँतहीं रक्सी बियर किन्न, बेच्न र खान पाइँदैनथ्यो । तर त्यस्ता कन्सर्टहरूमा बियर बेच्न र खान पाइँदो रहेछ । अनि हामीले पनि कन्सर्ट हलमा बियर बेच्ने काउन्टर लगायौं । त्यहाँ बियर धेरै बिक्यो । र हामीले राम्रो कमाइ गर्न पनि सफल भयौं ।

धेरै अगाडिको कुरा हो । रेडियो नेपालमा मेरो एउटा गीतको रेकर्डिङ भइरहेको थियो । सायद त्यो गीत भन्थी मेरी उनी हुनुपर्छजस्तो लाग्छ । त्यो गीत रेकर्ड गराउने भनेर गीत गाई रहँदा अनायासै घाँटी ठ्याप्पै बस्यो । स्वर नै निस्केन । लौ, अब के गर्ने ? सबै जना चिन्तित भए । सबैलाई एकछिन भनेर म क्यान्टिनतिर गएँ। त्यहाँ खुर्सानी लिएर कर्याम कुरुम गरी चपाएँ। अनि पिरोले रातो त भएँ नै साथै र्याल निस्केर मेरो गला पनि खुल्यो । सबैले अचम्म माने ।

भारतको गुजरातका पटेल थर भएका एक जना व्यक्ति नेपाल आउँदा उसित चिनजान भयो । एकपटक ऊ र म पोखरा गएका थियौं । ऊ साह्रै रमाइलो गर्नुपर्ने खालको थियो । पोखरा नपुग्दैको एउटा खोलामा नुहाउने प्रस्ताव उसले राख्यो । खोलामा खेल्दै रक्सी खाँदै रमाउँदै थियौँ । रक्सीले मात्तेपछि उसले त गोजीबाट नोटको बिटो निकालेर खोलामा पो हुइँक्याउन थाल्यो । मैले टिप्न खोज्दा उल्टै मलाई, किन टिप्ने ? जान देऊ जसले भेट्टाउँछ उसको जिन्दगी बन्नेछ पो भनेर हप्कायो ।

एकपटक मैले अमेरिकन पिस कोर्समा पनि भोलेन्टियरका रूपमा काम गरेको थिएँ । त्यहाँ मैले अमेरिकनहरूलाई नेपाली सिकाउनुपथ्र्यो । त्यसरी सिकाउँदा शब्दको अर्थ मात्र बताएर सिकाउने नभई चित्र वा व्यावहारिक ज्ञान दिएर सिकाउनु पथ्र्यो । त्यसै क्रममा फेमिली भन्ने शब्दको अर्थ बुझाउन मैले इलेस्ट्रेटेड विक्ली भन्ने पत्रिकामा छापिएको अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको परिवारको फोटो देखाएँ । त्यो अमेरिकीलाई रेगन भन्ने मनै पर्दो रहेनछ । त्यो त यति रिसायो कि मेरो त जागिरै जाला जस्तो भएको थियो । त्यसको रिस शान्त नहुन्जेल मेरो त बिजोगै भएको थियो ।

प्रतिक्रिया दिनुहोस्